भैरहवा, वैशाख २७ । पूर्व सभासद् आदित्यनारायण कसोधनले संघीयतामा साहित्य, कला र संस्कृति अझ मौलाउने बताउनु भएको छ । प्रश्रित प्रतिष्ठान नेपालको पाँचौँ तथा छैठौँ संयुक्त साधारण सभामा प्रमुख अतिथिको आसनबाट उहाँले यस्तो बताउनु भएको हो । 

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रा.डा. कपिलदेव लामिछानेका अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिव शालिकराम पौड्यालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रामबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । दुवै प्रतिवेदन छलफल गरी सर्वसम्मतिले पारित गरिएको छ । अध्यक्ष लामिछानेले राष्ट्रमा ठूलो योगदान गर्ने स्रष्टाको जीवितै सम्मान हुनुपर्ने बताउनुभयो । डिल्लीराज भट्टराईद्वारा सञ्चालित सभामा उपाध्यक्ष प्रा.डा.गितु गिरीले स्वागत गर्दै प्रतिष्ठानको उद्देश्यमाथि प्रकाश पार्नुभयो । 

सभाको अन्तमा गंगा लिगल, सीता काफ्ले, देवीप्रसाद न्यौपाने धीर, कपिल लामिछाने आदिले रचना वाचन गर्नुभएको थियो । कार्यक्रम रूपन्देही क्याम्पसको सभा कक्षमा सम्पन्न भएको थियो ।