नाटक
आजै नाटक भोलि नाटक हिजो अर्कै थियो नाटक,
राष्ट्राध्यक्षहरू विदूषक हुने भो आजको नाटक । {{read_more}}
आफ्नै दाशरथी त्रिपालमनि छन् बन्दैन देवालय,
हिन्दूवाद र साम्यवाद अहिले गर्छन् नयाँ नाटक ।
पर्दाका पछि छन् बली विवशझैं छन् मञ्चमा वामन,
सीताको महिमा सुनाउन भनी हिँड्नेभए रावण ।
वैदेही गिरिजा बलात्कृत सधैं हुन्छन् अयोध्यातिर,
कस्तो नाटक जानकी नगरमा देखिन्छ हे ईश्वर !
स्वामी दाम्भिक दास नास्तिक हुने नौलो भयो नाटक,
साँचो सुम्पिदिने जुठो चुसिलिने बीभत्सभो नाटक ।
हिन्दू आसनमा र साम्य भुइँमा बस्ने भयो नाटक,
दायाँ गर्वित वाम लज्जित हुने निर्लज्जभो नाटक ।
सीता हर्न नयाँ कलेवर धरी मारीच लुक्छन् बसी,
खोला खान भनेर लम्किनगए नौला अगस्ती ऋषि ।
ताली बाँदरले बजाइरहँदा छन् हर्कमा मारुत,
फेट ा गुथ्न सकेन ढेडु बिचरा साह्रै भयो लज्जित ।
चर्को भाषणले प्रचण्ड रविको सातो हरेको थियो,
काला बाँदरले सबै विटपका हाँगा भरेको थियो ।
सीताराम उपासना हरिकथा मात्रै थियो मञ्चमा,
खोला पर्वत खानसक्छु कसरी भन्ने थियो भावना ।
माओवाद र साम्यवाद अहिले झुम्रो मुसोझैं भयो,
हिन्दूवाद भने अझै शिर चढ़ी बोलौं जसो गर्दथ्यो ।
पानीयान कुदाउने विषयका हावा थिए भाषण,
श्रोता मात्र थिए विभीषणहरू उन्मादका साथमा ।
मात्रै जाति महत् छ नागरिकता खोज्दैन हिन्दुत्वले
आफ्ना हुन् सब मैथिली भनिदियो बुझ्दैन नेपालले ।
खोक्रो राष्ट्रियता भनीकन सधैं हुन्थ्यो त्यहाँ नाटक,
ऐले भारतको भएर भरिलो भो राष्ट्रमा नाटक ।