स्वामी चुन्निनु भो प्रदेश तहमा, अर्धाङ्गिनी केन्द्रमा ।
संधी पुत्रबधू जुवाइँ चुनिए, सङ्घीयता– तन्त्रमा ।।
स्वास्नी छिन् जनजाति आर्यन दुला, कस्तो छ संघीयता ।
छोरी चाकर औ कुवेर डनमै, नाच्दैछ संघीयता ।। १ ।।

प्रज्ञा देन फिटिक्क छैन जसको ! त्यै हुन्छ रे बौध्दिक ।
जो कुख्यात भयो उही मुलुकको, प्रख्यात रे मौलिक ।।
छानिन्छन् त यिनै सभा—सदनमा, संस्थानमा दूतमा ।
पैसामा पद बेच्न किन्न सकिने, हाम्रो प्रजातन्त्रमा ।। २ ।।

ंघाँडो भो गलगाँडझैँ गण—प्रथा, हात्ती छ संघीयता ।
पाल्नै मस्किल धान्न नै जटिल भो, भत्काउँछन् एकता ।।
सानो देश असंख्य सांसद सयौँ, मन्त्री बनाई यहाँ ।
मागी राष्ट्र चलाउनै सकस भो, हाम्रो प्रजातन्त्रमा ।। ३ ।।

ंखेती मासिन गै युवागण हरे ! खाडी मलाया पसे ।
कार्खाना जति लोप भो मुलुकमा, बेचेर नै सक्किए ।।
थप्दैछन् जनमा करै कर अहो ! तिर्छन् कसोरी यहाँ ।
भत्ता वेतनभक्त नायक बढे, हाम्रो प्रजातन्त्रमा ।। ४ ।।

दुर्गन्धी पथ जीर्ण मोटर कुदी, उड्छन् धुवाँ–धूषर ।
रोगै रोग नयाँ खपेर जनता, बाँच्नै प¥यो मुस्किल ।।
बण्डावाद चल्यो सुशासन ढल्यो, क्यै छैन उत्पादन ।
धान्ला देश कसोरी ? अस्थिर सधैँ, दाता र विप्रेषण ।। ५ ।।

नौलो देश बनाउने सुसपना, नारा र झारा हुँदै —
घोक्रिन्छन् कि ? नयाँ फिजीकरणले, आमा पिरिन्छिन् रुँदै ।।
हा ! नामर्द कपूत सन्तति भई, कालो टिका लाग्छ कि ?
यो संघीय कडा दशा—ग्रह बनी, सङ्कष्टमा जाक्छ कि ? ।। ६ ।।

धादिङ