उहाँहरू आउनुभो
पाहुनाझैं पसेर
बिनाअनुमति
चोक–चोक चहार्नुभो,
बाटो–दोबाटो दौडनुभो,
यता छाम्नुभो, उता हेर्नुभो,
अनेक स्वाद फेर्नुभो
र, रैथानेझैं यतै लुट्पुटिनुभो ।
बिनाकुनै सोधनी
बिनाकुनै पुछनी
हाम्रै कुँडा–कर्कट बटुलेर
हाम्रै बुद्धिवर्कत लगाएर
हाम्रै आँगनमा ठूलो पर्खाल खडा गर्नुभो
हाम्रै मैदानलाई विभाजित पार्नुभो
र, आकाश छुने पर्खालको छेउमा उभिएर
मुस्कुराउँदै भन्नुभो—
‘ल अब तिमीहरू सुरक्षित भयौ
अब तिमीहरूलाई हावाहुरीले दुख दिँदैन,
घामले पोल्दैन,
पानीले भिजाउँदैन,
कुनै शत्रुको पनि आँखा लाग्दैन
अब निर्धक्क यही भित्ताको आड लागेर बस्नु ।’
यौटैै आँगनमा हुर्केका हामीहरू
यौटै मैदानमा खेलेका हामीहरू
अब पर्खालले छेकियौं र पर्खालले बाँडियौं
कोही यता पर्यौं,
कोही उता र्पयौं
यौटै घाम तापेका
यौटै पानी खाएका हामीहरू
जब पर्खालले छेकियौं
न उताको दुस्ख देख्न पाइयो
न यताको अनुभूति सुनाउन पाइयो
यौटै खालमा खेलेका हामी
बीचमा पर्खाल लागेपछि
कोही उताका भइयो
कोही यताका भइयो
हिजो साथ–साथ भएकाहरू
हिजो मिलेर रमाउँदै मेलापात गएकाहरू
आज आफ्नै आँगनमा पर्खाल लागेपछि
कोही उताको भित्तो समाउन पुगियो
कोही यताको भित्तो समाउन पुगियो
उहाँहरूकै योजनामा
उहाँहरूकै आदेशमा
जब पर्खाल ठडियो
हामीले सुरक्षित भित्तो पायौं
र, हेर्दाहेर्दै आफूचाहिँ रित्तो भयौं ।