औंलो दिन हुँदा राजी, हत्केलो टोक्न आउँछ ।
प्यासमा जल पाउँदा, अगस्ती मुख बाउँछ ।।

लाभ हुने भए केही, फोहरी पाउ मल्दछ ।
बदला गुनको तिर्न, बेला गुमाइ छल्दछ ।।

आफै मुग्रो बनाउँने, मासेर अरुको हलो । 
भागै खोसेर खानेले, गर्ला खै !कसरी भलो ।

जसको निम्ति भो गोठ, उस्कै पुच्छर बाहिर ।
ढलिमली छ साँढे कै, मिचाहा दुष्ट माहिर ।।

तीतो छँुदैन मीठाको, नराख्ने बांकि क्यै जरो ।
अर्काको जिउको नाना, सक्दैन देख्न एक्सरो ।।

मुस्ली समान भै घोच्न, सीयो बनेर पस्दछ ।
दूधको बदला जस्ले,उकेली बिष डस्दछ ।।

लुकाई आङकै भैंसी,जुम्रोचैं अन्त देख्दछ ।
अँधेरो दिनमा पार्न, हातैले घाम छेक्दछ ।।

नफोर्ने नुनको ढीको, नखाने अलिनो पनि ।
खाएको थालमै ढुक्क, चुठेरै हिंड्छ ऊ अनि ।।

फलाक्ने मुखले रामः, लुकाई साथमा छुरा ।
ब्वाँसाले झैं मुसारेर, लुछ्ने आन्द्राभुँडी पूरा ।।

फन्दामा पार्नकै लागि, बिश्वास क्यै दिलाउँछ ।
छ्ट्टु श्याल खरायो झैं, मीत पनि लगाउँछ ।।

थापेर जाल या पासो, शिकारी झैं गरि चियो ।
हुँदै भैंमा न भाँडामा, कस्तरी हेर ! उम्लियो ।।

चिल्लो दलेर बोलिमा, कुरैले ठिक्क पार्दछ ।
बिपत्मा बन्न साखिल्लो, गोहीको आँसु झार्दछ ।।

कोशीदेखा, काभ्रे