शहरभरि ३३ किलो सुनको व्यापक चर्चा छ । को होला यो सुन तस्कर ? यो तस्करीमा को को लागेका होलान् ! सबैको चासोको विषय र दैनिक पत्रिकामा खबर छापिएकै अवस्थाम मन्त्रालयमा आज यससँग सम्बन्धित सबै निकायका पदाधिकारीहरूलाई कडा निर्देशन आएको छ– यस घटनामा दोषी कसैलाई नछोड्नू । चाहे सिंह दरबारका हुन्, चाहे बालुवाटारका हुन् वा शितल निवासका हुन्, कानूनले दोषी देखाएका सबै, सर्वसाधारण नागरिक सरह दोषी हुन् । तपाईंहरूलाई मेरो पूर्ण साथ र समर्थन छ । जनतामा प्रहरी र राजनैतिक दलप्रति विश्वासको खडेरी परेको बेला यतिखेर यो घटनाको सत्यतथ्य पत्ता लगाएर विश्वास जित्नु पर्ने अवस्था पनि हो ।

यस घटनामा एकपछि अर्को सफलता प्राप्त गर्दै गएका प्रहरी उपरिक्षक प्रताप थापालाई आजको निर्देशनपछि दोधार भएको छ । प्रतापसँग थुप्रै प्रमाणहरू जुटेका छन् । ती प्रमाणहरूका बारेमा को सँग छलफल गर्ने भन्नेमा पनि उनलाई दोधारमा छ । प्रहरीका उच्च अधिकारीहरू, गृह प्रशासनका कर्मचारीहरू,नेताहरू एक से एक यस घटनामा मुछिएको प्रमाण छ । आज प्राप्त प्रमाणले त्यसभन्दा पनि माथिका अति महत्वपूर्ण व्यक्तित्व मुछिन आएपछि प्रतापलाई दोधार भएको छ । आफ्नै टोली लिएर नियन्त्रणमा लिने वा त्यस्ता व्यक्ति संलग्न भएको जानकारी माथिल्लो निकायमा दिने भन्नेमा दोमनदोमन हुँदाहुँदै प्रताप आफ्नो टोलीलाई नेतृत्व गर्दैमन्त्रीक्वार्टर छिर्छन् । प्रतापसँग गएका अन्य सदस्यहरूलाई कसलाई पक्रन जाँदैछौ भन्ने केही थाहा छैन ।

रातको ११ बजे मन्त्रीक्वार्टर पुगेपछि गाडि सिधै मन्त्रीज्यूको क्वार्टर अगाडि रोकिन्छ । प्रतापले सबैलाई शतर्क रहन आदेश दिन्छ । प्रतापमन्त्रीज्यूको स्वकीय सचिवलाई मन्त्रीज्यूलाई भेट्न आएको भनेपछि भित्र जान स्वीकृति दिन्छ र प्रताप एक्लै भित्र जान्छ । 
–जयनेपाल सर ।
–जयनेपाल । केही थप समाचार छ प्रताप जी ?
–९८५१०९९७..., यो हजुरकै नम्बर हैन हजुर ?
–यो पनि हो । के भयो यो चाहिं नम्बरलाई ?

(ठीक त्यतिखेरै प्रहरी प्रमुखको मोबाईलबाट गृहमन्त्रीलाई र प्रहरी प्रमुखको सचिवालयबाट प्रतापको नम्बरमा फोन आउँछ तर दुवैले फोन काट्छन् ।)

–माफÞ गर्नुहोला हजुर । हाल पक्राउमा परेका हाम्रा उच्च पदाधिकारीसँग यो नम्बरबाट बारम्बार कुराकानी भएको छ हजुर । पहिलो भरियाको हत्या भएको दिनदेखि पछिल्लो घटनाक्रमसँग यो नम्बर बारम्बार जोडिन आएको छ । यो घटनामा हजुरको पनि.....

प्रतापले यति भन्न पाउँदा नपाउँदै मन्त्री जंगिन्छन् ।

–ए कुलङ्घार ! ए सन्दिप ! तल झर् । कुलङ्घार ! मेरै घरमा सर्प रहेछ, म देशभरि सर्प खोजेर बसेको छु । तँ जस्ता छोरा हुनुभन्दा त मरेकै बेस । तँ आफै आउँछस् कि घोक्रेठ्याक लगाउन लगाउँ ?

प्रताप मन्त्रीक्वार्टरबाट सन्दीपलाई लिएर बाहिर निस्कदै गर्दा प्रहरी प्रमुख मन्त्री निवासभित्र पस्छ । दुवैको गाडी रोकिन्नन् ।

घाम अस्ताएर उदाईसक्यो तर प्रताप आज आफ्नो सफलतामा सन्तोष लिएर ढिलो गरी उठ्यो। बिहान उठ्नासाथ चियासँगै राखिएको पत्रिकामा आँखा पुग्यो र प्रतापको मुटुको चाल एक्कासी उकालो लाग्न थाल्यो । लेखिएको थियो– सन्दिप रिहा । महिनौं अघि हराएको मोबाइलमा भएको कुराकानीको आधारमा बिना प्रमाण मन्त्रीज्यूको सुपुत्रमाथि गरिएको दुव्र्यवहारका कारण प्रहरी उपरिक्षक प्रतापलाई सो जिम्मेवारीबाट हटाई प्रहरी मुख्यालयमा सोधपुछका लागि .......।

(कथाको पात्र र कथासँग कसैको मेल खान गएमा संयोग मानिनेछ ।)