सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रातो मसी दल थुक चाट अनलिमिटेड कम्पनी 

Nepal Telecom ad

एउटा साथीले फोन उठाए, पैसा छाप्तै छु । अर्को साथीले फोन उठाए र भने, यार्सागुम्बा टिप्तै छु । {{read_more}} अर्को साथीले भने– यहाँ त  height=एउटा प्रेमपत्र रहेछ । अर्की भनिन्– सर म त सासू बिरामी भएर अस्पतालमा छु । भोलिसम्म विदा मिलाइदिनुहोला है सर । अर्कीले भनिन्– ए सर म त हेर्नु न अचानक गाउँबाट पाहुना आएर आज समस्यामा परेकी छु, यही साल विवाह भएका बहिनी ज्वाइँ । मैले बिहान रिसिप्सनमा खबर गरेकी थिएँ थाहा पाउनुभएन र ? हेलो सर म त बाटामा जाममा परिरहेको छु । भोलि चाहिँ आइपुग्छु, जसरी पनि आउँछु । अर्की म्याडम कसैलाई भन्दैथिइन्–मेरो बाबु गाडीबाट रिसिभ गरिदिनुहोला है । अनि एउटा बिस्कुट दिँदैगर्नु होला । अर्की भन्दै थिइन्, छोरी छतमा सिरक सुकाएकी थिएँ पानी पर्ला जस्तो छ हेर है । अर्का साथी थप्तै थिए सर म अफिसकै कामले दुई चार दिन काठमाडौँमै बस्नु पर्ने भयो है । त्यसै बिचमा मेरो फोन बज्यो । मेरा हितैसी स्वजनको रहेछ भनिदिएँ, म एउटा जरूरी मिटिङमा छु, भरे साँझ कुरा गरौँ । 

म अरुका कुरा सुनेर हाँसिरहेको थिइनँ । म बोल्दा चाहिँ कोठाभरिका साथीहरू गल्ल हाँसे । एक मित्रले भनिहाले सर मिटिङ हो कि कपी चाटिङ हो । साथीहरू फेरि हाँसे । मैले जवाफ दिन नपाई अर्को मित्रले थपिहाले, यहाँ बसेर पनि कोही साँचो बोल्छ । अझ अर्को मित्रले थपे झुट बोल्नेहरूका हातमा भविष्यका कर्णधारहरूको भाग्य छ । म अनौठो चेपुवामा परेर कापीका पाना पल्टाइरहेको थिएँ । 

हामी राजधानीको एउटा स्कुलको विद्यार्थी बस्ने कक्षा कोठामा बसेर देशकैे नाम चलेको शैक्षिक संस्थाका कपी काट्तै थियौँ । त्यहाँ अलग अलग कोठामा अलग अलग विषयका कपी जाँच्ने व्यवस्था छ भनिए पनि हामी अन्य कोठामा नअटेर एउटै कोठामा पन्ध्र विषय जतिका मास्टर कोचिएका थियौँ । जति कोचिएर भए पनि आआफ्नो काम गर्दैथियौँ । भनिने गरेका प्राध्यापक र खासमा हेलमेट टिचर हामी । हाम्रो एक किसिमको सिजन आएको थियो त्यसबेला ।  धमाधमसँग आआफ्ना विषयका कापीमा घोत्लिएर रातो मसी दल्दै थियौँ । राज्यले हामीलाई प्रतिगोटा रू २५ का ज्यालादार कपीकट्टा नियुक्त गरेको थियो । त्यो पनि लाइन लगाएर, आर्मी पुलिसमा लिन छाती जाँचेझैँ कापी कट्टाको पद लिन सक्छ सक्तैन भनेर जाँचीवरी । त्यसै प्रसंगमा संलग्न मास्टर– मास्टरनीका रञ्चार वाक्य थिए माथिका फोन संवादहरू । उनीहरूलाई त्यसै गर्नै पाउँदा रमाइलो थियो । मलाई पनि रमाइलो थियो ।

कोठामा सन्नाटा छायो । सबै जनाले कापी काटेको स्वार स्वार आवाजबाहेक केही सुनिएन । लाग्यो सबै कापीमा लेखेको कुरा नपढी रातो मसी दलिरहेका छन् । प्रति कापीको हिसाब टिपिरहेछन् । त्यसरी कि त्यसरी त यन्त्र पनि खट्न सक्तैन । रोबोर्ट पनि थाक्छ । पानीढिकी पनि गल्छ । पानी घट्टको मानी पनि खिएर भाँचिन्छ । बाहिर जारमा पानी थियो, सारेर खाने भाँडो थिएन । क्यान्टिनमा खाजा थियो । त्यहाँसम्म पुगेर खाने फुर्सद थिएन । कतिसँग फुर्सद भएर पनि क्यान्टिनको खाजा खाने पैसा थिएन । हामी खटेका खट्यै थियौँ , कापी काटेका काट्यै थियौँ । रातो मसी दलेका दल्यै थियौँ । थुक चाटेका चाट्यै थियौँ । भविष्यका कर्णधार उत्पादनका लागि पच्चिस नम्बर माथि ग्रेस माक्स थपेका थप्यै थियौँ । उही पच्चिस रूपेमा र्याल काडेका काड्यै थियौँ । सेतो कपी रङ्ग्याएका रङ्ग्यायै थियौँ । मसी दलेका दल्यै थियौँ । उनै कर्णधारको जुठो चाटेका चाट्यै थियौँ । 
रातो मसीको रङै फेरेर निलो मसी दल्ला जसरी बिचमा एक जना खरदार पस्यो र भन्यो –ए म्याडम तपाईँ कसको कापी काट्तै हुनुहुन्छ ? म्याडम कड्किइन् फलाना परिषद्को । खरदार कड्किए म पुलिस बोलाऊँ । म्याडम कड्किइन्, किन पुलिस बोलाउने ? खर्दार फेरि कड्कियो, तपाई अर्काको कापी काट्तै हुनुहुन्छ । कसरी अर्काको हुन्छ ? कसरी अर्काको हुँदैन अहिले बुझाएर आएर फेरि काट्न थाल्नुभयो । म्याडम आँसु पुछ्तै निस्किइन् । हामी डिग्री, एमफिल र पीएचडीहरू ती खरदारसँग थुरूरू । लाग्यो मास्टर प्राध्यापक भन्दा खरदारको जागिर निको । एकै छिनमा अर्को मुखिया पस्यो र भन्यो– सरहरू हल्ला गर्ने होइन है । लाग्यो हामी परीक्षा दिँदै छौँ ऊ गार्ड बनेर उभिएर भनिरहेछ । फेरि लाग्यो मास्टर प्राध्यापक भन्दा मुखिया हुनु निको ।
 
खरदार र मुखियाको आतङ्क सिद्धियो । फेरि उही शैलीमा मसी दल्न र थुक चाट्न थाल्यौँ । कोठा सुनसान थियो बिचमा मेरै मोवायल करायो । एउटा कलेजको कापी बुझाउन ढिला भइसकेको थियो, फोनले त्यही कापी माग्यो । भन्दिएँ सर म कान्छी सासूआमालाई लिएर अस्पतालमा छु । के गर्ने सर म अलि अफ्ठ्यारामा परेँ । म उता त्यत्रो दुःख देखाउँदै थिएँ यता साथीहरूले गलल हाँसेर प्रिन्सिपललाई नै टेन्सन होला जस्तो गरे । हत्तपत्त काटेर मसी दल्न थालेको फेरि घन्टी बजिहाल्यो । स्पष्टीकरणको कुरा आयो । कुन् अस्पताल, तपाईँलाई दुख पर्दा म पनि आऊँ कि ?  चितवन क्यान्सर अस्पताल सर, मैले जवाफ फर्काएँ । साथीहरूले फेरि हाँसेर कोठा हल्लाए । जुरूक्क उठेर सांकेतिक भाषामा चुपचुप भन्दै थपेँ– सर क्यान्सरै भए छ नि चार पाँच दिन उहाँलाई मेरो सहयोगको खाँचो छ ? अर्को साथीले थप्यो चार पाँच दिनमै यस परिषद्का कापी सकिन्छन् कि क्या हो ? मैले उता प्रिन्सिपलले सुन्ला भन्ने डरले फेरि फोन काटँे । 

पछाडिपटिका साथीहरू खास खासखुस गरे । कलेजले तलब दिने होइन, बरु मौकामा ढाँटढुँट गरेर कापी काट्यो भने चुलो बाल्न त पाइन्छ । तिनले मेरै भाषा बोलेको सुनेँ । फर्किएर हो त नि भन्न लागेको थिएँ तर त्यसै भन्न चाहिँ मेरो स्वाभिमानले दिएन । कारण म पाँच ओटा क्याम्पसको सानदार प्राध्यापक  । भोकले पेट चिमोट्यो तर कापीको पाना पल्टिइरह्यो। उता प्रिन्सिपललाई कान्छी सासूको विराम सुनाएर हो कि किन बाबाको विराम सम्मिmएँ । लाग्यो म जस्तो छोरो पनि के छोरो ? आमाले यस हिउँदमा लाउने ताता लुगा माग गरेको सम्झिँएँ र मसी दलिरहेँ । छोराको स्कुलको फिस सम्झिएँ र केटाकेटीका जुठाकपी पल्टाउन थुक चाटिरहेँ । त्यसै बिचमा एक जना साथीको फोन बज्यो । उनले अलि मुख बिगारेर भने सर म त अस्पतालमा छु । आज बिहान एका एक प्रेसर लो भएर आयो । हेर्नु न रगत चेक गर्दै छु । साथीहरू पुनः हाँसे । मैले मेरा दुख बिर्सिएँ । सर रातो मसी चेक कि रगत चेक हो ? एक जनाले थप्यो । अर्को बोल्यो, कापी चेक कि ब्लड चेक हो ? 
बिचमा एक जना म्याडमले चिठी देखाउँदै पढिन्– सर मैले पढ्नै भ्याइनँ, मलाई जसरी पनि पास गराइ दिनुहोला । यो अनपढलाई पास गराए तपाईँलाई धर्म हुने छ । तपाईँका छोराछोरीलाई सरस्वती माताले आशीर्वाद दिनेछिन् । तपाईँको धनधान्य हुनेछ । लामो आयु फल्ने छ । सुखमय जीवन हुने छ । उही यो कापीमा लेख्ने विद्यार्थी ।
अरु साथी गलल्ल हाँसे । मलाई त्यो चिठी गजब लाग्यो । हलमा हाँसो भयो । उसलाई फेल पारे छोराछोरीको शिक्षाको सबाल आयो, धनधान्यको सबाल आयो,  लामो आयु र सुखमय जीवनको सबाल पनि आयो । कौतुहल लागेर कापी मागेरै हेरेँ दुई पेजमा दुई ओटा प्रश्को उत्तरबाहेक केही नलेखेको । ल है म्याडम पास गराउनुहोस् । ती म्याडमले के गरिन् थाहा भएन । यता मेरा कापीमा अर्को चिठी फेला पर्यो–  सर  म फलाना जिल्लाकी फलाना विद्यालयकी मिस फलानी हुँ । मलाई पास गराई दिएर तलको नंबरमा सम्पर्क गराइदिनुहोला । म कमजोर विद्यार्थी होइन तर फलाना जिल्लाको मिस टिन प्रतियोगितामा भाग लिने तयारीले मलाई कमजोर बनायो । प्लिज सर । सियु । 

मन मनमा खुब हाँस उठ्यो । पढेर सुनाउँदा हल्ला हुने र अरू पचास पचहत्तर कमाउने समय जाने डरले चुपचाप कापी काटिरहेँ । तालुमै आलु फलेको हो कि के हो कोनि यता मेरो भागमा परेको एउटा कापीभित्र हजार हजारका पाँच ओटा नोट फेला परे । म गणतन्त्रवादी मान्छे भए पनि नोटको राजाको टाउको देखेर निहुरिएँ । सरस्वतीको मजदुरी सँगै मिलेको लक्ष्मीको प्रसाद देखेर नतमस्तक बनेँ । कापीभित्र अरू पनि केही छ कि भनेर विस्तारै पल्टाएँ । साथीहरूले देख्लान् कि भनेर पल्याकपुलुक हेर्दै त्यही कापी सुम्सुम्याइ रहेँ । सारा कापी हेरे । त्यहाँ केही उत्तर लेखिएको थियो तर अपेक्षित र आवश्यक उत्तर कुनै प्रश्नको पनि थिएन । 

धन देखेपछि महादेवका त्रिनेत्र भन्छन् । म एक छिन रन्थनाएँ । म एउटा मर्यादित पेसाको मान्छे । कसैले मेरो वदनाम गराउन पनि यसो गरेका हुन सक्छन् । फेरि सम्झिएँ, होइन कसरी अरूले थाहा पाउला यो राख्ने र लिने बाहेक । सम्बन्धित परीक्षार्थीबाहेक अरू कसले राख्न सक्छ, छातीपटि चिलाए जस्तो गरेर कनाएका बहानामा खल्तीमा राखेँ । सोझो औँलाले घिउ आउँदैन भन्ने कुरा मावली बासँग गोठ बस्तैदेखि जानिसकेको थिएँ । पैसा भेटेको नभेट्यै चुपचाप कापी काटिरहेँ ।  मनमा त्यो पैसाले के गरुँ भन्ने योजना बन्दै थियो बाहिर कापीका लाइनमा बस्ने मित्र गण कराएर ध्यान भङ्ग गरिदिए । 

बाहिर कापी कुर्ने साथीहरूको उस्तै भिडभाड थियो । कोही कापी आउँछरे भन्दै थिए । कोही कापी आउँदैनरे भनेर कराउँदै थिए । बिचैमा दुई सुन्दरी मिसहरू कापीका पोका बोकेर कक्षामा प्रवेश गरे । त्यहाँ बस्ने ठाउँ नै थिएन । उनीहरू दुबैले छेउमा आएर अनुरोध गरे प्लिज सर हामी लेडिजलाई बस्ने ठाउँ दिनुहोस् न । दुई विद्यार्थी सङ्ंगठनका पूर्व नेताहरू फेरि पोको बोकेर आए र उही बस्ने ठाउँको बार्गेलिङ गरे हामी तपाईँहरूकै हकका लागि लडिरहेका छौँ । उता प्राध्यापकहरूको लामो लाइन थियो कापी कुर्ने । यता कर्मचारी चाकरीको अर्को लाइन थियो चिनी व्यापारीको कालोबजारी शैलीमा कापी लुकाएर बाँड्ने । त्यस बिचमा मेरा गुरू देखा परे । मेरो डिपार्टमेन्टका हेड प्रोफेसर प्रकाण्डसिंह श्रेष्ठ । बूढा निरिक्षक भएर आएछन् कि भनेको त कापी बाँड्ने मुखिया साबका कोठामा लाइन बस्ता बस्ता थाकेर घर फिर्न लाग्दा मलाई भेटेर आयो भने खबर गर है भन्न आएका रहेछन् ।  म आफ्ना डिग्रीमाथिका लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्रमा सही गर्ने गुरुलाई आफूसँगै पाएर गौरवान्वित भएँ  । गुरुसँग कुरा गर्दा आँतै हरर भएर आयो । उनीभन्दा आफ्नो पद बढे जस्तो । उनीसँग कुरा गरुन्जेल कति घाटा लाग्यो भन्ने हिसाब पनि गरिनँ । उनी फर्किएपछि थप फुर्ति झिकेर कापी काट्न थालेँ । 

भोको पेटले कापी काट्ताकाट्तै कुन कपीमा कति नम्बर हालेँ थाहा भएन । कापी भने काटिरहेँ । प्रत्येक कापीको पच्चीस रुपैयाँका दरले एउटा गजबको योजना बनाएँ । तीन महिनाको कोठाभाडा पन्ध्र हजारका दरले पैँतालीस हजार, छोराछोरीको फिस पन्ध्र हजार, बाआममाको उपचार खर्च दश हजार, श्रीमतीलाई पार्टी सारी पन्ध्र हजार, आफूलाई एकजोरी जुत्ता तीन हजार, छोराछोरी र आफूलाई हिँउँदमा लाउने तातो लुगा दश हजार, बाइकमा हाल्ने पेट्रोल र सर्भिसिङ खर्च पाँच हजार, कोठामा बिग्रिएका बत्ती परिवर्तन पाँच सय, खाद्यान्न पसलको बाँकी पाँच हजार, कपडा पसलको बाँकी पाँच हजार, एउटा साथीसँगको सापटी दश हजार, अर्को साथीसँग लिएको सापटी पन्ध्र हजार, श्रीमतीलाई माइत जाने टिकट तीन हजार, क्याम्पसको पिकनिक जाने खर्च तीन हजार, क्लबको पिक्निक जाने खर्च पन्ध्र सय । बाबालाई एउटा कोट तीन हजार । आमालाई एउटा ठिकैको सारी पाँच हजार । एउटा नयाँ मोडलको मोवायल पन्ध्र हजार । छोरीलाई खेलाउना एक हजार । छोरालाई साइकल तीन हजार । सासुआमालाई एउटा हन्जु पन्ध्र सय । सालीलाई एउटा टब्स पच्चिस सय । आफूलाई एक जोडी जुत्ता पन्ध्रसय । छोराको बर्थडे केक, छोरीको बर्थडे केक, श्रीमतीको पार्लर खर्च, आफ्नो सुगर र कोलेस्टोरल परीक्षण, श्रीमतीको थाइराइड परीक्षण, छोराछोरीको ट्युसन फी, आफ्ना भित्री लुगा, श्रीमती र बच्चाका भित्री लुगा, आफ्नै मोजा, कपाल रंग्याउने गरीको हेयरड्रेसर खर्च, एउटा कोल्ड, एक बट्टा क्रिम, एउटा स्याम्पु, एक दर्जन साबुन, एक किलो सरफ, जुत्तामा लाउने रातो र कालो पोलिस, बच्चाको स्टेनसरी खर्च, एक किलो खसीको मासु, एक किलो पनिर, एक ककिलो च्याउ, एक महिनाका लागि नुन तेल, मसला, एक दुई किलो फलफूल, एक दुई किलो ड्राइ फूड, पानी उमाल्ने कित्ली, ग्याँस चुलो बाल्ने लाइटर, दुई वटा ग्याँस, पाहुना आउँदा दाल दिन मिल्ने कचौरा, पानी खान दिन मिल्ने अलि दामी खालका सिसाका गिलास, इज्जतिलो कप सेट । 

मेरो दिमाख किचनबाट बेड रुपमा पुग्यो । एउटा नयाँ तन्ना, एउटा सिरकको खोल, सिरानेको खोल, बिग्रिएको बल्ब, भाँचिएको आल्ना परिवर्तन, दुईचारवटा ह्याङ्गर, कोठा बढार्ने कुचो.. । फेरि मन बत्तिएर केके सोच्न थाल्यो ।  एक दिन परिवारै सिनिमा हेर्ने टिकटको खर्च, बच्चालाई एउटा शनिबार जु घुमाउने खर्च, अर्को शनीबार फर्न पार्क पुर्याउने खर्च, भाइलाई एउटा डिक्सनरी, बहिनीलाई एउटा एटलास, भाञ्जालाई एउटा जमिर्टि बस्स, भाञ्जीलाई एउटा क्याल्कुलेटर । यस्ता केके केके शीर्षकमा कोनी कति कति हिसाब राख्दैथिएँ कापी काटिसकिएछ । कति विद्यार्थी पास ? कति विद्यार्थी फेल ? त्यो उति पत्ता भएन । पोको हतपत्त लगेर बुझाएको जम्मा तीन सय ओटाको परेको रहेछ । योजना त ठूलै बनाइयो । पच्चीस रुपैया गोटाका दरले जम्मा सात हजार पाँच सय मात्र हुँदो रहेछ । जे भा पनि हुन त भयो नि । कलम चलाएर पाएको पैसा । 

उत्साही भएर पोको बुझाउन मुखिया हाकिमकामा गएँ र नमस्कार गरेँ । उसले पोको राख्ने ठाउँ देखाइदिएपछि पोको राखेर लिस्ट बुझाएँ । बुझाउन साथ सोधी हालेँ – यो पैसा कहिले आउँछ ? कापी बुझ्ने खरदारले लेग्रो तानेर भन्यो अब पूरक परीक्षकले हेरेपछि । पूरकवालाले हामीलाई विवरण बुझाएपछि । हामीले सुब्बा हाकिमलाई बुझाएपछि । सुब्बा हाकीमले नासु हाकिमलाई बुझाएपछि । नासु हाकिमले अधिकृत हाकीममलाई बुझाएपछि । अधिकृत हाकिमले उपसचिव हाकिमलाई बुझाएपछि । उपसचिवले सहायक हाकिमलाई बुझाएपछि । सहायक हाकिमले मूल हाकिमलाई विवरण बुझाएपछि । मूल हाकिमले प्रवन्धक हाकिमलाई बुझाएपछि । प्रबन्धक हाकिमले एकाउन्ट एकाउन्टमा  विवरण बुझाएपछि । एकाउन्टका सहायक, सह, उप र हाकिमबीच त्यसरी नै बुझबुझारथ भएपछि । वैंकमा पठाउने योजना गरेपछि । अनि तपाईँले बैकमा खाता खोलेको केही महिनापछि खातामा हालिदिन्छौँ । तपाईँले फलाना बैकको फलाना शाखामा गएर खाता खोलिराख्नु । खाता खोल्दा स्वास्नीको नागरिकता, तपाइँको नागरिकता, छोराछोरीको फोटो, आफ्नो फोटो, स्वास्नीको फोटो, काठमाडौँमा घर भए बिजुलीको बिल तिरेको रसिद, नभए घरबहाल तिरेको बिल, त्यो पनि नभए पानी किनेको बिल, त्यो पनि नभए छोराछोरी बोर्डिङमा पढाएको बिल…अ ादि बुझाएपछि खाता खुल्छ ।  त्यो बैँकमा एस एम एस सुविधाको पनि पैसा बुझाइ राख्नु । त्यसो गरेपछि तपाईँले हामीलाई सम्पर्कैै गर्नु पर्दैन । तपाईँकै मोवायलमा पैसा ठ्याक्क आइपुग्छ । 

मुखिया हाकिमले यति कुरा गर्न झन्डै आधा घन्टा लगायो । तीन वर्ष कानुन पढेर फेल भाको रहेछ क्यार, भाषा पनि घुस्याहा मालको कानुन सहायकको जस्तै । आपूm उभिएर कुरा सुनेर हजुर हजुर भन्दा भन्दै रिँगटा चलेर आँखा पनि देखिनँ । अन्तिममा नमस्कार भन्दै बाहिरिएँ । नमस्कार चाहिँ उसैतिर फकिएर गरेँ कि कापीका पोकातिर फर्किएर गरेँ । जता गरेको भए पनि नमस्कार गरेँ ।  अरु त के पो लछार्न सक्थेँ र ।

पैसा ढिला हुने भएपछि मेरो योजनामा अलि धक्का लाग्यो । पैसा ढिलो भए पनि पाइने पक्का थियो । एक पोको त बजाइ पनि हालिएको थियो । त्यसपछि अर्को पोको पाइन्छ कि भन्ने कत्रो आश थियो । फेरि पोको नपाइने भएपछि त्यही मुखियासँग मार झगडा गरेर डेरामा फर्केँ । त्यसको रातो मसी दल थुक चाट अन लिमिटेड कम्पनी । उही चलाओस् । उही मसी दलोस् । उही थुक चाटोस् । आफू बेकार लामो योजना बनाएर बरबादै भइयो नि । बरु होम ट्युसन गएको भा चिया खाजासहित पैसा पाकिसक्थ्यो ।  

अर्का टेवलकी मुखिनी भन्दै थिइन् । म चाहिँ मास्टरलाई छोरी मर्दा पनि दिन्न । लबै गरिछ भने पनि छुटाउँछु । मास्टरको व्यवहार र बुद्धि देखेर दिक्क भइसकेँ । उसलाई पनि मुखभरिको जवाफ दिने मन त थियो तर बढी भोक र रिसले रन्थनिएकाले त्यसै घर आएँ । 

पशुपति बहुमुखी क्याम्पस चवहिल, काठमाडौँ 
rshubechchhu11@gmail.com
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय वासुदेव बाजे

जय वासुदेव बाजे

डा. रमेश शुभेच्छु
घिराैँलाे

घिराैँलाे

डा. रमेश शुभेच्छु
तीन टुक्रे कविता

तीन टुक्रे कविता

डा. रमेश शुभेच्छु
चार ठोकान

चार ठोकान

डा. रमेश शुभेच्छु