स्याल
बिमल मेरो बालसखा निर्मलको साख्खै दाजु । भूमिसुधारका हाकिम । जग्गा सम्बन्धि काम सल्ट्याउनु थियो । {{read_more}} साथीको मद्दत मागें । उसले नाइँ भन्न सकेन । हामी शहर गयौं । झोलाझाम्टा बोकेर सिधै दाइको अफिस पुग्यौं र कामको घान हाल्यौं ।
दाइको अफिसमा जतिखेर पनि भीडै थियो । उहाँ उँचो स्वरमा निर्देशनात्मक वाक्यहरू दोहोर्याई रहनुहुन्थ्यो । “टिप्पणी तैयार गर !”… “यसलाई अगाडिको मितिमा दर्ता गर्नू !”…. “यसको बोधार्थ विभागमा नपठाउनू !”…. “हुन्न हुन्न यस्तो बेलामा पनि बिदा माग्ने ! अहँ हुँदैन ।” घरि सामुन्ने त घरि मोबाइलमा उहाँ बोलेको बोलेकै देखें मैले । मलाई यस्तो लाग्यो कि दाजु कुनै जंगलको सिंह हुनुहुन्छ र त्यहाँका कर्मचारीहरू भुसुने जन्तुहरू ।
हामी दाजुसंगै उहाँको घरमा गयौं साँझमा । एउटा लरक्क परेको केटोले दाजुसँग फत्फताउँदै केके भन्यो । दाइले पनि केकेकेके भने । ऊ पक्कै छोरो हुनुपर्छ ।
एउटी लरक्क परेकी केटीले दाजुसँग फत्फताउँदै केके भनिन् । दाइले पनि केकेकेके भने । ऊ पक्कै छोरी हुनुपर्छ ।
एउटी अधबैंसे महिलाले दाजुसँग फत्फताउँदै केके भनिन् । दाइले पनि केकेकेके भने । तिनी पक्कै भाउजू हुनुपर्छ ।
खूब भोक लागेको थियो । अप्ठ्यारो मानिमानी थपेर खाइयो । पक्कै पनि खाना दिने नोकर हुनु पर्छ ।
हामी दुबैजना बैठकमै सुत्यौं ।
“ए केटा हो ! जाडो त भाको छैन नि तिमेर्लाई ?” चाइनिज धुस्सामा गुँडुल्की परेका हाम्रो तन्द्रा यो आवाजले खुल्यो । रूम्म अँध्यारोमा एउटा आकृति देखियो । दिउँसो सिंह झैं लाग्ने बिमल दाइको आवाज र अनुहार कताकता श्यालको झैं लाग्दै थियो ।
कौसलटार, भक्तपुर