बैंक त्यस्तो संस्था हो जसका मालिक जनता हुन्छन् । जनताको अधिक लगानीले बैंक बनेको हुन्छ ।  वित्तीय संस्था जति सबैं बैंक हुँदैनन् । बैंकहरू पनि सहकारी संस्थादेखि लिएर फाइनान्स, विकास बैंक, बैंक र राष्ट्र बैंक हुन्छ । राष्ट्र बैंक बैंकहरूको टाउके बैंक मानिन्छ । यसले देशको अर्थतन्त्रको लगाम आफ्नो हातमा लिएको हुन्छ । कागजी नोठ, सिक्का, असर्फी उत्पादन गर्ने काम यसैको हो । राष्ट्र बैंक जसरी नाच्छ अन्य बैंकहरू त्यसैको फलोअप गर्छन् । जसरी सूर्यका कारण सबै ग्रहहरू चक्कर मार्छन् त्यसै गरी बैंकहरू पनि टाउके बैंक राष्ट्र बैंकको अधिन र सीमा भित्र रहेर बुर्कुसी मारिराखेका हुन्छन् ।

बैंकको असली नेपाली नाम द्रव्य संचितालय हुनुपर्ने हो तर के तल वितल परेर हो या हतारमा लाटीलाई ततेर्दा यस्तो भएको हो, चलन चल्तीको आगन्तुक अङ्ग्रेजी शब्द चाहिँ प्रयोगमा आइराखेको छ । आगन्तुक शब्दले अहिलेका अखबारहरू पनि अधिक रङ्गिएका हुन्छन् । बोलीचाली र नालीमा पनि आगन्तुक शब्दकै बर्चस्व रहेको पाइन्छ । वित्तीय संस्थाहरू पनि प्रायः आगन्तुक शब्दकै शिरपोष लगाएर बस्न रुचाउँछन् । आगन्तुककै कारणले आफ्नो पन र मौलिकता भित्तामा पु¥याउने प्रपन्च दिनप्रतिदिन मौलाउने क्रम जारी छ । आफ्नो नेपाली पन र पारा सारा पश्चिमी वायुले उडाए जस्तो छ । 

गलत काम भयो भने केर कार ठोक ठाक जसले जसलाई पनि गर्न पाउने चलनलाई अन्यथा मान्नु हुँदैन । विशेष गरी नेपालमा सरले विद्यार्थीलाई, बाबुआमाले छोराछोरीलाई साहू महाजनले बेलैमा ऋण नतिर्ने ऋणीलाई हाकिम साबले गल्ती गर्ने पियनलाई सप्रिन्छ कि सोजिन्छ कि भनेर बेला बेलामा अर्ति उपदेश र आवशयक परे केरकार, म¥याक मुरुक, निमोठ नामोठ गर्ने चलन पुरानै हो । तर वित्तीय संस्थाले वचत कर्ता बैंकको हिस्सेदारलाई आफूले जम्मा गरेको रकम निकाल्न जाँदा हिस्स पारेर फर्काउँछ भने मन मुटु हुडलिनु स्वविभाकै मानिन्छ । विभिन्न बाहनामा पटक पटक के के मिलेन भनेर फर्काउँछ । कहिले मसीको गल्ती देखाउँछ कहिले सहि छापको गल्ती देखाउँछ । बारम्बार ग्राहक फर्काउने, तर्काउने झर्काउने मर्काउने काम जाँगरका साथ हुन थाल्यो भने त्यस्ता वित्तीय संस्थामा मौद्रिक खडेरी परेछ भनेर जाने हुन्छ । जहाँ खडेरी पर्छ त्यहाँ कसरी खेती हुन्छ ? खेती नै नभए पछि त्यस्ता उत्पादन स्थलहरू तिरस्कारको तिरमा छेडिन र टेडिन पुग्छन् । छेडिनु टेडिनु घाइते हुनु स्वस्थ सक्कलको लागि सुभसङ्केत मानिँदैन । 

उहिले बाजेका पालामा बाजेले आफैले द्रब्यादि संचित गरेर अधिक भएपछि गाग्रो वा घैटो किनेर धन दौलतले भरिएको भरिभराउ घैटो खाल्डो खनेर बारीमा पुर्ने गर्थे अरे । बाबुका पालामा जनैमा साँचो झुण्ड्याएर सन्दुस बक्सा वा ट्याङकामा चाबी लगाएर धन सञ्चय गर्ने गरिन्थ्यो । आज हाम्रा पालामा बैंक नामका द्रव्य सञ्चितालय धन सञ्चयको भरपर्दाे साधन लकर, एटिएम गल्ली गल्लीमा च्याउ उम्रिएझैँ उम्रिएका छन् । नियम कानुन राष्ट्र बैंकको मान्छौ भन्छन् तर सीमा निस्फिक्री मिचिएको छर्लङगै छ । हामी र हाम्रो देश आआफ्नो धन्दामा चुर्लुम्मै डुबेका छौँ । बिग्रे भत्केको कस्ले च्याउने, कस्ले सच्याउने, कस्ले हेर्ने, हेर्दे नहेरेपछि कसले कसलाई टेर्ने ? आआफ्नै डम्फू बजाएका छन् । नाचेका छन् । आआफ्नै मन लाग्दि नियम बनाउने जनतालाई डल्याउने गुल्ट्याउने । अहिलेका वित्तीय संस्थाको धन्दा नाङ्गो त होइन तर आपत्तिजनक छ भन्दा फरक पर्दैन । अर्काको मुद्रामा टाइ सुटधारी कर्मचारी चार पाउ फ्याकेर बुर्कुसी मारेका छन् । उपभोक्तालाई अप्ठ्यारो पारेका छन् बसेका छन् । जब वार्षिक गतिविधि प्रस्तुत गर्नु पर्ने हुन्छ यति करोड, उति अर्ब खुद नाफाको कोकोहोलोसँगै मै राम्री मै पातलीको भाकामा कुर्लिने क्रम जारी रहन्छ । लाग्छ राष्ट्र बैंकले जति सक्दो, जसरी पायो त्यसरी जसरी सुकै नाफा आर्जन गर भनेर छुट दिए जस्तो, नियम पनि कस्तो जनताको बोसो निकालेर उन्नति, प्रगति र नाफाको ध्वाँसा गतिविधिहरू विचार गर्दा साँच्चै सामन्ती त द्रव्य संचितालय पो हुन कि झै लाग्छ । 

पहिला पैसा वालेलाई पैसा चलाए बापत श्रम गरेर भए पनि धर्म नछोडी ऋण चुक्ता गरिन्थ्यो । आज ऋण चुक्ता गर्न थोरै ढिलो हुने वित्तिकै विश्वले थाहा पाउने गर तिनै पुसताको बेइज्जत गर्दै हिँड्छन्– वित्तीय संस्थाहरू । अरूको इज्जतलाई माटोमा मिलाए पछि नियम प्रक्रिया पुरा गरेको ठान्छन् ठालुहरू । यस्ता कठोर भन्दा कठोर हृदयले भरिएका सामन्ती संस्थाहरू राज्यको छत्र छायामा रमाइराखेका छन् । विभिन्न बाहनाबाजीमा आम उपभोक्ताको ढाड सकाउने कुत्सित चालबाजीले करोडौ, अर्बाै नाफा कमाउनु आधुनिक नियम संगतको बाहनामा आम्दानीको ओइरो लगाउनु चरम शोषणको श्री गणेश भएन र ? सस्तो दरमा पैसा लिएर सकेको बढी पारेर विक्री गर्दा राष्ट्र बैंक किन निस्फिक्री ? अझ अधिक नाफा आर्जन गर्नेलाई क वर्गको मान्यता । जो चरम शोषक छ उही ठालु । उसैलाई सम्मान र फूलमाला । दर्ता भएपछि जस्ले, जसरी, जति असुल्दा पनि हुने ? नियमले नछुने ? त्यसैले अब भन्नै पर्ने हुन्छ । “आधुनिक सामन्ती संस्था प्रा.लि. । आधुनिक सामन्ती संस्थाका अनेक अवतारहरू गाउँ, बस्ती, शहर, बजार सर्वत्र पाइन्छ । आधुनिकता र परिवर्तनका नाममा नाङ्गो लुट सर्वत्र छुट ? तरिका पु¥याएर राजस्व बुझाएँ भन्दैमा जनताको चित्त बुझाउनु पर्दैन ? द्रव्य सञ्चितीको तौर, तरिका र नाम फरक भए पनि काम चाहिँ काले कामी÷कामी काले । पारा उही, सारा उही, दारा उही, चपाउने उसै गरी । छाडालाई लाइनमा ल्याउने के गरी । नत्र हर्दम चलिरहन्छ मनपरि । 

द्रव्य सञ्चितालयले मागेका बेलामा आफ्नो पैसा नदिएर अन्तर्घात गर्न पनि सक्छ । मागेका बेलामा बिना झन्झट पाइन्छ भन्नु चुनावी नारा जस्तै विकाउ नारा मात्र हो । अहिले बजारमा अनेक थरीले विकाउ नारा तयार पार्छन् तर टिकाउ नारा प्रस्तुत गर्न सक्दैनन् । किनकि सबै अरूमा आश्रित छन् । झुटो आस्वासन र फुस्रा नाराको आड लागेर अरूलाई आश्वस्त पार्ने प्राविधिक तौर तकिरा भए पनि यथार्थ धरातल अर्कै छ । बैंकको पनि बैंक टाउके बैंकलाई लागेको होला सबै वित्तीय संस्थाहरूले अक्षरसः नियम पालन गरेकै छन् । अगाडि पर्दा मज्जाले पुच्छर हल्लाए पछि विश्वास पनि गर्नै प¥यो । विश्वास गर्दा गर्दै मूल बाटो छोडेर चोर बाटो चम्पट भइसक्छ तर टाउके बैंक हेरेको हेरेकै । 

वित्तीय संस्थाले सजिलै पैसा देला र आरामले उग्राउँला भनेको दाँतमा ढुंगा लाग्यो । चेक पेश गरेको एक दिन पछि खाता एक्टिभेट गर्नुपर्छ भनेर फर्कायो । अर्काे दिन गुन्द्रुक भात खाएर गएँ पैसा ल्याए पछि मासु भात खाउला भनेर त्यो दिन पनि केवाइसि ९प्थ्ऋ० भर्नुपर्छ भनेर फर्कायो । केवाइसिको मतलब, अर्थ खोली राख्नु पनि नपर्ने कस्तो काइदा । वित्तीय संस्थाको कोड भाषा प्थ्ऋ कुन चराको नाम हो के थाहा ? तेस्रो पटकमा ल्याप्चे लगाउन छटेछ भन्यो । चौथो दिन निलो ल्याप्चे देखेर कालो ल्याप्चे लगाउनु पर्छ भनेर फर्कायो । पाँचौँ दिन तिन पुस्तेको क्रमाङ्क मिलेन, छैटौँ दिन मोटो श हुनुपर्ने पातलो स भएछ भनेर पनि फर्काउन मिल्दो रहेछ । फोटो नागरिकता बनाएका बेलाको रहेछ ताजा फोटो चाहियो भनेर पनि फर्काउने भरपर्दाे उपाए रचेका रहेछन् । अझ उदेक लाग्ने नौ नारी गल्ने अप्ठयरो सम्बन्धित वित्तीय संस्था देखि खाता वालेको घरसम्मको बाटो चौबाटोको नक्सा स्केच कोरेर तयार पार्नु नत्र पैसा पाइँदैन भन्छ । हो ठिक तेत्ति खेर उपभोक्ताको बार बज्छ र भुइँमा थचक्क बस्छ । लाग्यो अलि अलि पढेर पैसा जम्मा गर्ने दिन गएछ । सिस्टमको बाहनामा बैंकले उपभोक्ता माथि थपेको कठिन कार्यभार पार गरेपछि बल्ल बल्ल खाता एक्टिभेट भयो । नोठसँग भेट पनि भयो तर खातावालेको होस हवास काँ गयो काँ गयो । उफ् ! कस्ता दिनमा बैंकसँग लगन गाठो कसिएछ । सम्बन्ध तातिन्छ कि भन्दा चिसिँदै गइरहेको छ । 
फूलबारी ११, शिवशक्ति मार्ग, पोखरा, फोन ९८०६६७७५९४