सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कमाउ नाम, होइन भने जय सीताराम !!

Nepal Telecom ad

केही बन्न नसकिएकोमा दुःखमनाउ गर्दै यो बिन्ति बिसाउँदैछु म आज । भारेभुरे बात भनी अस्वीकार नगरियोस् । नयाँहरूलाई पनि स्थान, मान, सम्मान दिनुपर्छ भन्न औपचारिक रूपमा पछाडि नपर्नेहरू नै आफ्नो आसन डगमग हुन्छ भन्ने आशङकाले तिनलाई ‘चिलिमच्वाँट’ पार्न अनौपचारिक रूपमा हँसियामा धार लगाउँछन् भन्ने सुनेको छु । त्यस्ताको कुरालाई राज्य वा विद्रोही पक्षले आशङ्कामा अपहरण गरेकालाई सदाका लागि सास फेरेर उठ्न नसक्ने गरी लडाइदिएको वा भूमिगत पारेर गब्जेरोतिर सडाइदिएको जस्तो गर्ने भए दुःख पोख्नुको औचित्य छैन । यसो होइन भने सर्वप्रथम नै निवेदन गर्दछु कि श्रीमान् ! मान्छे बनेर जस्तो भए नि कमाउन सक्नुपर्ने रहेछ नाम, नत्र जय सीताराम !
मान्छेहरू कस्ता कस्ता के भएर र कस्ता कस्ता बनेर नाम कमाएका छन् आफू भने सधैंको कुखुरी क्वाँकक्वाँक । भीडभाडमा हर्न बजाउने प्वाँक–प्वाँक ! हुन पनि कस्ताकस्ता “लफडा, खैराँते, झुस्” हरू फाइबस्टार होटलमा इम्पोर्टेड “जुस” खाने हैसियतमा उक्लिएको अवस्थादेखि “बुद्धिको बटुकोमा बडकौँला बास, लठेप्रो बोली कृपाकारीका दास”, अनुहार न दनुवार राष्ट्रको प्रमुख व्यवस्थापकीय होनहारमा पुन-पुनः गन्ती भएकासम्मको अवस्था हेर्दा आफू भने जहाँको तहीँ रही केही बन्न नसकेकोमा साह्रै दिक्क लाग्छ । आफूले देख्दादेख्दै कतिले हाइजम्प, लङजम्प जस्तो अवस्थाअनुसारका जम्पद्वारा कम्प पैदा गरी फड्केर आफूलाई देशको महान् बस्तीमा उकाली, बनाएको रङ्गमहलमा मस्ती गरी बसेको देख्दा यो मन उजाडिएको बस्तीमा गस्ती गर्न पुग्दछ । हेर्दाहेर्दैका सडकछापहरू राजनीतिको दरिलो तापले ठूलठूला साप कहलिएपछि यो मन थाम्न गाह्रो नपर्ने त सवालै भएन । राजनीतिमै नलागे पनि दर्खास्त राखी प्र.म. बन्ने निर्देशित व्यवस्थालाई मानिदिँदा “भाग्यमानीको खप्पर ठूलो” हुने उखान विपरीत कति सानाको खप्परमा पनि भाग्य बली नाम चम्किएको र ती पात्ले बनको ढुकुरजस्तो मनै गम्किएको देख्नु मात्र आफ्नो नियति हुनपुग्दा कहिले त घोप्टिएर “क्वाँ, क्वाँ” रून मन लाग्छ ।
खैर, नाम कमाउनुको पछाडि कतिपय अवस्थामा कर्मभन्दा भाग्यले पनि काम गरेको देखिएको छ । नत्र अभिनय गर्न नजान्ने चलचित्रको नायक र टपरीमा तुक्र्याउँदा निस्कने जस्तो स्वरको धनी गायक हुन सक्दछन् कोही । यस्ता नालायक गायक अनि नायक, लायकमा गनिएका प्रसस्तै फेला पर्नेहुँदा भाग्य भएर नै सो सम्भव भएको मान्नुपर्दछ । अझ विडम्बना हेर्दा के फेला पर्छ–पर्छ । भाषण गर्न नजान्ने कार्यक्रम सञ्चालक हुन्छ, यातायातको सङ्केत थाह नपाउने सवारी चालक हुन्छ । मेवा, ढेवा प्राप्त नगरी सेवा, टेवा नगर्नेहरू राम्रो सेवाप्रदायकमा गनिन्छन् । आफ्नो मात्र स्वार्थको रक्षा गर्ने समाजसेवी र दानमा सून्य निष्ठुरीहरू देवदेवी मानिन्छन् । यस्ता कुरालाई धेरै नतन्काउनु नै उचित होला ।
अरूको कुरा भन्या त्यस्तै हो । आफ्नो भाग्यमा भने नाम चम्किने लेख्या छैन जस्तो छ । कमसेकम अर्काको रचना आफनै नाउँमा छपाउने खुबी गीतकार, नाटककार, कथाकार, निबन्धकारजस्ता साहित्यकार बन्नेसम्मको आफ्नो हुती भइदिएको भए वा हस्पिटलमा आएको रोगीलाई आफ्नो क्लिनिकमा जाँच्ने व्यवस्था मिलाई सेवा पेशालाई व्यापारीकरणतर्फ उन्मुख गर्ने डक्टर बन्न सकेको भए वा कागजमा काम फत्ते गराई अवास्तविक विकास निर्माणको फेरहिस्त पेश गरी सर्कारी ढुकुटीबाट करोडौँ कुम्ल्याउने ठेकदार वा इन्जिनियर वा सर्कारी हाकिम हुन सकेको भए वा आफनै घर परिवारको व्यवहारलाई नङ्ग्याएर व्यङ्ग्य लेखी कुभिण्डा जत्रो नाक बनाउने व्यङ्ग्यकार बन्न सकेको भए वा एक दशक अगाडिको नोटलाई अद्यापि आधार बनाई पढाउने कलेजको गुरु हुन सकेको भए वा ट्युसनका नाउँमा अर्काकी छोरीबुहारीसँग सुहागतरातको रिहर्सल गर्ने मास्टरसम्म भइदिएको भए अहिलेको जस्तो नामविहीन हुनुभन्दा यो सय खण्ड राम्रो हुँदैनथ्यो र ?
अरूलाई स्वधर्म स्वसंस्कारको पाठ पढाउने आफू चाहिँ सोको उल्लङ्घन गर्ने धार्माधिकारी, उत्पादन बढाउने नाउँमा प्राङ्गारिक मलको साटो माटो बिगारी वातावरण अनुपयुक्त विषालु बनाउने रसायनिक मल हाल्न उत्प्रेरित गर्ने कृषि विशेषज्ञ हामीकहाँ प्रशस्तै छन् । पेँडामा मैदा हाल्ने हलुवाई, पेट्रोलमा मट्टीतेल मिसाउने पम्पवाला, बच्चाहरूलाई “सु” गर्न ठाउँ दिएको भनी सो वापतसमेत पैसा असुल्ने बोर्डिङ स्कुल सञ्चालक, चमेलीको तेल टाउकोमा दल्दा बास्ना आउँछ भन्नेसम्मको ज्ञान राख्ने ब्युटिसियन, स्तरीय शिक्षाको नाउँमा विना कुनै पूर्वाधार दुईवटा कोठामा गल्लीपिच्छे खोलिएको टेन प्लस टु कलेजका निर्देशक, भोगासनमा बानी भा’कालाई योगासन गर्न गाह्रो नहुने धारणा राख्ने योगागुरु, तलब–भत्ता सुविधाको खातिर संसद नभए पनि सोको प्रमुखमा लाजै नमानी टाँसिइरहने सभामुख, शासनमा सहभागी नहुँदा एउटा कुरा भएपछि ठ्याम्मै विपरीत ध्रुवको कुरा गर्ने सत्तामुखी दोगला चरित्रका मन्त्री, कमिसन खाने नाउँमा दुवै पक्षको ढाड खुस्कने गरी लुट्ने दलाल, यी मध्ये कुनै एक मात्र हुन सकेको भए नि के नराम्रो हुन्थ्यो र ?
न कमसललाई विज्ञापनद्वारा असलको लेभल लगाई दुनियाको आँखामा छारो हाल्न सक्ने विज्ञापन ऐजन्सीकर्ता बन्न सकियो । न कतै “टिल्ल” नभै सन्तुलित तबरबाट टिप्पणी गर्न सक्ने मानव अधिकारवादी बन्न सकियो, न त शान्ति स्थापना गर्ने दिशामाभन्दा द्वन्द्व बढाउनेतर्फ उन्मुख गराउने वार्ताकार नै बन्न सकियो । न विदेशमा काम लगाइदिन्छु भनी पैसा ठगी अलपत्र पार्ने म्यानपावर कम्पनीको मालिक हुन सकियो, न त दुनियाँको पैसा निक्षेपको रूपमा सङ्कलन गरेर कुम्लो पारी टाप कस्ने कोअपरेटिभ वा फाइन्यान्स डाइरेक्टर नै हुन सकियो । न उपभोक्ता ठग्ने व्यापारी बन्न सकियो, न त उपहारको आकर्षण राखी न्यून गुणस्तरको सामान उत्पादन गर्ने उद्यमी नै बन्न सकियो । न कुनै लेख वा रचनाको शिर र पाउसम्म नपढी मूल्याङ्कन गर्ने स्वघोषित समालोचक हुन सकियो, न त साहित्यको स थाहा नपाएको धनवान् मालिकको नाउँमा साहित्य श्रृजना गरेर मासिक पारिश्रमिक प्राप्त गर्ने तलबी लेखक नै हुन सकियो । न रक्षकको पगरी गुथी भक्षक हुन सकियो, न त व्यवस्था परिवर्तन गर्ने नाउँमा निर्दोष जनतालाई समेत छप्काउन एवम् डाँकाले मेरै सम्पत्ति टप्काउन बाँकी नराख्ने विद्रोही हुन सकियो । आदि इत्यादि केही पनि बन्न सकिएन ।
केही बन्न नसक्नुमा ग्रह नक्षेत्रको पनि खेल हुन सक्छ भन्ने लागि ज्योतिषीकहाँ पनि पुगेको छु । उसले मङ्गलग्रह कुन्नि कहाँ हो परेर शनीको दोष भएकाले के जाती पतन हुने योग परे तापनि वृहस्पतिको छाया हुनाले मन भ्रान्ति हुन नसक्ने पनि चाइने जो के नामको हो स्तोत्र ठाडो लगौँटी कसी बागमतीको किनारमा बसी निधारमा चन्दन घसी दिनको १०८ चोटि पाठ गरेमा लाभ मिल्ने कुरा बताएको मैले अहिलेसम्म बिर्सेको छैन । गुभाजुकहाँ जाँदा कुन्नि के के ज्ञानी मन्त्र बडबडाउँदै घरी अम्रिसाको कुचोले पानी छ्याप्ने, घरी खरानीको धूलो हत्केलामा लिई फुक्ने कार्य गरी चार गेडा अक्षता निल्न लगाई एउटा बुटी दिई सो नाइटानेर टनटनी बानेमा मनले चिताएको कुरा पुग्ने बताएको अहिले पनि सम्झेको छु । धामीले कसौँडीको पानीमा के के हो बडबडाउदै फुक्दै लौ खानोस् सब पुग्छ भनेको, मग्रातीले ढ्याङ्ग्रो ठोकेपछि कालो कुखुरा वा बोका रातको बाह्र बजे कालभैरवको दिशातर्फ एउटा खुट्टा उठाई भोग दियो भने मनले चिताएको कुरा पुग्ने सल्लाह दिएको, तान्त्रिकले सर्वाङ्ग नाङ्गो भई रातको एक बजे मसानमा बसी टुँडालमा खोपिएको मूर्ति चित्रको याक्सन सम्झी उनले दिएको मन्तर लल्याकलुलुक नभै जपेमा जे जे इच्छा गर्यो त्यै त्यै प्राप्त हुने तरीका बताएको, मनोवैज्ञानिकले मनमा दृढ निश्चय गरेर फलानो थोक बन्छु भनी साच्नोस् बन्न नसकिने कुरै छैन भन्ने निदान दिलाएको यी यावत् कुराहरू मेरो सम्झनाबाट बिलाएका छैनन् । यस्ता सल्लाह कति त मैले सम्भव भएसम्म कार्यान्वयन पनि गरेको हुँ तर नतिजा भने ठिन्ठिन् गोपाल भयो अर्थात् म केही बन्न सकिनँ ।
असमर्थताको यो अवस्थालाई मूल्याङ्कन गर्दा आफैँदेखि रिस उठेर आफैँले आफैँलाई ठ्यामका लाउन मन लाग्छ । तर के गर्नु ‘रिस खा आफू बुद्धि खा अरू’ भन्छन् । जे होस् आजको मितिसम्म म केही बन्न सकेको छैन । धेरै पढेर वा असल ज्ञान बटुलेर वा इमान्दारीपूर्वक काम गरेर मात्रै केही बनेर नाम कमाउन नसकिने रहेछ । आफूलाई पहिला त यो आफ्नो गर्व गर्नुपर्ने गुण हो जस्तो लाग्दथ्यो तर अचेल साँचै नै महसुस भएको छ कि यो मेरो ठूलो अवगुण रहेछ । हे नामका धनी महाशयहरू तपाईंले भने नाम कमाउन के कस्ता कारनामा सम्पन्न गर्नुभयो ? कृपया आफैँ्नो अनुभव लेखीलेखाई मजस्तै हरिलट्ठकसमक्ष प्रस्तुत गरिदिए कति जाती हुन्थ्यो होला । अस्तु

हाडीगाउँ, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे