गोटी षड्यन्त्रका चाहे जति चालिसियोस् प्रभु !
खसी घोर्ले, सिसी झिल्के जति ढालिसियोस् प्रभु !

सेतो पार्न त गाह्रै छ “कालो धन”’ मरे पनि 
“पुरस्कार” भनी चारो जति फालिसियोस् प्रभु !

घाम–जून हजूरैका हुने पेवा गए दिन
नौ लाख पिल्पिले तारा जति बालिसियोस् प्रभु !

चल्दैन अब क्यै दैया सत्यलाई दबाउन
अल्सेसियन मापाका जति पालिसियोस् प्रभु !

विद्रोही “व्यास” लाई यो किन खोज्नु फकाउन ?
आफ्नो विवेकको भ्वाङ बरु टालिसियोस् प्रभु ! 
 
(रचनाकाल र स्थान ः २०५३ माघ, कलैया) 
(‘बोधिवृक्षको छायामा’, कवितासङ्ग्रह, २०६९)