ती थोत्रा वाद बालौं, अभिनव–युगमा, मात्र ‘मैवाद’ पालौं ।
ती धोत्रा वाद फालौं, अभिनव–युगमा, मात्र ’मैवाद’ थालौं ।।
जे–जस्ता वाद पस्के, विगत—मगजले, दूरद्रष्टा बनेर ।
मासौं ती जीर्ण–धारा, अभिनवयुगमा, धूर्त—स्रष्टा भएर ।।

ठूलो हो देशभन्दा, पृथुतम कसिलो, वादको मन्त्र सूत्र ।
ठूलो होे, वादभन्दा अतिसय बलियो, पार्टीको अन्ध–पुत्र ।।
ठूला हुन्, पार्टीभन्दा, गुट–उपगुटको, मुख्य हर्ता र कर्ता ।
ठूला हुन्, गूटभन्दा, परिजन कुलका, भाइ—साला–प्रशंसा ।।

ठूलो हो अर्थ—सत्ता—पद अझ गतिलो, लोक झुक्ने प्रताप ।
सातै पुस्ता सपार्ने, बल यदि नगरे, हामी हुन्छौं सखाप ।।
प्लेटो गान्धी र माले, नव—नवयुगका, चिन्तकै मास्नुपर्छ ।
राम्रा छोडेर हाम्रा, परिजन–कुल नै, शक्तिमा हाँस्नुपर्छ ।।

भाङ्ग्रे हुन् नीतिकर्ता, जन–गण समता– चाहने नीच टर्रा ।
ग्वाङ्ग्रे हुन् व्यास भोल्टेयर हरि–हर ता, पश्चगामी र तल्ला ।
बन्छौं चार्वाक–चेला, जतिदिन रहुँला, मोजमज्जा गरौंला ।
नारा हुन् व्योम–तारा, दल–बल छलले, राज्य कब्जा गरौंला ।।

पूर्बेली पश्चिमेली, जति–जति गहिरा जन्मिए लोकवाद ।
रोगी ढोंगी र कोपी गफ रफ कफ औ, छोक्रिला हुन् विशाद !
धर्तीका वाद फालौँ, अभिनवयुगमा, ऊग्र ‘मैवाद’ पालौं ।
सातै पुस्ता सपार्ने, अवसर रसिलो, डुग्र ‘मैवाद’ थालौं ।।

गङ्गा गोविन्दजस्ता मनुज अरु कयौँ, द्रोहिला पश्चगामी ।
हामी लुट्ने जुट्ने जति जति जन छौँ, हौँ सदा अग्रगामी ।।
शिक्षा औ स्वास्थ्य ठेक्का सबतिर अहिले, माफिया—वाद पालौँ ।
शास्त्रैका वाद फालौँ मिलजुल कमरेड्, नीच ‘मैवाद’ पालौँ ।।