बग्रेल्ती वस्तु भेटिन्छन् जे चाह्यो रोज्छ मानिस
दिन्छ सञ्जीवनी धर्ती धरामै मिल्दछन् विष

रूप आकारले भन्दा झस्किन्छन् क्षमतासित
हात्ती आकारले ठूला तर्सिन्छन् कमिलासित

विना सम्भावना खट्छौं व्यर्थ नै हुन्छ कोसिस
नाङ्लाका प्वाँख गाँसेर उड्न सक्ला र मानिस

भ्रमको जिन्दगी बाँच्छौं थच्चिन्छौं चेतना खुले
आकाश थाम्नुको चिन्ता पालेझैं हुट्टिट्याउँले

अरूका घाउमा थप्छन् मान्छेले नुन वा चुक
आश गर्छन् परे पीडा सम्झिदैनन् भए सुख

हर्ष, हाँसो, खुसी, सत्ता, बैंस हुन् क्षणभङ्गुर
पानीमा उठ्छ फोका जो आयु लामो कहाँ छ र

ज्ञानको दायरा जत्रो उत्रै देख्दछ ब्रह्मले
थियो श्रीखण्ड खुर्पाको बीड ठान्यो मनुष्यले

मनका वेदना पोखे मनले शान्ति पाउँछ
जसरी भरिया भारी बिसाई त्राण पाउँछ

झार के रोप्दछौ भन्छन् तुलसी रोपिए पनि
डाडुले स्वाद के चिन्थ्यो दालले छोपिए पनि

मूल्य यो जिन्दगानीको अन्तमा चाल पाउँछ
डुब्दो मनुष्य आशाले सर्पलाई समाउँछ
१०