एक बेलायती कुकुर नेपाल आएछ । नेपाली भुस्या कुकुरहरूले छ्क्क पर्दै सोधेछन्– “अरे बे, तँ पो । होइन बेलायत जस्तो धनी देशबाट नेपालमा ?”

ङिच्च मुस्कुराउँदै बेलायती कुकुरले जवाफ दिएछ– “मेरो देशमा हावापानी, खानेबस्ने आदि जस्ता जिवनोपयोगी सबैखाले भरपुर सुबिधा छ तर.... अलि भावुक हुँदै गला अवरुद्ध गरेछ ।
के तर ? कान ठाडाठाडा पारेर नेपाली कुकुरहरूले सोधेछन् । त्यहाँ  तिमीहरू जस्तो जथाभावी भुक्न पाइँदैन । हाम्रो जात जथाभावी भुक्ने जात हो ।” बेलायती कुकुरले भनेछ । 

सायद तपाइँलाई पनि यो बेलायती कुकुरको कुराले छोयो । वास्तवमा कुकुरको अधिकार भुक्न पाउनुमा हुन्छ । घरमा थुनिएर बस्नु होइन डुल्न पाउनुमा हुन्छ । जथाभावी कुद्नु र मन लागेको खन पाउनुमा हुन्छ । उसका खानामा काँचो पाको हुँदैन । फ्याँको र राखो पनि हुँदैन । 

कुकुर भइसकेपछि चाहेको ठाउँमा सुसु गर्न पाउनु पर्छ  । स्वतन्त्र खुट्टा उचाल्न पाउनुपर्छ । पुछ्छर लत्रिनु कुकुरको लाछी पन हो । पुच्छर उचालेर चित्त नबुझेको कुरामा झम्टन पाउनुपर्छ । पर्याप्त ङुरङुराउन पाउनुपर्छ । चित्त नबुझे चुइकिन र स्वतन्त्र फ्याउरो सोसरह रुन पाउनुपर्छ । आफूलाई मन लागेको शिकार लखेटेर मार्न पाउनुपर्छ । आफूलाई मनलागेको कुरा खान कसैलाई सोधिरहनुपर्दैन । 

नेपाली कुकुर छक्क परे । यिनलाई लागेको रहेछ, मान्छेका घरमा पस्न पाए पुग्छ । मान्छेका ओछ्यान र सोफामा चढ्न पाए पुग्छ । भान्सामा गएर काँसका बटुकामा खान पाए पुग्छ । तताएको दुधको कराईको कुरौनी चाट्न पाए हुन्छ । विलौनी कोरेर खोस्तामा राखिदिए केके न हुन्छ । जुठोपुरो भए पुगिहाल्छ । मालिककका छोराछोरीसँगै खेल्न पाए हुन्छ । 

वेलायती कुकुर यसरी बुझ्दो रहेनछ । उसलाई मालिकका छोराछोरीसँग बसेर तिनको जुठो पुरो खाएर मात्र चित्त बुझ्दो रहेनछ । भेट भरिनु र चित्त बुझ्नु फरक कुरा रहेछ । उनीहरूले उसिनेर दिएका कुखुराका नङ्ग्रा टोकेर मात्र  चित्त बुझ्दो रहेनछ । बलिया जनावरका नलिहाड नचबाउन्जेल र अझ सुकेका हाड नचपाउन्जेल दाँतको चिलाई मर्दै मर्दो रहेनछ । बासना आउने चामलको फ्रिजमा राखेको भातले ती बलिया दाँतलाई मात्र कमजोर बनाउँदो रहेछ । आइस क्रिम खानु झन् खतरा रहेछ । ममको डल्लो झन् घातक हरेछ । पोकाको दूधमा कुनै दम हुँदो रहेनछ । मालिककी छोरीसँग खेल्दा दगुर्ने र भुइँ खोस्रिने ठाउँ नै पुग्दो रहेनछ । तन्ना च्यातियो कि मालिक मालिक्नीले राता आँखा तरेर बसिखान दिँदा रहेनछन् । 

नेपाली कुकुरलाई लागेको रहेछ, मान्छेका पाउना आउँदा सँगसँगै बस्न र मिठो मिठो खान पाए मजा हुँदो हो ?  वास्तवमा त्यसो होइन रहेछ । तिनका घरमा बस्ता नड्ग्रा काटेर बुच्चो बनाइदिँदा रहेछन् । कुकुरको जात नड्ग्रा काटेर होइन तिखारेर बाँच्ने खालको रहेछ । नड्ग्रा नभएपछि मुसो समाउन पनि नसकिने निरिह बनिँदो रहेछ । परेवाको बच्चो पक्रन पनि नसकिँदो रहेछ । उल्टै मुसाले कान टोकेर दिक्क लगाउँदा रहेछन् । परेवाले ठुँगेर वाक्क पार्दा रहेछन् । विरालो देख्यो भने पनि कान लतारेर बस्नुपर्दो रहेछ । यो कुरा थाहा पाएर नेपाली कुकुरहरू पर्नु छक्क परे । 

सुरु सुरुमा तर्क गरिरहेका कुकुर भरे भरे शान्त श्रोता भएर कुरा सुन्न थाले । उनीहरूले कुकुरलाई घिउ नपच्ने कुरा बुझे । बेलायती कुकुरले प्रवचन दिँदै गयो , यिनीहरू सेनको सुन्यै भए । उसको प्रवचनका प्रमुख बुँदाहरू यस्ता थिए ः 

हामी नङ्ग्रा र दाँतले बाँच्ने जात हौँ । दाँत र नड्ग्रा कमजोर बने हाम्रो अस्तित्व रहँदैन । हामी स्वतन्त्र डुलेर खाने जात हौँ । हामीलाई घिउ होइन घिउ पचाएर फालेको बस्तु राम्रो लाग्छ । हामीलाई घर भान्सा मान्य छैन । हामी ढोकामा उभियो कि खान पाउने जात । बाटामा निस्कियो कि केही न केही पाइहाल्ने जात । हामीलाई कसैका घरका चौगाराभित्र थुनिएर बस्नु छैन । हामीलाई थुनेर राख्ने खोर चाहिँदैन, मन्दिर र घरका पेटी, चोक, गल्ली भए पुग्छ ।  हामीलाई मान्छेले भन्ने गरेको घरभन्दा मसानघाट प्यारो छ । मान्छेका घरको मार्वल हाम्रा शरीरको भुत्लाका लागि खतरा हुन्छ । मान्छेका छोराछोरी हाम्रा खतरा हुन्, ती हामीलाई होच्याउँछन् । हाम्रो कला कुण्ठित गर्छन् । हाम्रो परम्परा नष्ट गर्छन् । हाम्रो पुच्छर काटिदिन्छन् । हाम्रो रौँ काटिदिन्छन् । नङ्ग्रा मठारिदिन्छन् । हामीले स्वतन्त्र सिकार खेल्न पाउँदैनौँ । स्वतन्त्र प्रेम गर्न पाउँदैनौँ । हामीमध्ये कुकुरनीलाई अर्कै घरमा कुकुरलाई अर्कै घरमा राखिदिन्छन् । यो हामीलाई मान्य छैन । हामीलाई कात्तिकमा माला लाइदिएर पूजा गर्दैमा हुँदैन । हाम्रो कात्तीक महिनाव्यापी चाड हो । यस चाडलाई चाहे वर्षव्यापी पनि बनाउन सक्छौँ । यस कुरालाई मानिसले बुझ्दैनन् । खटाइखटाइ खान दिन्छन् । हामी खटाएको खाने जात होइनौँ । उखानै छ नि कुकुरलाई स्वर्ग मन पर्देन । 
ऊसले भनेका तर केही बुझ्न नसकिएका कुरा पनि सुनियो त्यहाँ –
कुत्ता घाँस खाय तो सभी पाल लें ।
कुत्ताके आँटा होय तो लिट्टी लगा के खाए ।
कुतिया चोरों से मिल गई तु पहरा कौन दे ?
कुत्तेको घी दहीं पचता ।
कुत्ते मुह लगाने से सिर चढे । 

सायद यी कुरा नेपाली कुकुरले बुझे । उनीहरू वेलायती कुकुरलाई अगाडि लगाएर जिन्दावादको नारा लाउँदै पल्लो चोकतिर लागे । मेरा घरको कुकुर पनि जन्मदेखिको बल निकालेर भुक्तै बारै नाघेर बाहिर निस्कियो । म भने हेरेको हेर्यै । 
पाँचथर, हाल काठमाडौं