दाहिने गोडाको बूढी औँला र माहिली औँलाको कापमा छिरेर तनतनी रगत चुसी ढाडिएर पुटुस्स भएको जुकालाई एकपटक नमस्कार गरी विनित भावमा मैले सोधेँ– ‘जुको महोदय ! तपाइँ अब त तृप्त हुनु भो ?’ उसले कुनै जवाफ दिएन । बरू जुको आफ्नो कमैयासँग रिसाएर बसेको परम्परागत जिम्दार जस्तै गजक्क परेर बसिरह्यो । उसको सुँढ मेरै आलो रगतले भिजेर निखुर रातो भएको थियो । म घरी रगत रसाएको मेरो औँलाको काप र घरी मेरै आलो रगत लतपतिएको जुकाको मुख हेर्दै एकोहोरो टोल्हाइरहेँ । 

पाँच दशक टेक्न लागेको मेरो जीवनले धेरैै जुकाहरूबाट निर्मम डसाइको सामना गर्नु प¥यो । बाल्यकाल एकथरी जुकाको डसाइबाट हायलकायल भएको सम्झना स्मृत्तिमा ताजै भएर बसेको छ । मेरो चञ्चल किशोर अवस्था अर्काथरी जुकाहरूसँग जुद्धाजुद्धै सकिएको याद अझै गाढा छ । जवाँमर्द भएर जीवनगाडा धकेलिरहँदा पनि मलाई कुनै न कुनै प्रकृतिका जुकाले डस्न छोडेनन् । जीवनको यो उत्तरार्ध खण्ड पनि जुकाकै निर्मम आक्रमण र डसाइबाट प्रताडित भइरहेको छ । लाग्छ म जुके साम्राज्यको एउटा निरीह रैती हुँ, जसको पुनित कर्तव्य भनेकै आफ्नो शरीरको ताजा रगत हर्दम जुकाहरूलाई समर्पण गर्नु होे ।

भिन्न भिन्न नाम र स्वरूपमा जुकाहरू मेरो जीवन नजिक आउँछन् । मेरो सोझोपन, इमान्दार र कर्तव्यनिष्ठ व्यवहारप्रति प्रशंसाको पुल बाँद्धै र सहानुभूति जताउँदै आफ्नो चुसाहा सुँढ गाड्न थाल्छन् । कोही प्रिय साथीको रूपमा आउँछन् । कोही साझा सहयात्रीको रूपमा देखा पर्छन् । कुनै सहकार्यको अंशियारका रूपमा उपस्थित हुन्छन् । कोही आफ्नै जात, थर र गोत्रका रूपमा र कोही नजिकको आफन्तका रूपमा मसँग हार्दिक र आत्मीय हुँदै प्रस्तुत हुन्छन् । म सबैलाई मेरै हितचिन्तक र शुभेच्छु देख्छु । विश्वासले मभित्र जरा गाडिहाल्छ । म कसैप्रति कुनै शंका सन्देह पटक्कै राख्दिनँ । अरूको समस्याप्रति आवश्यकताभन्दा बढी नै सम्वेदनशील हुनु मेरो मौलिक र मानवीय गुण हो । यस अर्थमा म गुणग्राही स्वभावको मनुस्य हुँ । मेरो यही प्रकृति र स्वभावलाई कमजोरी ठानेर जुकाहरू मैले चालै नपाइ मेरा अङ्ग प्रत्यङ्गमा प्रवेश गर्छन् अनि मेरो जीवन–रस चुसेर मग्न र आल्हादित हुने गर्छन् ।

भरखरैको कुरा हो– वर्षौ पुरानो मित्रको खोल ओढी ममाथि घातक आक्रमण मार्फत शरीरको रगत चुसेर समढन्न भएको जुकाको सक्कली अनुहार देख्दा म नराम्रोसँग रन्थनाएँ । घनघोर रिस उठ्यो, आवेग र उत्तेजनाले मलाई छोप्यो र म ऊमाथि खनिएँ । बदलामा मलाई पनि उसकै रगत तनतनी पिउन मन लाग्यो । तर मसँग उसको जस्तो रगत चुस्ने सुँढै थिएन । सुँढ नभएको अनुभूतिले मलाई सिताङ्ग बनायो । अनि मेरो अन्तस्चेतना चिच्यायो– ‘यस धर्तीका महान् जुकाज्यू ! के तपाइँ मेरो रगतले तृप्त हुनुभो ? हुनुभएको छैन भने आफ्नो दुष्ट सुँढ गाडेर अझै मलाई चुस्नुहोस् ।’ प्रतिक्रिया विहीन जुको महोदय मेरै रगतले पुटुस्स भएको पेट सुमसुम्याइरह्यो ।

जुका जातको मूल धर्म भनेकै अर्काको रगत चुसेर आफू मोटाउनु हो । आफ्नो चुसाइका कारण कोही रक्तअल्पताको शिकार भएर मर्छ कि भन्ने हेक्का जुकाले कहिल्यै राख्दैन । निष्ठुरताको पर्याय हो जुको । रगत चुस्नु नै उसको जात, धर्म, पेशा, व्यवसाय हो । थाहै नपाइ मान्छेको र राष्ट्रको गोप्य अङ्गसम्म पुगेर जुकाहरू रगत चुस्नमा तल्लिन छन् ।

‘जति चुसे पनि कहिल्यै नअघाउने तपाइँको कस्तो तिर्खा हो जुकाज्यू ?’ 

धमनीमै प्रवेश गरी राष्ट्रको रगत तन्काउनमा खप्पिस अनेकन जुकाहरू मध्येको एउटा जुकासँग हिजैमात्र मेरो अनपेक्षित जम्काभेट भएको थियो । मेरो प्रश्नमाथि उसले बेवास्ता गरेपछि मैले फेरि दोहो¥याएँ । अहँ फेरि पनि ऊ गजक्क परिरह्यो । मभित्र आक्रोशको आगो बल्न थाल्यो र एक लप्का ऊतर्फ हुत्याएँ–

‘जुकाज्यू, यहाँको मुखमा टिम्मुर हाल्ने परिस्थिति सिर्जना भयो भने अवस्था के होला ? कहिल्यै सोच्नु भएको छ ?’
टिम्मुरको कुरा सुन्नासाथ जुको एकपटक तिल्मिलायो । तर मुखमा लतपतिएको राष्ट्रको रगत पुछपाछ पार्दै जुको बोल्यो–

‘जङ्गलभरिको टिम्मुर फँडानी भइसकेको जानकारी पाएको छैनस् मनुवा ?’ 
म हतप्रभ भएँ । मेरो मथिङ्गलको संसार एक पटक फनन्न घुम्यो । ‘के हाम्रा बारी, खोल्सा र पखेरातिर झुप्पाका झुप्पा फल्ने टिम्मुरको बिउ नै नासियो त अब ?’ यो आफ्नै प्रश्न बडेमाको घन बनेर आफ्नै मस्तकमा ठोकिन थाल्यो । पेट फुलाएर गजक्क बसेको जुकालाई लल्कार्दै म चिच्याएँ– 
‘तेरा मुखमा नून छर्नु पर्ने.....’

‘नेशनल ट्रेडिङ लिमिटेडपछि लगत्तै, नून आयात गर्ने नेपालको एकमात्र निकाय साल्ट ट्रेनिङ कर्पोरेसनलाई मैले निजिकरण गरिसकेँ मनुवा ।’ चुसेको रगत छाद्नु पर्ने जुको त समढन्न भएको पेट मुसार्दै मतर्फ मन्द मुस्कान छादिरहेको थियो । 

‘पाजी जुकाको यत्रो हैसियत ? यत्रो पहुँच ?? यो कसरी सम्भव भयो हँ ???’ 

यो देशका ए चालक सञ्चालकहरू हो ! दुष्ट जुकाको सर्वनाश नगरी राष्ट्रको समृद्धि सम्भव छैन । जुकाको मुखमा टिम्मुर हाल्न पुग्ने गरी यसको राष्ट्रिय उत्पादन आवश्यक छ । ढिलो नगरी देशै भरिका कृषकहरूलाई टिम्मुर खेतीतर्फ प्रोत्साहन गर । घातक जुकाहरूको डसाइबाट आजित भएको म चाहिँ बिना अनुदान टिम्मुर नर्सरी निर्माण गर्ने अभियानमा समर्पित भएको घोषणा गर्दछु । 

०७५ बैशाख १८
कलङ्की, काठमाडौं 

narnath@mail.com