खित्का छोडेर भएभरको मुख वायर ठूलो स्वरले हाँसिन्छ भने त्यसलाई अट्टहास भनिन्छ । साहित्यका नौ रसमध्ये स्थायी भाव भएको एक रस । यसका पनि छ भेद छन् । स्मित, हसित, बिहसित, अवहसित, अपहसित र अतिहसित । दिल्लगी, ठट्टा, उपहास, फक्रने वा फुल्ने काम हँसाइमा हुन्छ । त्यसमध्ये प्रस्तुत लेखमा अट्टहासका सेरोफेरोमा चर्चा गर्नु सान्दर्भिक नै ठहर्ला । 

हँसाइ मध्येको एउटा हाँसोको नाम हो अट्टहास । हाँस्ने हँसाउने प्राणी मानव मात्रै मानिन्छ । दाँत ङिच्च त कुकुर, घोडा, गाई, भैँसी, भेडा, बाख्रा, आदि अनेक प्राणीले पार्छन् तर हाँसेको मानिँदैन । हाँस्ने हँसाउने काममा मान्छेको एकाधिकारै भने पनि हुन्छ । मान्छे एक्लै पनि हाँस्छ । कोही हुँदा वा नहुँदा हसाइँमा खासै अन्तर आउँदैन । चाहेमा एउटा मान्छेले सारा दुनिया हसाउन पनि सक्छ । मानव हाँस्छ मात्र होइन रुन्छ र रुवाउँछ पनि । हाँस्दै रुन पनि सक्छ र रुँदै हाँस्न पनि सक्छ । त्यसैले हिन्दी चलचित्र अन्धा कानुनमा एउटा कविले गीत नै लेखे “रोते रोते हास्न सिखो, हास्ते हस्ते रोना” ।

सुल्टो, उल्टो, सब्ल्याँटो, बिब्ल्याँटो, अनेक उपाय अँगालेर मान्छे हाँस्दैन मात्र रुन्छ पनि । हाँस्नु रुनुलाई पनि मान्छेले आवश्यक ऊर्जाको रूपमा स्वीकार्छन् । स्वास्थ्यका ठेकेदारले हाँस्यो– रोयो भने स्वास्थ्य लाभ हुन्छ भन्छन् । पीडाग्रस्त थकित देह रोएपछि हलुङ्गो हुन्छ भने हाँस्दा चाहिँ खुम्चिएर रहेको नसा इन्द्रियहरू फुल्छ, खुल्छ, फक्रिन्छ र सफा राजसी तथा सकारात्मक सोचको विकास हुन्छ । 

स्वस्थ माथको साथ पाइयो भने हर्दम हाँस्दै, फुल्दै फक्रिँदै उत्तरोत्तर प्रगति पथमा लम्किन चम्किन पाइन्छ । त्यसैले सज्जन स्वस्थ मानवहरू हमेसा हाँसी खुसी रहने प्रयत्न गर्छन् । मानव जगतमा मानव स्वभाव मध्ये हासी खुसी रहनु उत्तम मात्र होइन सर्वाेत्तम मानिन्छ । आफू खुसी रहनु अरुलाई पनि खुसी रहन प्रेरित गर्नु नै सकारात्मक सोच मानिन्छ । अतः रमाइलो, व्रेनवास वा माइनफ्रेस गर्न अनेक ठाउँ जग्गा फेरि फेरि हेरि हेरि मान्छेहरू हाँस्न कै लागि भौतािरने गर्छन् ।

रमाइलो उल्लासकै लागि आफ्नै जन्म थलोको यो कुनु र त्यो कुनु गर्दै हासी खुसी रहने अनेक क्रीडा र बाहनाबाजी रचेर करोडौँ स्वाहा पारिराखेका हुन्छन् । स्वाहा पार्नु, गमक्र्याउनु कला हो रहर गरेर हुँदैन । अट्टहास हाँस्नु हसाउनु पनि कला नै हो । कतिलाई हाँस्न इच्छा भएर पनि हाँसो फुर्दैन । हाँस्न जुर्दैन । सारा श्रीसम्पत्ति सिध्याएर भए पनि बाचुन्जेल मान्छे खुसी रहन उद्युम इच्छा राख्छ । हाँस्नु, हसाउनु, रमाउनु, प्रफुल्लित रहन गाइजात्रा, भाइजात्रा, यो जात्रा त्यो जात्रा, चाहिँदा जात्रा, नचाहिँदा जात्रा, ताल, पोखरीमा डुबेर हुन्छ कि कुना काप्चामा कोचिएर हुन्छ, पछारेर हुन्छ कि पछारिएर, लिएर हुन्छ कि दिएर, खाएर हुन्छ कि खुवाएर रमाइलोका खातिर हर हत्कण्डा मान्छेले अपनाउँछन् । 

नेपालमा मनाइने गाइजात्रा त्यसमा पनि नेवार जातिको पेवा जात्राले पीडा, परेसानले फतक्क गलेका हैरान हत्तु थकित देहलाई चकित र चम्काउने काम गर्छ । त्यसैले नेपाली मन गाइजात्रा भने पछि अट्टहास हाँस्न, रमाइलो देख्न, भोग्न पाइन्छ भनेर लुगा लगौटी नकसी दौडिने गर्छन् । यिनै यस्तै रमाइलो, अपत्यारिलो वातावरण र परिवेशले अट्टहास सिर्जना गर्छ । मानवले मानव हितार्थ प्रक्षेपण गरिने अट्टहास मानव बस्ती र मस्तीमा मिल्ने मौलाउने गर्छ ।

धेरै किसिमका हाँसो मध्ये एउटै मान्छेले सबै प्रकारका हाँसो हाँस्न सक्छ । मायालु मुस्कान र मृदु मुस्कानको सम्मीश्रणमा परेर कतिले जिन्दगी सपारेका छन् भने कतिले बिगारेका पनि छन् । तर माया पिरतीको बिजाङ्कुरित गर्नुप¥यो भने अट्टहास हाँसेर हुँदैन । अट्टहाँस हासियो भने पिरती नासियो भनेर जाने हुन्छ । त्यसै पनि हाँस्यो कि नास्यो भन्ने भनाइ छ तर पनि जनाना मर्दानाले मायाङ्कुरित गर्नुप¥यो भने मन्द मन्द मृदु मुस्कानमा मलिन मुहारका साथ आङ्गिक स्वाङ्ले मायाको प्रस्ताव राख्दा लाभदायक र आफू पायक बन्ने सम्भावना बढेर जान्छ । 

अट्टहासका साथ मायाको बेर्ना सारियो भने त्यसले जरा गाड्न सक्दैन । होला सप्रेला, बाँच्ला भन्दा भन्दै जरो मेरो भनेर जाने हुन्छ । त्यसैले अट्टहास ठूलै मास र जमातमा मौलाउने गर्छ । भारतीय चलचित्र सोलेमा गब्बरसिं भन्ने कलाकारले अट्टहास हाँसेर हलका सारा दर्शक नै अट्टहासमय बन्न बाध्य बनाइएकोलाई उदारहणको रूपमा लिन सकिन्छ । 

अट्टहास प्राणीमा सिंह जस्तै भयानक र डरलाग्दो हुन्छ । कतिपयलाई त हाँसोको थर्कन नै गलपासो बन्न पुग्छ । विश्व प्रसिद्ध हास्यव्यङ्ग्यकार चार्ली च्याप्लीनलाई हँसाएर नै श्रीमती मारेको भन्ने आरोप थियो । रावण राक्षसहरू पनि अट्टहासकै उपासक थिए ।

बलबुता, रहनसहन, खानपान, हरेक गतिविधि सामान्य प्राणीको भन्दा पृथक् र अब्बल छ भने मैमत्तुको चरम मातले आक्रान्त पार्दा अट्टहासको फोहरा छुट्ने गर्छ । सामान्य खुसीमा अट्टहास सप्रिँदैन । बेहद खुसीको पराकाष्टमा मात्र अट्टहास मौलाएर आउँछ । ताजा उदाहरणका लागि नेपालमा भरखरै सुहागरात मनाउन वरण गरिएको नेपाल वायु सेवा निगमको दुई वटा वाइड बडी जेट जहाजहरू करिब अड्चालिस अर्ब लगानीमा ल्याउँदा निगमका ठूलाबडाहरू हदैसम्मको लाभ र उदारताको शिखरारोहणको धक्कु लगाउँदै कसैले गर्न नसकेको काम गरियो झैँ गरेर अट्टहास हाँसेको देखियो । नेपालका सञ्चार माध्यमले करिब साढे एक अर्बको घोटला भएको आशंका भनेर समाचार नै फुके ।

राम्रो काम गर्दैमा अट्टहास हाँस्नै पथ्र्याे भने अन्धारबाट मुक्त गर्ने विद्युत प्राधिकरणका कुलमान घिसिङ नहासेरै पछुताए होलान् । मुख्य मुलिले आफ्नो पद प्रतिठाको फुली नै बिर्सिएर सोलेका गब्बरसिंह झै हाँस्नु काम र देश सुहाउँदो थिएन । हसाइको रन्कोमा पूर्णकद कम्पयमान हुने गरी हाँस्दा देशवासीको उपहास र खिलाफको आभाष झल्कियो त्यसैले नचाहेर पनि रैती रन्थनिँदै भन्न बाध्य भए कमिसनको मात ।

कर्मचारीतन्त्रको इज्जत निगमका विमानको स्वाभिमान गिराउने गरेर लाउडादेखि हालसम्मका रमझमले निगमको लाम्टा चुसी चुसी सिध्याउनै लागेको अवस्थामा फेरि अर्बाैको ओइरो खन्याएर घोटलाको पैरो जाँदा निगमका हस्तीहरू मस्ती मस्तीमै मस्की मस्की अट्टहास हाँस्छन् भने देशभक्त नागरिकले अट्टहास पचाउने कि नपचाउने ? लजाउने कि नलजाउने ?

अवस्था अनुसार मान्छेले हाँस्न र रुन जान्नु पर्छ । मधौरु भएका ठाउँमा अट्टहास हासियो भने यसको खुस्किएछ भन्छन् । अतिथि सत्कारका लागि हाँस्नुपर्छ तर त्यसमा पनि अटहासको काम छैन । विदावारी शुभ यात्राका लागि हासेरै बिदा गर्दा वेश मानिन्छ । खुसी पार्न, केटाकेटी रत्याउन, काम पट्याउनलाई पनि हाँस्नैपर्छ । हर हाँसो तौलिएर हाँस्न सक्नुपर्छ । हाँसोले कसैलाई नउडाओस् । हाँसोकै कारण कोही कसैले मर्माहत हुनु नपरोस् । आफ्नै हँसाइले आफै हास्य पात्र बन्नु पटमुख्र्याइ हो । हाँसो जुनसुकै प्रकारको होस् तर सत्मार्ग र सत्कर्ममा मर्म बुझेर प्रयोग गरौँ । 

हामीले हाँस्दै हासिएन भने हाँसो हराएर हाँसो नै लोप भए के गर्ने ? त्यसैले हाँसो, अट्टहासोबाट हरेक कुराको सङ्केत मिल्ने हुनाले यसको प्रयोग र प्रक्षेपणमा सावधानी अपनाउन सकेमा भाग्यमानीको भागीदार बन्दै जिउन पिउन पाइन्छ । त्यसैले हरेक मामलामा अट्टहासोमा अनिकाल छ भने झट्ट हाँसो निकाली आफू माथि पर्ने प्रपन्च रचौँ । 

शिवशक्ति मार्ग, फूलबारी–११
पोखरा, कास्की
फोन : ९८०६६७७५९४