२०४२ सालदेखि हरेक वर्ष प्रदान गरिँदै आएको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ यस वर्ष प्रगतिवादी साहित्यकार, स्तम्भकार एवम् सामाजिक रूपान्तरण अभियानका प्रखर अभियन्ता आनन्दराम पौडेललाई प्रदान गरिने भएको छ ।  तिस वर्ष निजामति सेवामा सेवा गरी पूर्व प्रशासकसमेत रहेका पौडेल साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणका पक्षमा कलम चलाउने र समसामयिक विषयमा व्यङ्ग्यार्थ सम्प्रेषण गर्ने प्रखर एवम् क्रियाशील स्रष्टा हुन् । राज्यसत्ताले मुलुक र जनताका पक्षमा काम गर्नुपर्दछ र समग्र विकृति र विसङ्गतिको अन्त्य गरिनुपर्दछ भन्ने मान्यताका साथ निर्भीकतापूर्वक कलम चलाउने पौडेल मूलतः कवि हुन् त्यसपछि लघु कथाकार, व्यङ्ग्यकार र निबन्धकार हुन् । 

वि.सं.२०१२ साउन ४ गते मकवानपुर जिल्लाको नामटारमा आमा चन्द्रकुमारी र बुबा पं.टीकाप्रसाद उपाध्यायका सुपुत्रका रूपमा जन्मिएका पौडेल विगत चार दशकदेखि नेपाली प्रगतिवादी साहित्यको साधनामा क्रियाशील रहेका छन् । उनको यो अविच्छिन्न क्रियाशीलताका लागि २०७४ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गरिने भएको छ । यो रु.१५,०००।– (पन्द्र हजार) राशिको सम्मान तथा पुरस्कार यही २०७५ भदौ २ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा प्रदान गरिने छ । साहित्य सन्ध्या पुरस्कार तथा सम्मानबाट सम्मानित हुने उनी पैँतिसौँ स्रष्टा हुन् । सन्ध्याका सल्लाहकार वासुदेव अधिकारीको संयोजकत्वमा डा.फणीन्द्रराज निरौला र डा.भागवत आचार्य रहेको स्रष्टा चयन समितिले गरेको सिफारिसका आधारमा साहित्यकार पौडेललाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । 

त्यसैगरी साहित्य सन्ध्याको हरेक महिनाको शृङ्खलामा प्रदान गरिँदै आएको ‘साहित्य सन्ध्या–हरिप्रिया हरि मासिक नियात्रा पुरस्कार’ प्राप्त गरिसक्नुभएका निम्नानुसार व्यक्तित्वहरूलाई पनि सोही दिन सम्मानपत्र प्रदान गरिने छ । स्रष्टा छनौटका लागि राम विनय, बलराम अधिकारी, प्राज्ञ श्री नर्मदेश्वरी सत्याल, देवकी के.सी., अच्युत घिमिरे र डा.सावित्री श्रेष्ठ रहेको समिति बनेको थियो ।        
स्रोत : राम विनय