आजभोलि देशको मुहार समाचारमा हुन्छ ।
दोषी छुट्छ न्याय आफैँ कारागारमा हुन्छ ।

साथ दिएन समयले भन्दै रोयो साथी
समय त घडी होइन, व्यवहारमा हुन्छ ।

पाइलैपिच्छे लक्ष्य फेर्दा भेटिँदैन टुङ्गो
खति उसकै हुन्छ प्यारा जो हतारमा हुन्छ ।

पत्रपत्र मुखुन्डोमा बेरिँदै छ मान्छे
अभिभावक स्वयम् अचेल बलात्कारमा हुन्छ ।

देशका लागि लडेँ भन्थ्यो सम्झी इतिहास
घरीघरी उसको नजर त्यै भन्सारमा हुन्छ ।