मलाई आजकाल माला फोविया भएको छ । माला फोविया रोगका लक्षण विविध छन् । यसले समाजका सम्बन्ध सूत्रहरू चुँडाउँछ ।  कुरा नघुमाइ भनूँ, यस रोगको मूल लक्षण कसैले माला लाएको देख्नासाथ अतालिन थाल्नु हो । यो रोग लागेपछि अरुका खुसीमा सहभागी हुन ज्यादै अफ्ठ्यारो पर्छ । आफूलाई लाइदिन कसैले फूलमाला लिएर आयो भने पनि डर लाग्छ । डर लाग्ने मात्र होइन खतरै हुन थाल्छ । बबालै हुन थाल्छ । यो समस्या पनि भनिसाध्य छैन । उठेर भने बतासले लाने, बसेर भने कसैले नसुन्ने । 

मलाई यो रोग लाग्नुको कारण खुब खोजियो । यो अस्पताल त्यो अस्पताल कहाँ चाहिँ पुगिएन । विदेशका अस्पताल पनि चहारियो । पुराना नयाँ सबै बैद्य पुकारियो । तिर्नुसम्म रकम तिरियो । कति तिरियो अहिले कुरै नगरुँ । धामीझँक्री र विजुवा पनि पुकारियो । काला बोकाको हत्या गरियो । काला कुखुराका घाँटी छिनाइयो । लामा र ज्योतिषी पनि पूजियो । लड्डु र पेडा डालाका डाला बाँडियो । खोज्दै जाँदा नेताले लाएको मालामा गएर अड्कियो । 

मलाई यो विराम लागेका बेला मेरो देशमा चुनावको नतिजा घोषणा हुँदै थियो । टोलमा विजयी नेताहरू माला नै मालाले पुरिएका देखिन्थे । त्यसै बेला मेरा हजुरबा गाउँबाट पशुपति दर्शन गर्न भनेर काठमाडौँ आइपुगे । हजुरबालालई पशुपति लिएर जानु पर्यो भनेर गएँ । फुलमाला किनेर शिवजीलाई चढाउँ भनेर खोजी मर्दा कुनै पसलमा माला थिएनन् । माला त के फूलका थुँगा पनि थिएनन् । त्यसै पशुपतिनाथका अगाडि गएर के दरिद्री देखाउने भनेर पारि स्लेसपान्तक बनमुनि गएर पशुपतिनाथ र आर्यघाटका दृश्य हेर्यौँ । त्यसै दृश्यले असर गर्यो कि जस्तो लाग्छ ।

आर्यघाटमा लहरै सात दशवटा लास पोलिँदैथिए । ती लासमा पनि मान्छेले माला चढाइरहेका थिए । घाटेहरूले माला झिकेर झ्वाम्म पानीमा फाल्दा रहेछन् । माला पानीमा फस्नासाथ केही ठिटाठिटी पौडिएर गएर ती माला अँगालो हालेर कुद्दा रहेछन् । बाले सोध्नु भयो तिनीहरूले त्यो माला कता लगेका । मैले बाको कुरा बुझेर जवाफ दिन नपाई छेउमा उभिएको अर्को व्यक्तिले जवाफ दियो, अब त्यसले पखालपुखुल पारेर पर बेच्ने पसलमा पुर्याउँछ । उता चुनाबको बेला छ कुनै नेताका कार्यकर्ता आएर गाडीका गाडी उठाएर लैजान्छन् । त्यसको खर्च नेताले नै गर्छन् । आजका जमानामा लासलाई त मान्छेले किनेर माला लाइदिँदैन ।

यो कुरा सुन्नासाथ बाले मुख बिगार्दै भने । छिछिछि । मोराहरूले लासमा लाएको माला लाउँदा रहेछन् । त्यसो र पो देश विकास गर्न नसकेका । अब आइन्दा काठमाडौँमा माला किनेर नलाउनू । यस्तो अशुद्ध माला अरुलाई पनि नलाइदिनू । अब पशुपतिको दर्शन गर्न आउँदा पनि मालाविनै आउनू बुझिस् । लासमा लाएको माला पुन जीवित मान्छेका गलामा परेपछि त बर्बादै भो नि । इदंभ्रष्टं उदं भ्रष्टं बुझिस् । 

म त्यसैदिन बाको कुराले झस्किएँ । आफूले तिहारमा लाएका माला सम्झिएँ । मन्दिरमा चढाएका र लाएका माला सम्झिएँ । कुनैकुनै कार्यक्रममा आयोजकहरूले सम्मान स्वरुप लगाइदिएका माला सम्झिएँ । कतैकतै सम्मान पाउँदा लाएका माला पनि सम्झिएँ । सम्झँदा सम्झँदै त्यसै भाउन्न होला जस्तो भएर आयो ।  त्यसै सोच्ता सोच्तै लड्न लागेँछु । बाले टाउको समाएर माडमुड पारे । नआत्ति नाति भने । धैर्य गर् बाबै भनेर सम्झाए । सम्झाउँदै भने यसरी मान्छे पोलेको हेर्दा केही दोख लाग्यो होला ? त्यसबेला मलाई मान्छेको भूतको दोख लागेको रहेनछ । त्यसै दिनदेखि मालाको दोख लागेको रहेछ । त्यसपछि माला लाएको मान्छे देख्यो कि अतालिन थालिहाल्छु । अगुल्टाले हिर्काएको कुकुर बिजुली चम्कँदा तर्सन्छ भन्थे नि । हो त्यस्तै भयो भन्या । 

पशुपटिबाट फर्किएर घर आयौँ । घर आउँदा त विजयी जनप्रतिनिधिहरू मालै मालालेपुरिएर आँगनमा आइरहेका । कसले जित्यो भन्ने पत्तै नपाइने । सबै मालाले पुरिएका । त्यसमाथि प्रदेश सभा र प्रतिनिधि सभाका उमेद्वारलाई एउटै ठूलो मालाले सिक्रीले जस्तो बाँधिएको । मालाकै उपरीमाथि थुपरी क्या । यसो माला अल्टा पल्टाइ मुख हेरेर चिनेँ । जसको मुख पल्टाएर हेर्छु उही अँगालो मार्न आउँछन् । आफू सिकसिको लागेर त्यसै ढलूँला जस्तोे ।  फेरि मलाई भोट दिएन छ भन्लान् भनेर यसो समालिएर बसेँ । भाउन्न भएर आए पनि घरका भित्ताको आड लाएर किच्च हाँसेर उभिइरहेँ । उनीहरूकै कार्यकर्ता केकेकेके भन्दै थिए । उनीहरू पनि केके भन्दै थिए । आफू बल्ल होसमा आएर विचार गरेँ, यी लासमा लाएका माला पुन लाउने मोराले के उन्नति गर्लान् र ? बा पनि भन्दै थिए अघि पशुपतिमा माला नपाइनुको कारण त यिनीहरूले लाएर पो रहेछ । त्यो खोलामा फालेको लासले लाइसकेको माला पनि लाए है यी मोराहरूले । आफैले भोट दिएका मान्छेको अपमान होला भनेर म केही बोलिनँ । 

हो, त्यस दिनदेखि माला लाएको मान्छे देख्यो कि पशुपतिको लास सम्झिहाल्छ । माला भन्ने कुरा मनै पर्दैन । जैविक रुपमा माला लाउनु फूलको हत्या गर्नुहो । माला चाकरीको अर्को रुप पनि हो । मैले टोलमा हेरेँ देखेँ । जजसले भोट नदिएका प्रतिनिधिले जिते तिनीहरू तिनीहरूले हतपत माला किनेर लगाइदिए । माला किन्नेमा तस्कर, दलाल, भ्रष्ट,गुण्डा र ठगहरू अगाडि थिए । कामचोर, र बलात्कारीहरू थिए । कामचोर ठेकदार, छिमेकी पिरा, समाज पिरा, पूर्वसत्तासिन यस्तै थिए । चरित्रहीन, इमानहीनहरू थिए । तिनीहरूको पैसाले किनेको मालाले लाउनेको भलो होला भन्न सकिँदैन । बरु कुभलो नै होला । 

त्यही मङ्सिरमा मेरो विवाहको कुरा चल्दै थियो । बिबाह अगाडि गरिने फूलमालाको डरले मैले विवह माघमा गरुँ भने । मङ्सिर गए पनि माघ लाग्न  समय लागेन । पुस फासफुस माग आइहाल्यो । मालाको कुराले रातभरि निद्रै लाग्न छोड्यो । फेरि फूलमालाको कुरा आयो । प्रेमीकासँग माला फोविया भयो भनेको मात्र के थिएँ अर्कैसँग सुइँकुच्चा ठोकी । बल्ल केही राहत भयो । विवाहको तयारी गरिरहेका साथीहरूले विवाहको कुरा गरुन्जेल त रमाइलै लाग्थ्यो जब फूलमालाको कुरा आउँथ्यो तब त र्सिइहाल्थेँ ।  उनका अगाडि पनि पर्दिन थेँ । जन्त जाउन्जेल रमाइलो लाग्थ्यो जब स्वयंबरका नाममा केटी माला लिएर अगडि बढ्थी म भागिहाल्थेँ । 

बेहुली बनेर आउँछु भन्ने मालाकै कारण छोडेर गई । यसपछि मलाई मालाफोविया भएको पक्का भयो । म एउटा राम्रै पाटीको असल कार्यकर्ता भए पनि यसै कारणले ठूला नेताका छेउछाउ पर्न सकिनँ । ठूलालाई माला किनेर लिएर जानु पर्ने । आपूले नलगे पनि अरुले लाइदिएर हैरान पार्ने । पाटीमा आफैले माला किनेर गाडीभरि बोकेर कार्यक्रममा गएर त्यहाँका कार्यकर्तालाई लगाइदिन लगाउनु पर्ने । भोट माग्न जाँदा पनि आफैले किनेको माला नलाए भोटै नपाइने । चुनाब जितेपछि पनि ट्रक ट्रक माला किनेर अरुलाई लाइमाग्नु पर्ने । त्यसो भएपछि चुनाबमा उठ्ने पनि आँट आएन । यता कवितासविता लेखेर साहित्यकार बनिटोपलेँ । साथीभाइका संस्थाले सम्मान गर्ने कुरा गरेपछि त्यो पनि छोडिदिएँ । आलोपालो माला लगाइ खेलिएन भने साहित्यकारै नभइने भन्या । जस्ले मालालगाइ खेल्यो ऊ लेखक कहलायो जसले माला लगाइखेलेन ऊ लेखकै कहलाएन ।  पत्रकारिता गरिहेरेँ उही समस्या आइलाग्यो । जसका बारे समाचार लेख्यो उसैले बोलाएर माला लाइदिने । त्यो पनि छोडेँ । एकदुई गीत गाइटोपलेँ । संगीतकार र गायकका रुपमा जतासुकै सम्मान हुने डर भयो । त्यो पनि छोडेँ । मलाई माला भनेपछि साँच्चै एलर्जी भयो । 

बरु मलाई कात्तिकमा लाइने माला राम्रै लाग्छ । त्यसबेला काग र कुकुरलाई पनि माला लाइन्छ । गाई र गोरुलाई पनि माला लाइन्छ । यस महिना सबै भन्दा मनपर्ने पक्ष गल्लीका कुकुर पनि माला लाएर हिँड्छन् । मलाई ती माला देखेर चाहिँ तयति शङ्का लाग्दैन । यो पक्कै पनि कुकुरको घ्राणशत्तिप्रतिको मेरो विश्वास नै हो । त्यस कुकुरले लासलाई लगाएको माला भए सुँघेरै थाहा पाइसक्ने थियो । घुसखोरी र भ्रष्टाचारीको माला पनि पहिल्याइ सक्थ्यो । गाई गोरुले लगाइदिएको एक दुई घन्टा नबित्तै मालाको भोजन गरिसक्छन् । यो पनि मलाई रमाइलो लाग्छ । यी पशुले लाएका मालामा अर्को पनि विश्वास हुन्छ । कम्तिमा ती माला उनीहरू आफैले किनेर अरुलाई लाइमागेका होइनन् । यति हुनु भनेको पनि ठूलो श्रद्धाको कुरा हो । कागले मालै लाएको देखिँदैन । कसैकसैले पासैमा पारेर लाइदिए भने पनि उड्ने क्रममा बाटामा खसाइदिइहाल्छ । फेरि भाइतिहारका दिन उही फोविया दोहोरिइहाल्छ । आफूले माला नकिने दिदी बहिनीले लाइदिने होइनन् । आफूलाई माला किन्न पनि डर, लाउन पनि डर । भाइटीकाको दिन आयो कि लागिहाल्छु जुवाडेहरूका खालमा रमिता हेर्न । 

माला फोवियासँगै फूल टिपेको देख्नासाथ आँसु आउने अर्को रोग थपिएको छ । यो रोगको नाम विज्ञले पनि पत्ता लाउन सकेका छैनन् । फूल टिपेको देख्नासाथ मुटुनै चुँडेजस्तो लाग्छ । त्यो फूलको हत्या भएको देख्न थाल्छु । रातो फूल भए रगत बगेजस्तो देख्छु । सेतो भए फिँज काडेर प्याकप्याक गर्दै डालाडालीमा र डोकामा छट्पटाएको देख्छु । ती फूलका हत्याराहरूलाई गएर चिमोटूँझैँ लागेर आउँछ । सुरिएर छेउमा पनि पुग्छु तर उनीहरूलाई देख्नासाथ मन डराएर आउँछ । जसरी गएको त्यसरी फर्किएर घर आउँछु । तीन दिन र तीन रात लगातार टाउको दुखिरहन्छ । त्यसयता मालीका छेउछाउ पर्न पनि बन्द भएको छ । 

केही साथीले नक्कली माला लाइदिन्छौँ पनि भने । कुकुरतिहारमा टेस्ट भएकै माला लाइदिन्छौँ पनि भने । कुकुर तिहारकै दिन कार्यक्रम गरेर लाइदिने कुरा पनि गरे । आफूलाई कुन माला लाउँदा डर लाग्दैन त्यो लिएर आइज हामी लाइदिन्छौँ पनि भने । माला नभए खादा मात्र लाइदिन्छौँ पनि भने । मेरालागि माला भन्दा खादा डरलाग्दो । खादा भन्दा दोसल्ला वा बर्को डरलाग्दो । खादा भन्ने वित्तिकै उही लासकै खादाको याद आइहाल्छ । त्यसमा फेरि विदेशी गन्ध आएर सकसक लागेर लाउनै सक्तिनँ । यति सक्सकाउँछ कि सारा विदेशी हस्तक्षेपले मेरै थाप्लो थिच्न थाल्छ । त्यहाँ छापिएका चित्रले चिमोट्छ । मन्त्रले लखेट्छ । म त्यसै निसासिन थाल्छु ।  पस्मिनाको बर्को भए लाउँदो हुँ त्यो आफू किनेर कसैलाई लगाइदिनू भन्न सक्तिनँ । अनि पो त म यसरी केही बन्न नसकेर असफल जीवन बाँचेको नत्र त चकाचकै हुने थियो नि गाँठे । कसैको आहार कसैको विष भनेको यही त होला ? अरु लाउन पाए मख्ख पर्छन् आफू न राम्रो देखिन्छ माला न लाउन सकिन्छ खादा । 

मलाई कार्यक्रममा आएन नभन्नु, त्यहाँ माला लाइन्छ र त म आउन्नँ । मलाई विवाह, व्रतबन्ध, बेलविवाह, मगनी, ढोगनी केहीमा नबोलाउनू, त्यकाँ माला लगाइन्छ र म आउन्नँ । सम्मान, अभिनन्दन, बधाई, धन्यवाद कुनै कार्यक्रममा ननिम्त्याउनू, त्यहाँ प्रायोजित माला पैह्रयाइन्छ र त म आउन्नँ । बरु कुकुरतिहारमा बोलाउनू । कुकुरले लाएको मालामा विश्वास लाग्छ । त्यहाँ मला लाइमागिँदैन गलाइन्छ र नै मलाई रमाइलो लाग्छ ।  माला आतङ्कबाट मुक्ति मिल्छ । मावली बा कसैको फर्मास कसैको सर्वनाश भन्थे यही त होला । 
rshubechchhu11@gmail.com⁄9841453139