देश र पेटको चिन्ताले आक्रान्त छन् सबै । के गर्ने कसो गर्ने भन्दै बाटो बिराएको जीव झै छट्पटाइ रहन्छन् । आफ्नो लक्ष्य र गच्छे अनुसारको देश र पेटको सेवा सबैले गरेकै हुन्छन् । स्वदेश सिहार्दा होस् या विदेश चहार्दा हर्दम जन्मथलो र पापी पेटको माया उर्लिएर आउँछ । पापी पेट यस अर्थमा पापी पेटकै कारण मानव घर छोडेर हिँड्न र व्यवहारसँग भिँड्न बाध्य हुन्छ । बुद्धिको विर्काे जति परिपक्को हुँदै गयो त्यति नै अक्कल उग्रिँदै जान्छ । बुद्धिको विर्काे उग्रिएपछि देश र भेष प्यारो लाग्छ । देश गुनको भेष सबैलाई वेश लाग्छ । नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल गुन्यु चोलो खोलो बगेझै सदा जीवन्त रहन्छ । जनमानसले रुचाउन या नरुचाउन तर आफ्नो देशको पहिचान स्वाभिमानको लागि भेषभूषा धारण गर्ने गरिन्छ । आफ्नो देशको स्वाभिमान मन मुटुमा देशको माया लुकेर बसेको छ भने कसैले पनि डगमगाउन दिँदैनन् । भेष, भाषा, बोली मनखोली व्यवहारमा ल्याउँछन् । मौलिक पारा, परम्परा जुन ठाउँ जता भौतारिए पनि जति हण्डर थिचोमिचो, हैरान हत्तु भए पनि संरक्षण र जतन खातिर मरिमेट्छन् । गरबी, अभाव, अप्ठ्यारो भए पनि रीतिस्थिति, परम्परा, भाषा, भेष चट्ट बिर्सन मन मान्दैन । उल्लेखित विकासे बहिनीमा पनि देश भक्ति र पेट भक्ति टड्कारो रूपमा अगाडि आएको छ । उनका यावत चाल ढाल देखेर तत्क्षेत्रका प्रायः सबै आरिषले भुतुक्क, फतक्क गल्ने गर्छन् । मुख्य मुद्दा उनको समावेशी जवानीबाट प्रायः सबै बिटुलो हुन आतुर हुन्छन् । यस सन्दर्भमा यहाँ छेउ कुनो जिल्याएर उजिल्याउने प्रयत्न गरेको छु ।

उमेरको उचाइसँगै प्राणीले विपरीत ध्रुवलाई आफू तर्फ आकर्षित गर्नुलाई अनर्थ मानिँदैन । यो क्रिया चराचर जगत्का समस्त प्राणीमा लागू हुन्छ । विकासे बहिनी यसैको सेरोफेरोमा अर्थोपार्जन खातिर मरिमेट्छिन् । जे होस् सिस्टम, सिप, कार्यदक्षतामा सिद्ध हस्त तथा पारङ्गत भएपछि ज्यानलाई जस्तो किसिमले मस्त र व्यस्त राखे पनि मिल्दो रहेछ । बिहानीको मिर्मिरे, भालेको डाँको र खैनीको फाँकोसँगै विकासे बहिनीको काम सुरु हुन्छ । अँगेनामा आगो फुक्ने प्याच्च पुच्च खैनी थुक्ने र चौबाटोमा ग्राहक (अन्नदाता) ढुक्ने उनको दैनिकी हो । विषम परिस्थितिमा पनि असिना पानी नभनी कोदोको पसिनाबाट निकालिएको उन्नत प्रविधिको झोललाई खोल ओढाएर अँध्यारो कक्षमा भण्डारण गरेपछि उनको विकास, उन्नति उद्देश्य र लक्ष्यका असली पाटा र बाटा उग्रन थाल्छ ।

उनले इलम गरेको समाजमा आमा समूहको चर्कै खबरदारी चल्छ । त्यस टोलका पुरुषहरू राज्यको फलोअप गर्ने भएर मात्र पुरुष प्रधान भएका हुन् तर आमा समूहको चर्काे दबदबा रवैया चल्ने तागत र क्षमतालाई हेरेर भन्ने हो भने महिला प्रधान समाज भनेर ठोकुवा गर्न मिल्छ । घर ज्वाइँ नराखेका घरै छैनन् भन्दा पनि फरक पर्दैन । मान्छेहरू कमाउनेको दास बन्न हिनताभाष नगर्दा रहेछन् । त्यसैले भनेका होलान् “अल्छीलाई बल्छी माझीलाई जाल, मर्दको दुवाली माछीको काल” टोलका सबैको हाली मुहाली प्रायः एकै खालको छ तापनि विकासे बहिनीमा ग्राहकलाई आकर्षित गर्ने शक्ति र सामथ्र्य अरूको भन्दा अब्बल र डब्बलै मान्नुपर्छ । अरूलाई पेट भराएर सन्तुष्ट गराएर आफू समेत प्रशन्न हुने अद्भुत क्षमता उनमा सुरक्षित भएकै कारण उनलाई देखेर जल्ने, गल्ने ज्यादै छन् ।

जाँगरकै कारण उनको दिनचर्या सहज र सरल छ । आफ्ना सम्पर्कमा आउने अतिथि ग्राहकका लागि ग्राहकले भन्दा बढी मरिमेट्छिन् । यहाँ खोलो धाउँछ कि तिर्खा धाउँछ भन्दा खोलो धाउने अवस्था छ । साँच्चै धाउने त तिर्खाले हो तर खोलै तिर्खाएपछि कस्को के लाग्यो ? खुट्टा भए जुत्ता फेरि फेरि लगाउन पाइन्छ भन्ने मान्यता राख्दै हाँसी खुसी र उमेरको मस्त फक्रिएको सुवाषले मन्द विष लागेझैँ आफ्नै पाराले लठ्याउने पगाल्ने पाइन र ढाल्ने क्षमता उनमा सुरक्षित छ । साँझ बिहान हर प्रहर आना, जाना, खाना जारी रहन्छ । व्यवसायमा नम्र व्यवहार बोली चाली पनि नभई नहुने आधारभूत गहना हुन् भन्ने कुरा विकासे बहिनीबाट मान्नु र जान्नु पर्छ । 

हामी नेपाली दाजु भाइ दिदी बहिनीहरू कमाउन, पैसा समाउन, जागिरै खानु पर्छ भन्ने भुत्ते सोच राख्छौँ तर साँच्चै कमाउन पैसा समाउन जागिर होइन बन्दाको भए पनि धन्दा गर्नुपर्छ । 

जागिरका लागि स्वदेशलाई लात मारेर परदेशलाई अँगालो हाल्दैमा आफू मात्र होइन आफ्ना तिनै पुस्ताको हार हुन्छ । व्यापार व्यवसायको पुच्छर समाइ राख्यो भने भोलि आफ्ना सन्तान दर सन्तानलाई दुहुनु गाई हेण्डओभर गर्न पाइन्छ । जागिर खाने होइन जागिर खुवाउने सोच राखेर काम गर्नुपर्छ । परदेशमा पैसाको बोट हल्लाएर, टिपेर, ल्याउँछन् भन्ने सोचेर हामी दश पास भएपछि सन्तानलाई विदेश धकेली हाल्ने मानसिकताले ग्रस्त छौँ । विकासे बहिनीले आठ पास गरेका दुइटी नानीलाई आफ््नैमा रोजगारी दिएकी छन् । धन्दा के हो भन्नु भन्दा कमाएर बाँच्नु पर्छ त्यसै नाच्नु कम्बर भाँच्नु कसैको हितमा हुँदैन । विकासे बहिनीलाई पनि विदेश जाउँ भन्ने कति थे कति । तर उनले अरूको हात र अर्काको रातमा विश्वास गरिनन् । आफू आफ्ना भाइ बहिनी आफैसँग च्यापेर पनि थापेर खाकी छैनन् गरेरै खाकी छन् । अहिलेको फेसन विदेश पेल्न वा ठेल्न सकिएन भने अधनामा गनिनु र नामर्द भनिनु पर्छ । जुन निन्दनीय र अक्षम्य छ । जसलाई सहने क्षमता भगवान्ले पनि दिँदैनन् ।

जिउन पिउन सङ्घर्ष गर्नुपर्छ । सात्त्विक सङ्घर्ष, तामसी सङ्घर्षले तनावमा परिन्छ त्यसैले सङ्घर्ष सात्त्विक हुनुपर्छ । जन्मभूमिमा सङ्घर्ष गरेर हात मुख जोड्न धौ धौ पर्ने असक्त कर्महाराहरू सशक्तको पाइन देखाएर विदेश जाने माइन तयार गर्छन् । पराइ मुलुकमा कस्ले कठै भन्छ विदेशी स्वाद चाख्न चोक्टा खान जान्छ्न र झोलमा डुबेर मर्छन् । त्यस्ताले के गर्छन् । कुकुरले नपाएको नझेलेको नखेलेको दुःख कष्ट बुहार्तन बेहोरेर आउँछन् । त्यसो त कुकुरकै कुरा गर्ने हो भने अहिलेका कुकुरहरू मान्छे भन्दा सुखी छन् । मूल्य पनि कुकुरकै ज्यादा छ । सुविधा भोग पनि मान्छेले भन्दा बढ्तै गरेका हुन्छन् । सुत्ने भुक्ने र विष्ट्याउने मात्र काम हुँदा पनि टन्न मासु भात भकुर्छन् । मान्छेले कमाउन, रमाउन, समाउन, सरसफाइ, धोइधाई, खानपिन सारा सर्दाम जुटाएर पनि कुकुरलाई पकाएर घिचाउनुपर्छ । मानवलाई उमेर अनुसारको सिहार सुसार गर्नै पर्छ । आगन्तुक पाहुनालाई मान मनितोले लुथ्रुक्कै पार्नुपर्छ । खुवाउँदै, पियाउँदै, हाँस्दै हँसाउँदै बिदा गर्नुपर्छ । पाहुना प्रतिको मान मनितो बिसको उन्नाइस भयो भने अनुहार मेघ गर्जन लागेको बादल झैँ हुन्छ । आउ, जाउ सारा सम्बन्धमा चट्याङ पर्न सक्छ । त्यसैले मान मनितोलाई मान्छेले झुक्किएर पनि ख्याल ख्याल गर्दैन । नेपाली कुकुर पनि यही रन्कोमा परेर बडो विलासी बन्न बाध्य छ । कुकुरलाई सुविधा दिए पनि नदिए पनि हेला होचो गरे पनि उसलाई उस्कै जुनी प्यारो लाग्छ । कुनै कुकुरले पनि आजै ठहरै मरेर भोलि नै मान्छेको जुनी पाइहालुँ भन्दैन । जुन प्राणी जस्तो छ त्यसैमा रमाइ राखेको हुन्छ । कुनै प्राणीको पनि ज्यान सस्तो र हेला हुँदैन । चाहे नालिको किरा होस् या उपियाँ, उडुस, हात्ती, विच्छी, माकुरो, कुखुरो, म्याउसुलो, गड्यौला जे सुकै प्राणी होस् मान्छेलाई आफ्नो ज्यान जति प्यारो लाग्छ अरू प्राणीलाई पनि उत्तिकै प्यारो लाग्छ । ज्ञात अज्ञात आआफ्नो ठाउँबाट सबै प्राणीले योगदान दिइराखेका हुन्छन् । जस्तो कुकुरले भुकेर, सुँगेर चोर पक्रिन मद्दत गर्छ । सन्तान वृद्धि हेतु मौरीले मह जम्मा गर्छ । मान्छेले मीठो तत्त्व खाओस् भनेर मौरीले मह दिएको होइन बरु आफ्नो वंश वृद्धि हेतु मरि मेटेको हो । दुष्ट मतिले ओतप्रोत मान्छेले मौरीलाई उठिवास लगाएर मौरीको मह चोरेर, हडपेर, खाइन्छ । वास्तवमा मह नै मौरीको श्रीसम्पत्ति हो । मानवको श्रीसम्पत्ति कसैले लुट्यो, सित्तैमा खायो खोस्यो हडप्यो भने कति दुःख लाग्छ ? गोब्रे किराका लागि गोबर नै सर्वस्व हो । माछाका लागि पानी नै सर्वस्व हो । बाँच्न, पेट पाल्न, जिउन, पिउन, जुनी कटाउन प्राणी केही न केहीमा रत्तिराखेको हुन्छ । केही न केही काम गरेर नबस्ने हो भने प्राणी मध्येमा मन्छे नै सबभन्दा पहिला बौलाएर बुर्कुसी मार्दे हिँड्थ्यो होला । केही न केही गर्नु र अन्न दाताको शरण पर्नु बाँच्न र बचाउनका लागि विकासे बहिनी हाड घोटिरहेकी छन् । दुःख, कष्ट, आपत, विपत जे परे पनि मौरी फेरि त्यही घारमा आएर घरजम गर्छ । स्वदेशको कुरा पनि त्यही हो । अर्काे देशमा चर्न जान्छन् तर मर्न चाहि स्वदेशमै आउँछन् । आफ्नो भनेको आफ्नै हो । “पोले पनि घामै प्यारो कुटे पनि आमै प्यारो ।” व्यथा सारो गारो भए पनि विकासे बहिनीको देश प्रेम, पेट प्रेम, जाँगर, पारा तथा नारा देखेर सारा भुतभुते खेल्छन् । छटपटाउँछन्, आरिसले जल्छन् । तब त भन्ने गर्छन् “रिसखा आफू बुद्धि खा अर्काे” “कुकुर भुक्तै गर्छ हात्ती लम्किँदै गर्छ” ।

सचेत प्राणीले एउटै कुरामा दिलो ज्यान र ध्यान दिएर लागिपरेपछि सफलता पोल्टामा पस्दो रहेछ । विकासे बहिनी जिरोबाट हिरो हुनुका केही मूल मन्त्रहरू हुन् मेरो कर्म, मेरो धर्म, मेरो चर्म (मान्छेहरू छालाको पछि पनि लाग्ने भएर) मेरो देश, मेरो पृथ्वी, मेरो जन्मथलो, आदि तन्त्र मन्त्र मन मन्दिरमा फलाक्दै अँजुली भरिको पानी बडो प्यारोसँग धारो खसाल्छिन् । दैनिक जसो देशका नाममा जलार्पण पछि मात्रै आफूले नि जलपान गर्छिन् । आफूले जे खायो भगवान्लाई त्यही चढाउनु उनको लिडे ढिपी हो । रक्सि खाए रक्सी नै चढाउने, मासु खाए मासु नै चढाउने, खैनी खाए खैनी नै चढाउने, कस्तो दुर्लभ प्रस्तुृति । जे खाइन्छ त्यही चढाइन्छ भन्ने मूल्य मान्यताको अरूले पनि अनुशरण गरेका छन् । जसरी बुद्ध धर्मको अनुशरण गर्नेहरूले टुप्पी छिनाए । टन्न अघाएर पूजापाठ गर्न थाले । उनको धर्म, कर्मको करामत देखेर कन्जुस, कामचोर ब्राह्मणहरू सजिलै बल्ड्याङ खान्छन् ।

कतिपय सूर्याेपासकहरूलाई आफूले खाए खेलेको, पेलेको, टेकेको, देखेको, भोगेको, ढोगेको पृथ्वीलाई नै जलापर्ण गरौँ भन्दै अर्ति दिन पनि पछि पर्दिनन् । नजिकको तीर्थलाई हेला गर्ने हो भने नजिकको म जस्ता महिलालाई पनि हेला गर्नु पर्छ । नजिकको महिला चाहि किन प्यारो ? महिला पनि साक्षात् देवीका रूप हुन् । यिनलाई खेलौना र बिलौना गर्ने साधनको रूपमा मात्र लिनु भएन । विकासे बहिनीको अनुरोध आग्रह कतिपयले माने, कतिले जाने, र कतिपयले ठिकै पनि ठाने हुन् । तर निष्कपट भन्नु पर्दा उनको यावत् कृत्य कर्म एक अर्थमा जायज र मनासिब मान्नु पर्छ । आफू बस्ने धरालाई नै जलको धारो नदिएर कता पन्द्र करोड माइल टाढाको सुर्यलाई किन जलधारा दिने ? न सूर्यलोकमा प्राणी, न नर नारी, न मानवबस्ती न मानव मस्ती, न खेतीपाती न सागपात, न हिउँ न पानी, न अन्न, न बोट, न बिरुवा, न कुवा न धारो, केही नभएको खण्डहर । न लोकले माया पिरती लगाउँछन् । न सूर्यले नै जलको छिटो पाउँछन् । सन्तान दरसन्तान कसैले देख्नु बाहेक टेक्नु नपर्ने गरमागरम अग्निपुञ्जलाई किन चढाउने जल ? के पाइन्छ फल ? नपाइने, नहुने कुरामा किन गर्ने बल ? शान्त शितल अक्सिजनले ओतप्रोत पृथ्वीलाई नै चढाउनु पर्छ जल, बल्ल हात लाग्छ फल । 

सानैमा टुहुरो बनेर बेहोर्नसम्म बुहार्तन बेहोरेकी विकासे बहिनीले सामाजिक ठक्कर र टक्कर बराबरै झेल्नु परेको छ । गरेर खाएको देखेपछि रिस, डाहा गर्नेको अनिकाल पर्दैन । पाइलै पिच्छे खुट्टा तान्ने तन्नेरी बृद्ध सबै ओहदाका आआफ्नो बुता अनुसार कम्मर कसेर घुँडा धसेर लागि पर्छन् । तै पनि पढाइ, लडाइँ सबै धान्दै मान्दै भाइ बहिनी र आफू समेतले साँवा अक्षर जानेर सिंगो गाउँलाई ल्याप्चे मुक्त गाउँको रूपमा चित्रण गर्ने योगदानका लागि पनि विकासे बहिनीलाई मान्नै पर्छ ।

समय गुज्रिदै गर्दा उद्देश्य र लक्ष्य अनगिन्ती भए पनि जीवन काट्ने सम्पत्ति साँच्ने, दुःख सुखमा नाच्ने, उद्युम इच्छाका कारण उच्च नश्लको वरको खोजीमा गोजीमा भएको सुकोदाम हाम पार्दै भौतारिँदा भौतारिँदै दुर्भाग्यवश उच्च स्तरीय नश्लधारी नर सरसंगको सरसंगतसँगै रङ्गेहात पक्राउ परेर ठानाको खाना खाँदा पनि विस्मत मानिनन् । उनको कदको हद ज्यादै चित्ताकर्षक भएका कारण ठानाको दाना धेरै धोकी राख्नु नपर्ने उनको जादुमय जिन्दगीलाई मान्नैपर्छ । 

बिकासे बहिनीलाई अपराधीलाई झै हतकडी र छडीको स्वाद चखाउँदै कानमा समाएर ठानामा कोच्दा र मुक्त गर्दाका बखतको लिखतको आंशिक अंश प्रस्तुत गर्नु सान्दर्भिक नै ठहर्ला ः कल्कलाउँदो उत्ताउलो उमेरमा जाउलो पकाउन छोडेर बेहुलो खोज्दै हिँड्ने बिकासे बहिनीलाई अचानक आइलागेको कुरकुरे बैंसको बज्रपात सहँने शक्ति ईश्वरले प्रदान नगरेका कारण आपत्तीजनक अवस्थामा ओछ्यान मज्जाले मिलाउँदै गर्दा सुरक्षाकर्मीको बक्रदृष्टि पर्न गएको हुनाले विकासे बहिनी जवानी, देशप्रेम, विकास प्रगति प्रेम, लगायत अगणित प्रेमले आक्रान्त भए पनि उद्यम व्यवसायमा अहोरात्र व्यग्र एवम् व्यस्त, मस्त, रहँदा रहँदै बद्मासको हुलमा फुल खोज्ने भन्दा भन्दै काँडो परेको र महीमा भाँडा माझ्ने लालाबालाको चाला सालाखाला सन्तोषजनक नभएका कारण पुनः इलम व्यवसाय सम्हाल्न थुना मुक्त गरिएको छ । थुनामुक्तलाई दुना सोज्याने संकेतको रूपमा नलिनु होला साथै मुक्तलाई हलका रूपले लिएर उन्मुक्त हुँदै चार पाउ फ्याकेर नबटारिँदा मनासिब हुन्छ । सुरक्षा दस्ता भट्टीमा पस्ता रस्ता प्रशस्त होस् । जायजेथा तथा बेथाको सर्बे हामी सबैले लाज नमानी ईलाज गर्छाैँ ।

सर्वसाधारण नागरिकलाई सुरक्षा कर्मीको लिखतमा खत देखाउने हैसियत कैफियत नभएका कारण विकासे बहिनीले सही छाप ठोकेर, सुइकुच्चा ठोकेर आत्तिँदै आश्रम पुगिन् र पुरानो धन्दामा फेरि हात हालिन् । सुरक्षाकर्मीलाई खुसी पारे पछि जसले जे गरे पनि जायज ठहर्छ । सोझासिधा सत्मार्ग समात्न धर्म, कर्म र उस्तै परे लाख बत्ती पनि बाल्छन् तर चण्डार चतुरले सुरक्षाकर्मी पाल्छन् र आरोप प्रत्यारोपको मुखै टाल्छन् । राष्ट्र सेवकको देश प्रेम देखाउने दाँत हो चपाउने दाँत अर्कै हुन्छ । सुरक्षा दस्तासँग काँधमा काँध मिलाएपछि देश प्रेम, निख्लो तथा सरस प्रेमले विकासको बाढी बढाउन विकासे बहिनी झै कलिमा नलम्किने नक्कली को होला ? 

शिवशक्ति मार्ग, पोखरा–११, कास्की
फोन : ९८०६६७७५९४