काठमाडौँ — कमरेड नेकपा अन्डरलाइनको केन्द्रीय सदस्य भएकोमा मलाई खुसी नै लाग्यो । यो उनको कम्युनिष्ट जीवनको अन्डरग्राउन्डदेखि अन्डरलाइनसम्मको सफल यात्रा थियो ।  र थप खुसीको कुरो के भने कमरेड नेपाल सरकारको एक शक्तिशाली मन्त्रीको सल्लाहकार पनि भएका थिए । अतस् एक शुभचिन्तकको नाताले उनलाई तगडा बधाई दिन हिंँडेँ म ।

‘लालसलाम कमरेड ।’ मेरो चालु अभिवादन प्रत्युत्तरहीन भएकोले मैले दोर्होयाएर भन्नुपर्ने भयो, ‘लालसलाम कमरेड ।’

‘लालसलाम–फालसलाम छाड्नोस् ।’ उनले मलाई भने, ‘भन्नोस् के काम छ ?’
‘म कुनै कामले आएको होइन कमरेड ।’ मैले भनेंँ, ‘म त यसो भेट्न भनी 
आएको हुँ ।’

‘त्यसै भेट्न आउनुभएको हो तपाई ?’
‘हो, म भेटघाट गर्न आएको हुँ कमरेड ।’
‘यहाँ सबै कामका लागि आउँछन् ।’ कमरेडको स्वरमा रुष्टता थियो, ‘तपाई त्यसै बेकाम किन आउनुभएको हो ?’

‘के म त्यसै आउनु हुँदैन कमरेड ?’ म पनि थोरै क्रोधमा आएको थिएँ ।
‘ल, आइहाल्नुभयो भने बस्नोस् ।’ उनले छेउको सोफातिर देखाएर भने, ‘भन्नोस्, के काम छ ?’
‘मैले भनिहालँें नि, म कुनै कामले आएको होइन कमरेड ।’
‘ए, भुसुक्कै बिर्सेछु ।’ उनले मेरो आँखामा हेरेर भने, ‘के साँच्चिकै कुनै काम छैन ?’

कमरेडको कामप्रतिको यस्तो भक्तिभाव देखेर म दंग परेको थिएँ । के हाम्रा कमरेडहरू यतिका भीषण कामकाजी भइसके त ? यो त राम्रो हो । वास्तवमा मेरो भने कुनै काम थिएन । अब के काम भनु म ? तैपनि कमरेडको ‘कर्म्निष्ठा’लाई साथ दिन कुनै कामजस्तो त निकाल्नैर्पयो । यही विचार गरेर मैले भनेंँ, ‘म एक पुरानो पत्रकार भएकोले एउटा ताजा इन्टरभ्यु किन नलिने कमरेडको ?’ ‘ए, तपाईको पत्रकारिता जारी छ ?’ कमरेड मुस्कुराए । ‘जारी त छैन, तर चटक्कै बिर्सेको पनि छैन मैले कमरेड ।’

कुनै बेला हामी पार्टीको अखबारमा सँगै काम गथ्र्याैं । कमरेड भूमिगत पार्टीबाट इन्चार्ज भएर आएका थिए । म अखबारमा समाचार आदि लेख्ने एक खुला कामदार । (म विगतमा पुगेको थिएँ) । एकाएक कमरेडले कराएर कसैलाई केही ल्याउन अह्राए । बिहानको रेडिमेड खाजा वटर टोस्ट, डबल अम्लेट र मिल्क कफी आइसकेपछि मतिर हेरेर भने कमरेडले, ‘खाजासँगै इन्टरभ्यु लिए हुँदैन ?’
‘यो त झन् खासा भयो कमरेड ।’

‘त्यसो भए सोध्नोस्, के सोध्नुछ ?’ उनले तातो टोस्टमा फुर्तीसाथ हात लगे, ‘एउटा कुराचाहिँं याद रहोस् ।’
‘के कमरेड ?’

‘कुनै राजनीतिक प्रश्न नगर्नु होला मसँग ।’
‘किन कमरेड ?’ मैले अचम्म मान्दै भनँें, ‘एक राजनीतिको व्यक्तिसँग राजनीतिक कुरो किन नगर्ने ?’
‘हामी राजनीतिभन्दा धेरै माथि उठिसकेका छौं ।’ उनले परम सन्तुष्ट शैलीमा भने, ‘अब तपाई मसँग कामको कुरा मात्र गर्नाेस् ।’
‘सबभन्दा पहिले नेकपाको केन्द्रीय सदस्य भएकोमा बधाई छ, कमरेड ।’
‘धन्यवाद ।’

‘अनि मन्त्रीज्यूको सल्लाहकार नियुक्त हुनुभएकोमा अर्काे बधाई छ ।’
‘फेरि पनि धन्यवाद ।’ कमरेडको ओठको मुस्कान गाढा भयो ।
अब मलाई के भनुँ के भनुँ भयो । तथापि केही न केही त इन्टरभ्युका लागि कमरेडसँग सोध्नु नै थियो । तर के सोध्ने ? त्यसैले फ्याट्टै भनेँ, ‘के सोधँु 
म कमरेड ?’

‘तपाई मसँग हाम्रो कामको विषयमा सोध्न सक्नुहुन्छ ।’ कमरेड मेरो असमञ्जसलाई ध्यानले नियालिरहेका थिए, ‘म एक सल्लाहकार भएर सरकारी कामकाजसँग पुरै जोडिएको छु ।’
‘ठिक छ कमरेड ।’ मैले भनेंँ, ‘तपाईहरूका सरकारी कामकाजको मूल नीति के हो ?’
मेरो प्रश्न सुनेर कमरेड एक्कासी गम्भीर भए । त्यसपछि अम्लेटको एक ठूलो टुक्रा काँटाले टिपेर मुखमा हाले । अनि एउटा लयमा मुख चलाएर भने, ‘हेर्नाेस्, अहिले हामी तीन ‘स’को नीतिमा सावधानीका साथ चलिरहेका छौं ।
‘कस्तो तीन स कमरेड ?’ मैले 
तुरुन्तै सोधेंँ ।

‘एउटा स हो, समृद्धि र अर्काे समाजवाद ।’ कमरेडले जोशपूर्वक एक हातको मुठी उचालेर भने, ‘हामी समृद्धिबाट समाजवादमा जानेछौं ।’
‘समृद्धि र समाजवाद ?’
‘हो, समृद्धि र समाजवाद ।’
‘अनि तेस्रो स के हो त कमरेड ?’
मैले भनेँ, ‘कमरेडले दुईवटा स– मात्र भन्नुभयो मलाई ।’

कमरेड कप उचालेर कफीको चुस्की लिन थाले । केही भन्ने प्रयास गरेनन् उनले । कमरेडको अनुहारमा चिन्ताको भाव थियो । यो चिन्तन पनि हुनसक्थ्यो । मैले झ्वाट्टै कुनै अनुमान लगाउन सकिन । त्यसैले उनको अनुहारमा आँखा गडाएर भनँें, ‘के जवाफ दिन मिल्दैन कमरेड ?’
‘मिल्न त मिल्छ ।’ उनले पनि मतिर हेरेर भने, ‘तर यो अलि गोप्य खालको कुरो भएकोले के भन्ने ?’
‘म त कमरेडको पुरानो परिचित ।’ मैले जोड दिएर भनेँ, ‘मसँग के लुकाउने कमरेड ?’
‘लुकाउने कुरो होइन ।’ उनले सुस्तरी भने, ‘तर यसलाई कतै पनि छाप्नुचाहिँं नछाप्नु होला नि !’
‘हुन्छ कमरेड, भन्नोस् ।’

‘मेरो ससुरो सरकारी जागिरबाट रिटायर भइसक्नुभएको छ । उहाँलाई कुनै राम्रो ठाउँमा लगाउनैर्पयो । हङकङमा रहेको जेठानको एक्सपोर्ट–इम्पोर्टको बिजनेस छ । अहिले बैंक ठगीको एक केसमा फँस्नु भएकोले उहाँलाई मैले सहयोग नगरी भएन । मेरो सालोको आईएनजीओको काम छ । त्यसलाई अघि बढाउन कसरी मद्दत नगर्ने मैले ? यस्तै साली डाक्टरी पढ्न युएएस जान चाहन्छे । त्यसको पुरै बन्दोबस्त त मिलाउनैर्पयो नि !’ उनले एक सासमा भने, ‘अनि सासुको बोर्डिङ स्कुल त्यति राम्ररी चलिरहेको छैन । त्यसको लागि पनि केही न केही गर्नुपरेन त ?’

‘होइन, यो के भनिरहनुभएको हो कमरेड ?’ उनको कुरा सुनेर म अलमलिएको थिएँ, ‘यो सासु–ससुराको 
के कुरो हो ?’

‘यही त तेस्रो स हो ।’ उनले विस्तारै भने, ‘तपाईले मसँग तेस्रो सबारे सोध्नुभएको होइन ?’ केही चर्काे भयो आवाज, ‘म आफूलाई नै उदाहरण बनाएर भनिरहेको छु ।’ कमरेडले अन्त्यमा शान्त स्वरमा भने, ‘ससुरालीको स ।’

कान्तिपुर जेष्ठ १२, २०७५