लखरठ्याकलाई पनि दशैँ मज्जासँग लागेको छ । किनकिन नेपालीहरूलाई दशैँ आउनुको स्वाद नै बेग्लै हुन्छ, हुने गरेको छ ।   उहिले दशैँ ऋण बोकाउन र बसैँ हिँडाउनलाई आउँथ्यो । अहिलेको दशैँ वर्षभरिको खर्च उठाउन र अनधिकृत वजेट जुटाउनलाई आउन थालेको छ । यो त ठूलै परिवर्तनको सङ्केत हैन र ? हैन भन्ने लाग्छ भने दशैँको सेरोफेरोमा यो लखरठ्याकले देखेभोगेका केही दृश्यचित्रहरू हेरौँ त :

दृश्य : एक
अरुबेला निदाए पनि दशैँ आउनुभन्दा एक महिनाअघिदेखि नेपालको प्रहरीशक्ति सर्वाधिक क्रियाशील हुने गर्दछ । त्यसमाथि पनि ट्राफिक जातको प्रहरीको त कुरै बेग्लै छ । देशभरिकै ट्राफिक प्रहरीका सकल दर्जामा जोश जाँगर र साँच्चिकै कडाइपनको सक्कली रूप यहीबेलामा मात्र देख्न पाइन्छ । लखरठ्याक देशकै राजधानीमा मुकाम गर्ने गरेको छ । दशैँ आउनुभन्दा दुई हप्ता अगाडिकै एकदिन खटारा मोटरसाइकलमा सवार भई लखरठ्याक केही सामान्य किनमेलका निम्ति शहर पस्तोभयो । कुनै पनि चोक पुग्नुभन्दा अगाडिका गल्छेँडा र मोडमा हातमा ‘चिड’को बुक बोकेर आठदशजना ट्राफिक तैनाथ छन् । कहिँ मोेटरसाइकल वा स्कुटर मात्र चेकिङ, कहिँ टेम्पो, कार, माइक्रो मात्र चेकिङ, कहिँ बस, मिनीबस मात्र चेकिङ, कहिँ भने मालबाहक टाटामोबाइल, ट्रक–मिनीट्रकको मात्र चेकिङ । राजधानीका सडक यसै त जाम, त्यहाँमाथि जताततै शुरु भएको छ बेला न कुबेला ट्राफिकको चेकिङले डब्बल जाम । कोही पनि कहिँ कतैबाट फुत्किने चानस नै छैन । 

लामो जाम छिचोलेर म बल्ल चेकिङ पोइन्टको केही नजिक पुगेको थिएँ, मभन्दा अलि अघिल्लो बाइकवाला चेकजाँच सकेर देब्रेतिरकै गल्लीतर्फ मोडियो, बाटो अलि खुकुलो देखेर मैले मेरो बाइक दुई मिटर जति अगाडि के सारेको थिएँ, ट्राफिक जवान सरासर मभए ठाउँ आयो र बाइकको साँचो थुत्यो । मभन्दा अगाडि तीनचारवटा बाइक छँदैथिए, चेकिङ चलिरहेकै थियो । बाइक घिसारेर म साइड लागेँ, शुरु भो मेरो विशेषजाँच– लाइसेन्स माग्यो– दिएँ, बिलबुक माग्यो दिएँ, हेडलाइट बाल्न भन्यो बालेँ, ब्रेक हान्न भन्यो हानेँ । त्यसपछि उसले एक फन्को लगायो र ‘चिड’ काट्न थाल्यो । मैले प्रतिवाद गरेँ– “सबै त ठिकै छ, फेरि किन “चिड” ?” “अनि किने लेन मिचेको त ?” ऊ रन्कियो, म थन्किएँ । निकै बेरपछि ऊ मेरो छेउमा आएर फेरि फुस्फुसायो– “दशैँ आएको थाहा छँदैछ, बग्गीखाना गए ५ सय, यहीँ तिरे हजार, के गर्ने ?” म अवाक भएर निकैबेर टोलाएँ । उपाय नास्ति । ५ सयको नोट थमाएँ, अनेक बिन्ती भाउ गरेँ मानेन । दुईवटा ५ सयको नोट हातलागी भएपछि मुसुक्क हाँस्तै उसले लाइसेन्स र बिलबुक फिर्ता दियो । अब खल्तीमा बचेको ५ सय लिएर के किनमेल गर्न जाने ? लखरठ्याक लोत्रेकान लगाएर जताबाट आएको थियो उतै फर्कियो ।

दृश्य : दुई
दशैँ आउन एक हप्ता बाँकी थियो । राजधानीमा डेरा बसेको लखरठ्याक दशैँ मान्न सपरिवार सुदूरपूर्वको घरजाने योजनामा छ । पोहोर पनि गइएन, यसपालि त नगई हुँदै भएन । भान्टाङभुन्टुङ दुई र उनीहरूका बाउआमा दुई । आमाचाहिँको पेटमा सात महिनाको प्युसो हुर्कँदैछ । प्रसुती डाक्टरले भनेका छन्– यात्रा भरसक नगर्नू, गर्नैपरे सुबिधापूर्ण र अत्यन्त सहज किसिमको मात्र । सहज र सुविधापूर्ण यात्रा त हवाइजहाजकै होला ! लखरठ्याक हवाइटिकटका लागि निस्कियो । ट्राफिकजाँच जारी नै थियो– बडो सतर्कतापूर्वक ऊ सरकारी एयरलाइन्स पुग्यो । “टिकट सकिएको एक हप्ता भो, तपाइँ अहिले आउने टिकट लिन ? त्यो पनि चारचार वटा ?” काउन्टरका केटीहरूको कुरो सुनेर ऊ छक्क प¥यो । गैरसरकारी एयरहरूको टिकट त कसो नपाइएला, भलै अलकिति महँगो न पर्ला । 

लखरठ्याक लाग्यो एयरहरूका काउन्टरतिर– बुद्ध एयर, अग्नि एयर, श्रीएयर.... । यता दगुर्यो छैन, उता दगु¥यो छैन । छैन, छैन, छँदै छैन । हे फसाद ! लामो सुस्केरा हालेर फर्कनैलाग्दा एउटा काउन्टरको जुँगामुठेले भीडबाट अलि परतिर तानेर कानमा फुस्फुसायो– “तपाइँलाई अपठेरै परेजस्तो छ, प्रति टिकटको २० हजार बेहोर्ने हो भने खोजखाज गरेर मिलाइदिउँला, हुन्छ ?” उसको दिमागमा झड्का हान्यो– घर जान चारजनाको हवाइभाडा ८० हजार ? अझै प्लेनबाट ओर्लेर साढे दुई घण्टाको गाडीयात्रा त बाँकी छ... । उसको मुखबाट अनयासै फुस्स निस्कियो– “यति महँगो ?” जुँगामुठेले तुरुन्तै जवाफ दियो– “ए... सस्तोमा त नाइट बसमै गए भइहाल्यो नि !” ठिकै भनिस् जुँगे ! जसरी पनि दशैँ मान्न घर त जानु नै छ... । 

दृश्य : तीन
जे जसो होला, लखरठ्याक खटारा बाइक हाँकेर पुग्यो बसको टिकट लिन कलङ्की बसपार्क । बाइक पार्किङ गर्न भ्याउँदा नभ्याउँदै एउटा ठूलो हुल उसलाई घेर्न आइपुग्यो । कहाँ जाने, कति नंबरको सिट चाहियो, कतिवटा टिकट, यता आउनुस् भिडियो हेर्दै जाने, उता आउनोस् फ्री वाइफाइ ! बिस्तारै उसलाई तान्नैथाले । घरि यता लतारिन्छ, घरी उता लतारिन्छ । हैन यो केको फजिती हो ? ऊ करिब करिब लाप्पा खेल्दै हेल्मेट काखी चेपेर मुस्किलले एउटा काउन्टरभित्र छि¥यो र टिकाको अघिल्लो दिनका लागि नाइटबसको चारवटा टिकट माग्यो । काउन्टरको अर्को जुँगेमुठेले उसलाई शिरदेखि पाउसम्म हेर्दै भन्यो– 
“आज आएर टिकट पाइन्छ त ? हिजो खुलेको टिकट हिजै सकियो ।” 
“टिकट सकिएको भए ती बाहिरका केटाहरू कहाँबाट टिकट दिन भनेर यात्रुलाई तानिरहेका छन् त प्रभु ?” प्रभु मात्रै भनेन, उसले हात पनि जोड्यो । जुँगे एकपटक जोडले हाँस्यो र उसले भन्यो– “त्यो त उनीहरूलाई नै सोध्नुस् बा...!” आजित भएर लखरठ्याक काउन्टरबाट बाहिर निस्कियो र खुइय गर्दै पेटीमा टुसुक्क बस्यो । छेउमा टिकट दलाल अघिकै ठिटाहरू यात्रुसँग बार्गेनिङ गरिरहेका थिए । सरकार र व्यवसायीसँग संझौता गरेर हालै कायम गरिएको एक हजार दरको भाडामा उनीहरू पाँच हजारसम्म मागिरहेका छन् । उनीहरूले मागे जति पैसा दिन तयार हुने यात्रुलाई टिकट दिन सटरपटर गरिरहेकै छन् । यो देखेसुनेर लखतरान पर्दै डेरा पुगेको लखरठ्याकले यसपालिको दशैँ कतै नगई राजधानीको डेरामै मनाउने घोषणा गर्यो ।

दृश्य : चार
जहाँ जसरी भए पनि दशैँ त मनाउनै प¥यो– जो आइनै सक्यो । दशैँ भनेको त फेरि पनि खसी नै हो । दशैँमा नयाँ लुगा आफैंले रोजेर किन भन्दै हातमा राखिदिएको ३÷३ हजार रुपैयाँमध्ये छोराले त समात्दै समातेन, छोरीले भने समाते पनि अमिलो मुख लगाएकी छ । छोरीछोरीको कलेज फि, कोठाभाडा, सापटी तिरनतारन गर्दा बाँकी रहेको छ ५ हजार । बल्लबल्ल आएको दशैँ, सानोतिनो भए पनि खसी नै नढाले के दशैँ ? यसो भन्दै छोराछोरीकी माउ अघिल्लै हप्तादेखि गनगनाइरहेकी छे । उसको गनगन सुन्न नसकी फूलपातीको तीनचार दिनअघिदेखि नै लखरठ्याक खसी बजार धाउँदै छ । अलि सस्तेला कि भन्दाभन्दै फूलपाती आइहाल्यो । खाद्य संस्थानदेखि भएभरका सबै खसीबजार चहार्दाचहार्दै खसीको मोल सुनेर उसलाई रिँगटा लाग्न थाल्यो । अघिल्लो दिन ७/८ किलोको खस्यौटोलाई १५ हजार भनेको थियो– खोज्दै गयो, बिकेको रहेनछ, भेट्यो । खसीवालाले पनि चिनिहाल्यो– “हिजै लगेको भए हुन्थ्यो क्यारे, आज त १८ हजार गन्नुस्” पो भन्छ हँ । ए उल्का ! अर्को  एक फन्का मार्दा अर्को एउटा त्यै ८ किलोजतिकै खस्यौटो फेला पर्यो । मोलमोलाइ गर्दा त २२ हजार घटीमा दिँदैदिन्न रे ! नबिके लैजान्छु घर र अर्को साल ४० हजार मोलिने बनाउँछु रे ! सस्तो खोज्नेले त तरकारी बजारतिर गएर घिरौँला लौका खोजी खुट्टा हालेर काटे हुन्छ रे ! 

दृश्य : पाँच
नभन्दै खसी किन्न नसकेपछि फूलपातीको दिन लखरठ्याक लखरलखर गर्दै पुग्यो तरकारी बजार । पूरै तरकारी बजार घुम्यो र सस्तो मूल्यको तरकारी खोज्यो । सबभन्दा सस्तो भनेको ९० रु. किलोको भ्यान्टा र ८५ रु. किलोको मुला २÷२ किलो अनि सय रु. किलोको १ किलो लौका जोख्यो । मूल्य  ति¥यो अनि हेण्डलमा दुईतिरै झुण्ड्याएर खटारा बाइक स्ट्राट ग¥यो । खसी किन्न गएको लखरठ्याक घर आइपुगेको सङ्केत पाएर छोराछोरी र माउ पनि बाहिर निस्किए । “हैन, खै त खसी ?” माउको प्रश्न भुइँमा खस्न नपाउँदै बाउले तीनवटा पोका थमाउँदै भन्यो– “लौ, यसपालिको दशैँखसी यही हो । अब काटकुट पार, मुलाको सुरुवा बनाऊ, लौकामा झोल हाल र भ्यान्टा भुट ! ३÷४ छाक पुगिहाल्छ । बस् ! यस्तै दशैँ मनाउन त हामीले लोकतन्त्र ल्याएका हौँ ।” आमा र छोराछोरी घरी लखरठ्याकको अनुहार घरी लौका, मुला र भ्यान्टाको थैलो हेरेका हेर्यै हुँदा भए... !

०७५ असोज
कलङ्की, काठमाडौं
narnath@gmail.com

साप्ताहिक ०७५ असाेज २६