कसरी यो जंगे खम्बा सर्यो रातारात ? 
आफ्नो वास विदेशमा पर्यो रातारात
अघिपछि नेताजीका नाराहरूबाट
उर्लिन्थ्यो त राष्ट्रियता मर्यो रातारात ?

पक्की बाँध सिमानामै उँभ्यो रातारात
घरछाप्रा, खेतीबाली डुब्यो रातारात 
सुनिदैन विरोधको स्वर कतै चर्को 
‘ठुले’छेउ स्वाभिमान गुम्यो रातारात ?

देशभित्रै शरणार्थी भयो रातारात 
कि त रुँदै सीमा काटी गयो रातारात 
बाँच्न खोज्दा मर्नुपर्ने नियति यो कस्तो !
अशान्तिले सबै सीमा नाघ्यो रातारात !

‘भाइ’ भन्दै छिमेकीले मार्यो रातारात 
जानी जानी संकष्टमा पार्यो रातारात 
हाम्रा आफ्नै बन्धुलाई उचालेर पूरै 
हाम्रो सबै सुख(शान्ति दार्यो रातारात !

दाङ