ने मुनिले तपस्या गरेर जन्माएको भनिएको यो देश  मजस्ता बैगुनी र बिप्ल्याँटाका आचार, व्यवहार र विकारले ग्रस्त हुन छोडेन । व्यवस्था परिवर्तन भएको जतिसुकै फलाको हाले नि, नयाँ नेपालको कमाल शब्दजाल कौलासे नि हातलाग्यो शून्य । खोक्रा, बोक्रा र छोक्रा औपचारिकताले एकोहोरो प्रहार गरेको गर्यै छ बा ! जनजीवनका हर पक्षमा ।

यतिखेर देशमा दैनिक तीस लाखभन्दा बढी सबारी साधन गुडे पनि सयौँ हवाइ उडान उडे पनि यातायातमा कष्ट, अनिश्चितता, लुटखसोट र यात्रुहरूका लागि असुविधा झन झन थपिएका छन् । लामो कालखण्डदेखि खुट्टो घुमाएको यातायातको सिन्डिकेट पुठ्ठो हल्लाएर जब्बर बन्दै नाचेको नाच्यै छ । बेला बेलाका नामधारी म्यादी सरकारले घिनलाग्दो राकस र अराजक सिन्डिकेट टसको मस पार्नै सकेन । उल्टो यही लुट वृत्तिलाई फलाउने र फुलाउने पुरुषार्थमै तल्लीन छ अहिलेको दोतिहाइको गर्जना गर्ने कार्यकारी पनि । 

नेपालका विभिन्न थरीका बस नामधारी उठसेवा अचेल त कोचाकोच सेवा, गुन्द्रुक खँदाइ सर्भिस, ठेमलठेल जात्रामा रूपान्तर भएको छ । केही बसहरूमा ज्येष्ठ नागरिक,  महिला, बच्चाको आमा, अशक्त, पत्रकार भनेर किटिएको पनि देखिन्छ । तर कतिपय विवेक हरामहरू मतलवै नगरी पत्रकार रहने सिटमा अलपत्रकार रजाइँ गरेको देख्दा फुकिढल पत्रकार लुकिढल हुँदै लुत्रे कान लगाएर ठडिएको ठडियै छ । अशक्तजन बस्ने आसनमा सशक्तहरूको राइँदाइँले तमासा मच्चाएको छ ।

अपाङ्ग बसेर यात्रा भर्ने सिटमा भुसतिघ्रे सबलाङ्ग वा साङ्ग— काना, खोरण्डा, डुँडे र लङ्गडाजमातलाई नाथे जैरे र खैरे ठानेर आफ्नै बाउको बिर्ताजस्तो मानी गफ दोचारेको देख्दा तिक्रेहरूको बुद्धिविवेकले नेटो काटेकोमा  आवेगमा आएर बक्सिङ चलाउँजस्तो लाग्छ होला कतिपयलाई । तर उमेरले नेटो काटेको हुँदा त्यो कुकाम गर्न आँट आउँदैन र दोजिया आमासमेत झुन्डिन र गुन्द्रुक खँदाइमा कुच्चिन बाध्य छन् ।  

जनसरोकारविहीन सरकार नामधारीले मत्ता हात्तीजस्तो अराजक सिन्डिगेट हटाउने गर्जना गरे पनि फगत् भुस्याहा श्वानको घुकाइ र नशाबाजको क्षणिक रन्काइ मात्र बन्न पुगेको छ पटक पटक । शक्तिपूजक राजनीतिज्ञ, पदपूजक कर्मचारी, धनपूजक ब्यापारी रहेको यो भूमि दण्डविहीन बनेर सानालाई ऐन र ठूलालाई चैन दिनमै अभ्यस्त छ बा ! राज्यसत्ताको बागडोर समाएर कानुनी राज्य स्थापना गर्ने हल्ला पिटेका चल्ला र गल्ला जमातले दण्ड र पुरस्कारको रीति कहिल्यै नबसाल्ने भए । ‘नादण्ड्यं दण्डयत्येषः सुतमा–त्मद्विषामपि । दण्डयत्यात्मजोमापि, दण्ड्यं धर्मपथे स्थितः’ ।। अर्थात्– राज्यचालकले आफ्नो शत्रुको छोरा भए पनि दण्डअयोग्य छ भने दण्ड नदिनू, दण्डयोग्य छ भने आफ्नै छोरो पनि नछोड्नू, भन्ने सिद्धान्त तिलाञ्जली दिने आभारा र लोफरपनले हाकोडाको मच्चाएर असफल राज्यमार्पmत देशै विघटन पार्ने त्रास भैसक्यो । यस्तो बेथितिको राज्यमा कुन दाताले सहयोगको गाता हाल्ला, चिन्ताकै विषय छ गाँठे ? 

दसैँ तिहार र चाडबाडको समयमा यातायात सेवाको मैमत्तापनमा जनसरोकारविहीन सरकारले दस प्रतिशत भाडा वृद्धि गरिदिएर आगोमा घिउ थप्ने कुकदम उठायो । तोकिएको भन्दा दोब्बर भाडा ठटाई तलमाथि टनाटन पेसिन्जर खाँदेर नोटका भारी मजैले हाले कथित यातायात व्यवसायी भन्ने छेदहरूले । प्रहरी र प्रशासन कमिसनको रासन भकुरेर दसैँको घोर्ले खसी बने  भनेर धेरै पत्रकारले मसी खर्चिएको पनि देखियो ।  यस्ता समाचार अरण्यरोदन बनिरहेका छन् । 
 
संस्कृति, धर्म, अर्थतन्त्र, कला अर्थात् सबै क्षेत्रमा राजनीतिको काउसो लगाउने गलत काम गणतन्त्रमा झन् झाँगिएको र नाङ्गिएको छ । दसैँजस्तो राष्ट्रिय चाडको बिदा काटेर माक्र्सको पक्का चेलोको स्वाङ गरी सनातन संस्कृति भ्वाङ पार्ने नव सामन्तहरूले कोजाग्रत पूर्णिमासम्म टीका नाटक रचे । राणाका रैती, राजाका प्रजा र सामन्तका दुनियाँ बिर्साउने गरी ताता काम्रेडले लम्पसारवादको बकवास मजैसित बाँडेको दृश्यले धेरैका आँखा बिझाए, आँत रसाए । बर्बर काल र मध्य युगलाई बिर्साउने गरी भएको टीकाजात्राले विश्व कमिनिस्ट आन्दोलनकै नयाँ उपहास गरेको टर्रोपन प्रस्तुत गर्न पुग्यो ।

यसरी यातायातमा उठ सेवा र टीकाटालामा सुत सेवाले बिगबिगी मच्चायो । अन्यायमूर्तिदेखि कमिसनखोर, काला ठेक्कापट्टाका मालिक, टीकातन्त्रका मन्त्रबाट दीक्षित भई नियुक्तिको कृपा पाएका पदासीन, आसेपासे सबै साष्टाङ्ग दण्डवत्, धनुष्टङ्कार, घुँडासन, कुप्रासन अर्थात् समग्रमा लम्पसार र आत्म–समर्पीकरण मुद्रामा मजैको तमासा मञ्चन भयो । धन्य, सङ्घीय गणतन्त्र धन्य लोकतान्त्रिक रणतन्त्र ! सुत सेवा र उठ सेवाको अभिनूतन चमत्कारलाई ।

धादिङ