अमूर्त कला प्रदर्शन कक्षमा एक मन्त्री, दुई पुलिस म्यान र केही दर्शकहरूका मूर्त उपस्थिति थियो । सबै कला अवलोकन कार्यमा व्यस्त थिए ।  सम्पूर्ण वातावरण नै एउटा गहकिलो ह्यान्डस्केपमा परिणत भएको थियो ।

रातो, निलो, कालो, हरियो, सेतो इत्यादि (र कलाकार जस्तै सबै) । एकाएक मन्त्रीज्यू एउटा ठूलो साइजको पेन्टिङनेर टक्क अडिए । र अत्यन्त भावगम्भीर मुद्रामा नियाल्न थाले । त्यसकारण अरुहरूका ध्यान पनि त्यस दिशातर्फ एकत्रित भयो ।

‘यो के हो ?’ मन्त्री उवाच् ।
‘यो मेरो पेन्टिङ हो, हजुर ।’ एक फ्रेन्चकट दाह्री अघि बढेर मन्त्रीसमिप उभियो ।
‘ए, पेन्टिङ..... ।’
‘हो, मेरो नयाँ पेन्टिङ हो, हजुर ।’
‘केही बुझिएन त, रेखाहरू केरमेर–केरमेर र रंग जथाभावी पोतिएको ।’ मन्त्रीले आफ्नो चिउँडोमा हात लगे, ‘कस्तो पेन्टिङ हो यो ?’
‘हजुर, यो एब्सट्रेक्ट आर्ट हो । यसलाई अनुभूत गर्न कलर, लाइन, फर्म र पर्सपेक्टिभमा समग्र दृष्टि दिनुपर्छ । अन्यथा बुझ्न सम्भव छैन ।’ अमूर्त कलाकार विन्ती भावमा निहँुरिएर बुझाउन थाले, ‘एब्सट्रेक्ट आर्ट यस्तै 
हुन्छ, हजुर ।’

‘हुँ, एब्सट्रेक्ट आर्ट ।’
‘हजुर, एब्सट्रेक्ट आर्ट ।’
‘के बनाउन खोज्नुभएको हो, तपाईले ?’ मन्त्रीको आँखा कलाकारको अनुहारमा खोपियो, ‘के हो यो ?’
यो सुनेर कलाकारको अनुहार खुम्चियो । केही बेरको मौनता । त्यसपछि आफ्नो व्याख्या प्रस्तुत गर्न उनले मुख खोले । र दाह्री हल्लाएर भने, ‘हजुर, समाजवादलाई अमूर्त शैलीमा अभिव्यक्त गर्न खोजेको हुँ मैले । यो पेन्टिङको मूल शीर्षक नै ‘समाजवाद’ हो । एब्सट्ेरक्ट सोसियोलिजम । यसको थिम अलिकति पोलिटिकल छ । समाजवाद कलाको माध्यम हुनसक्छ । अमूर्त कलाको माध्यम । यो मैले प्रमाणित गर्न खोजेको हुँ हजुर ।’

‘हु, एब्सट्रेक्ट सोसियोलिजम....।’
‘हजुर, एब्सट्रेक्ट सोसियोलिजम ।’
‘यो खतरा सूचक खप्पर र असन बजारको हुलजस्तो के हो नि ?’ मन्त्रीज्यू गहिरिएर पेन्टिङ हेर्न थाले, ‘यताबाट चारखुट्टे कुर्सी देखिन्छ र अर्काे कोणबाट कुनै किङ कोबराको उत्तेजित फणा । कस्तो समाजवाद बनाउनुभएको हो, तपाईले हँ ?’
‘हजुर....।’
‘मलाई त एकदमै मेरो चित्रझैं लाग्यो हजुर ।’ मन्त्रीसँगै एटेन्सन मुद्रामा उभिएको पुलिस म्यानले कलाकारको कुरा काटेर भने, ‘के हतियार बोकेको हवल्दार होइन र ?’
‘होइन, होइन ।’

‘अहिले यो कुनै नयाँ दरबारजस्तो पो देखियो त, तर गहिरिएर हेर्दा हाम्रो छिमेकी भारतको नक्साजस्तो पनि लागिरहेछ मलाई, के हो यो ?’ मन्त्रीज्यूको प्रश्नमाथि प्रश्न जारी थियो, ‘कहिले बगिरहेका कोशी, गण्डकी र महाकाली पनि देखापर्छ भने कहिले अमेरिकी नासाबाट प्रक्षेपित कुनै उपग्रह, हँ, कस्तो खाले समाजवाद हो यो ?’
‘यो समाजवाद होइन ।’ पुलिस म्यानले फेरि मुख खोलेर टिप्पणी गरे, ‘यो कुनै अर्कै चीन हो, हजुर ।’

‘अब भने कलाकार गम्भीर बने । र निधारमा तीन धर्साे पारेर पुलिस म्यानतिर हेर्न थाले । त्यसपछि तुरुन्तै मन्त्रीतर्फ फर्केर भने, ‘हजुर, यो समाजवादको विलकुलै एब्सट्रेक्ट रूप हो । हाम्रो समाजवादको जुन मोडल अस्तित्वमा छ, त्यसलाई क्यानभासमा उतार्ने भरसक्य प्रयत्न हो मेरो । यसलाई टेक्निकल टर्ममा एब्सट्रेक्ट एक्सप्रेसिनिजम भनिन्छ । अर्थात् अमूर्त अभिव्यञ्जनावाद । हामीकहाँ समाजवाद जुन स्टेजमा छ, त्यसको प्रतिनिधित्व गर्न चाहेको हो, पेन्टिङले ।’

‘यसको प्रदर्शन विदेशमा पनि भइसकेको छ, हजुर । बेलायत, अमेरिका, जर्मन, जापान, इजरायल, भारत । विदेशीहरूले मेरो यो पेन्टिङलाई अति नै मनपराए । सबैले यसलाई खरिद गर्न चाहेका छन् । विशेष गरेर संयुक्त राज्य अमेरिकाको रुचि रहेको छ । एब्सट्ेरक्ट सोसियोलिजमका लागि जति पनि डलर तिर्न अमेरिकीहरू तयार छन् । ह्वाइट हाउसमा यो पेन्टिङ झुन्ड्याउँदा खुब सुहाउँछ रे †’ मन्त्रीज्यूलाई मौन मुद्रामा पाएर अमूर्त कलाकारले जोशका साथ थपे, ‘सबै यो पेन्टिङ किन्न चाहन्छन् हजुर ।’

‘अनि किन बिक्री गर्नुभएन त पेन्टिङ ?’ मन्त्रीज्यूले आश्चर्यका साथ प्रश्न गरे, ‘कति मूल्य हो, यसको ?’

‘प्राविधिक कठिनाइ आइर्पयो हजुर ।’
‘कस्तो प्राविधिक कठिनाइ ?’

‘हजुर, अमेरिकीहरू भन्छन्, यो पोलिटिकल पेन्टिङ भएकोले तिमीहरूका वर्तमान सरकारको पनि पूराका पूरा स्वीकृति चाहिन्छ । त्यसै खरिद गर्न मिल्दैन । (एकछिनपछि) तिमीहरूका सरकारले स्वीकार गरे हाम्रो राजदूतावास मार्फत पठाइदिनु । र पेमेन्ट चाहिंँ त्यहींबाट लिए पनि हुन्छ । पहिले नै एडभान्स लिन सकिन्छ । तर मुख्य कुरा सरकारी स्वीकृति नै हो । यही समस्याले गर्दा हजुरलाई यहाँ आमन्त्रित गरेको हुँ । यसमा सक्दो सहयोग गरिदिनुर्पयो, हजुर । मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि सादर विन्ती चढाएको थिएँ । कुन्नि, किन पाल्नुभएन † ‘फ्रेन्चकट दाह्रीवाल अमूर्त कलाकार नब्बे डिग्री कोणमा निहुरिए । यो लचिलो मेरुदण्डको प्रत्यक्ष प्रमाण थियो । अर्थात् कलाकार अमूर्त कलाका साथै व्यायम कलामा पनि पारंगत भएकोमा कुनै शंका थिएन ।

कान्तिपुर, जेष्ठ ५, २०७५