मानिस–तिहार
चुल्होमा आगो कहिल्यै नदेखेको,
फुच्चेले बुबालाई सोध्यो,
बुबा हिजो काग–तिहार भनेर {{read_more}}
कागको पूजा गरी सक्याइयो ।
आज कुकुर तिहार भनेर
कुकुरलाई माला लगाइयो ।
मीठो मीठो पकवान खुवाइयो ।
अनेक थरी खुसी मनाइयो–
कुकुरलाई बीचमा पारेर
सेल्फी खिचाइयो ।
त्यो खाते कुकुरको भाग्य यस्तो ?
हरे ! मेरा लागि त बाह्रै महिना
यस्तो न उस्तो, जस्ताको त्यस्तो ।
थुइक्क ! म मानिस भएर पनि
आँखाका सपना चोरिएको
मुहार रगत निस्कने गरी चिथोरिएको .
बुबा ! जस्तै खुसियाली दिनहरूमा
तपाईं थमाइदिनु हुन्छ कचौरा
सन्ठी हाड भएको मेरा हातमा
कसरी चित्त बुझाउ सधैं
छ्या ! यो उधारो माड भातमा ।
मलाई पनि माला लाउनुछ,
मीठो मीठो खानु छ ।
बुबा भनिदिनुस् न !
मानिसले हाम्रो पूजा गर्ने
यो “मानिस तिहार“ कहिले आउँछ ।
बुबाले भन्यो छोरा धेरै नउफ्रिनु
मानिस तिहार आए पनि
हामी गरिब असहायप्रति
जहाँ पनि हुन्छ कुनै न कुनै
किन्तु परन्तु अर्थात इन्तु न चिन्तु
केही खासहरूका आँखामा
अझै हामी मानिस छैनौं
मात्र छौं, अजबका जन्तु।
हो छोरा ! एक दिन हामीलाई
मानिस भएको हुन्छ भान
जुन दिन दिनु पर्ने हुन्छ भोट,
पछि त उही टन्टा–उही चोट ।
विराटनगर