मेरा हजुरबा गीता नपढी भातै खाँदैनथे । उनका गोजीमा पूजा कोठमामा, र्याकमा, सिरानेमा जतासुकै गीताका पुस्तक हुन्थे । बासामा प्यारो गरेर राख्थे।  पढ्नुअगाडि ढोग्थे । पढिसकेपछि ढोग्थे । पोको पारेपछि ढोग्थे र थपक्क सुरक्षित ठाउँमा राख्थे । राखेका ठाउँमा पनि ढोग्थे । कतै जाँदा गोजीमा अट्ने गीता बोक्थे । घरमा हुँदा अलि ठूलो ग्रन्थ भन्न मिल्ने गीता पढ्थे । दैनिक पूजाकोठामा अलि पुरानो गीता पढ्थे । त्यस किताबबाट बाले सिकेको र मैले बाकै मुखबाट हजार चोटि सुनेको एउटा श्लोक हो :
कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्र्मिण  । (गीता, २ : ४७)

मैले यो सुन्दा सुन्दै सिकेँ । बाले भन्दा भन्दै सिकेँ । पढ्दापढ्दै सिकेँ । आफै गाउँदै पनि हिँडेँ ः वस्तुको भकारो सोहोर्दा, घाँसदाउरा गर्दा, मेला भर्दा जहाँसुकै । यसको अर्थ के हो ? त्यो चाहिँ न बालाई थाहा थियो न मलाई । न बाबुलाई थाहा थियो न आमालाई । न सुनेकाले बुझ्थे न सुनाउनेले । यसको अर्थ थाहा पाउन मैलाई दुई दशक लाग्यो । पछि बुझ्दा यसको अर्थ रहेछ : कर्म गर्ने तिम्रो अधिकार हो, फल वा नतिजाको पछि लाग्नु उचित होइन । 

मलाई हो लाग्यो, फल वा नतिजाको लोभले कर्म गर्नु पनि हुँदैन ।  कर्म नगर्ने अकर्मण्य व्यक्तिको सङ्गत गर्नु पनि हुँदैन । सोझो अर्थ हो,  कर्म गर फलको आशा नगर । अलि फरक भाषामा भनूँ ः मिहिनेतसाथ कर्म गरे फलप्राप्ति स्वतः हुन्छ । मैले यसैमा विश्वास गरेँ । 

सङ्गत गर्दे जाँदा अनेक भेटिँदो रहेछ । बाँचिरहे अनेक देखिँदो सुनिँदो रहेछ । मैले देखेँ पनि सुनेँ पनि । यस श्लोकलाई सामन्तको श्लोक भन्ने पनि देखिए । यो कर्मशील मानिसलाई ठगिखाने मेलो हो भन्ने पानि भेटिए ।  यसै श्लोकलाई आदर्श बनाउने पनि भेटिए । आदर्श बनाउनेले आदर्श मात्र बनाए ।  व्यवहारमा भने कसैले लागू गरेनन् । आफू गरुँ न त भन्यो कसले हात तान्छ, कसले खुट्टा तान्छ । कोही औलो ठड्याउँछ, कोही आँखा सन्काउँछ । कर्मभन्दा फलतिरै तानिहाल्छ । 

बाजेकै मुखबाट पाएको उपदेश किन च्यूत हुन दिने ?  मैले यो आदर्शबाट विचलित नहुने निर्णय गरेँ । आदर्श मात्र होइन यथार्थमा कर्म गरिरहने विचार गरेँ । फल फले पनि झरे पनि कर्ममै लागिरहने अठोट गरेँ । म लागेँ लागेँ र लागिरहेँ । 

सानोतिनो लेखक भएका नाताले साहित्यलाई नै मूल कर्मथलो बनाएँ । स्वास्नीले जति गाली गरे पनि कर्म गर्ने, बाबुआमाले कुपुत्रै ठाने पनि कर्मै गर्ने, भाइ बहिनीले अव्यावहारिक भएको आरोप जति लाए पनि कर्म गर्ने, छिमेकीले हेपे पनि कर्म गर्ने, आफन्तले नग्दै नगने पनि कर्मै गर्ने,  हाकिमले मूल्यांकन नगरे पनि कर्म गर्ने  र फल नखोज्ने निर्णय गरेँ । एक दिन फल पाइएला भन्ने विश्वास गरेँ र गरिरहेँ । भेडो जुधेझैँ जुधिरहेँ । गोरु जोतिएझैँ जोतिइरहेँ । राँगो लादिएझैँ लादिइरहेँ । 

मेरो यो चट्टानी निर्णय धेरै मित्रहरूले थाहा पाएछन् । एकाएक सेलिव्रेटी बनेँ । जहाँ कार्यक्रम हुन्छ त्यहाँ पुग्न थालेँ । कतै निर्णायक, कतै उद्घोषक, कतै समीक्षक, कतै सम्मानितको परिचयदाता, कतै के कतै के । केही नभए मञ्च चढेर खादा लाउने । त्यो पनि नभए दर्शक बनेर ताली पिट्ने कुनै भूमिका छोडिनँ ।  कर्म र फल खोज्दा बेरोजगार भाको मान्छे एकाएक अनेक भूमिकामा देखापर्न थालेँ । 

उक्त भूमिकाले मेरो उन्नति नै भयो । गोजीमा भने सुको हुन छाड्यो । विहान बेलुका चुलो सेलाएर झन्डै सेलाएँ । परिवार झन्डै सेलायो । तर पनि मैले मेरो आदर्श छाडिनँ  । कर्म गरेको गर्यै गरेँ । कर्मलाई नै धर्म सम्झिएँ । जति गर्दा पनि पछि हटिनँ । हट्तै हटिनँ । हार्दै हारिनँ । थाक्तै थाकिनँ । 

मेरो आदर्श बुझ्ने साथीहरू थुप्रै भए । आदर्शअनुरुपको व्यवहार पनि धेरैले बुझे । मलाई बुझ्ने गुरु र अग्रजहरू पनि भए । कार्यक्रम कार्यक्रममा बोलाउने मात्र होइन, प्राय संस्थाको सदस्य बनाए ।  प्राय पत्रिकाका सम्पादक बनाए । प्राय पुस्तकका प्रुफ रिडर बनाए । लौ तँ र म सम्पादन गरुँ भन्दै प्रूफ बढाउँदै । सम्पादन गराउँदै पछि प्रुफ रिडरमा नाम राखिदिँदै । अरुनै संस्थाका फाइदा लिने म काम गर्ने । त्यसो गर्दा पनि गुनासो गरिनँ । मेरो आदर्श कर्म गर्ने हो भनेँ गरिरहेँ । अक्षर केलाइरहेँ । सम्पादन गरिरहेँ । संस्थाका काममा कुदिरहेँ । भाषण गरिरहेँ । लेखिरहेँ । आफ्नो चट्टानी अडानमा भिडिरहेँ । 

म कर्मवीर । जे आए पनि फत्ते गरिछाड्ने कर्मवीर । जस्तो परिस्थितिमा पनि खटिरहन सक्ने कर्मवीर । म अर्को अर्जुन । म अर्को एकलव्य । म अर्को भीम । म पर्वत बोक्ने हनुमान । चलुन्जेल मेरा हात पनि चले , खुट्टा पनि चले । आँखा पनि चले । जीवनै चल्यो । समुद्र छालझैँ चयालयमान भएर दगुर्यो । दायाँबायाँ नहेरी कर्म गरिरहयो । 

मावली बा दिन फेरिन्छ भन्थे । मेरो पनि दिन फेरियो । बिरामी परेँ । तागत हरायो । आन्द्रा बटारेर भोक लाग्यो । समय समयमा पोसिलो खानेकुरा खानुपर्ने भयो । अब फलै नचाइने म  कर्मका कित्ताबाट फल खोज्नुपर्ने कित्तामा जान विवश भएँ । कर्म गरे  फल त्यसै आउँछ भनेको सुनेको पनि हो । त्यही फल  दिने बेलामा कर्मका बेला काम दिने नै काम दिन छाडे । मेरो कर्म कर्ममै सीमित रह्यो । अब म फल कसरी फेला पारुँ ? 

यतिबेला मेरा अगाडि जटिल प्रश्न छ । मेरो कर्मको मूल्याङ्कन कसलाई गराऊँ ? हजुरबालाई सोधूँ बाले फेरि नफर्किने बाटो तताइसके । बाबुलाई सोधूँ बाबु नै फल ल्याइनस् भनेर ढोका थुन्छन् । स्वास्नीलाई सुनाऊँ  सम्बन्ध विच्छेद गर्ने धम्की दिन्छे । पण्डितलाई सोधूँ पण्डितले पहिला फल माग्छ । वकिल गुहारुँ वकिल नै पहिला फल माग्छ । साधु सन्तलाई सोधूँ साधु सन्त नै फल माग्छ । स्वास्नीलाई सुनाऊँ सुनाइसक्नु छैन । प्रेमिकालाई सुनाउने  कुरै भएन । अब म कसलाई गुहारौँ ? बाटो बन्द छ जहाँ जाऊँ त्यता । मेरो आदर्श अफ्ठारामा परेको अवस्था । मेरो कर्मवीर हारेको अवस्था । मेरो कर्मवीर सोच जगाउने ओखती कसैसँग भए जानकारी पाऊँ । मेरो समय कति हो मैलाई थाहा छैन, जानकारी हुनेले सकेसम्म चाँडो कुरियर गरिदिनुहोला ।