सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पुराण, दन्त्यकथा र हामी

Nepal Telecom ad

१. सत्ता महात्म्य height=
सत्तामा पुगेपछि साधारण उडुसहरू रक्तपायी हात्ती बन्छन् । लामखुट्टेहरू नरभक्षी गरुड बन्छन् । {{read_more}} उपियाँहरू रामायणका सुवाहु र मारिच बन्छन् । लङ्काबाट समुद्र फड्केर दण्डकारण्य आइपुग्छन् । यसै भएर हाम्रा पुराणहरूले मुक्तकण्ठले गाएकाछन् सत्ता महात्म्य ।

‘मद’बाट ‘मादकता’ बन्छ । यौवन पनि एउटा ‘मद’ हो । ‘धनसम्पत्ति’ अर्को ‘मद’ हो । ‘सत्ता’ त्यसभन्दा कैयौं गुना चर्को ‘मद’ हो । चारौं नम्बरको अझै ‘मोहान्धकारी मद’ हो ‘अविवेकिता’ । अर्थात् विवेकहीनता । सत्तामा छ, निर्णायक ठाउँमा छ, विवेक छैन, सल्लाह रुचाउँदैन, आलोचना सुन्दा बुरुक्क बन्छ, यो अवस्था भनेको रातो देखेर जाइलाग्ने मदोन्मत्त साँढेकोभन्दा हजाराँैं गुना खतरनाक अवस्था हो  ।

यस्तो अवस्थामा अरुलाई खाडलमा पार्छु भनेर उफ्रँदा आपैm खाडलमा जाक्किन पनि सकिन्छ । यसैले पुराणविद्हरू वेन लगायत अनेकौं राजाहरूकोे उदाहरण दिछन् र भन्छन्, ‘सत्तामा हुनु र विवेक नहुनु’ स्वयम्मा एउटा ‘विष्फोटक खतराको स्थिति’ हो । विवेकहीनताको विस्फोटमा पर्दा सत्तासीन व्यक्ति स्वयम्लाई भयङ्कर हानि हुनसक्छ । यसैले जीवनका साधनामध्ये सर्वाधिक महत्वपूर्ण साधना ‘विवेकसाधना’ हो ।

अध्ययन, मनन, चिन्तन र अभ्यासद्वारा गरिने विवेकसाधना भनेको जीवनमा ‘तेस्रो आँखा उमार्ने साधना’ हो । इमानदार एवम् विश्लेषण क्षमतायुक्त सल्लाहकारहरू र आफूमा उमारिएको विवेक नै शासकका अत्यावश्यक ‘अन्तर्नयनहरू’ हुन् ।

टल्ल हेर्ने आँखा होइन झललल्ल देख्ने आँखाहरू हुन् । तत्वदर्शी आँखाहरू हुन् । मदोन्मत्तहरूमा यस्ता आँखाहरू उम्रनै भ्याउँदैनन् । मदोन्मत्तहरू त जथाभावी भिड्ने मानसिकतामा हुन्छन् । शरीरले नसके मुखले भिड्छन् । वाचाल बोलीले भिड्छन् । घमण्डका उद्दण्ड अभिव्यक्तिले भिड्छन् । ‘ल आइज तँलाई म यहीँ ढालिदिन्छु ! । आइज म तँलाई दश वर्ष पढाइदिन्छु !’ …..आदि इत्यादि शव्दहरूले भिड्छन् । श्रोताहरू सुनेर हाँस्छन् । दर्शकहरू देखेर हाँस्छन् । हामी यस्ता पुराण र पुराकथाका धनी छौं ।
 
कुनै समय थियो हाम्रो आजको थानकोटलाई शाोणितपुर भनिन्थ्यो । शोणितपुर राजा वाणासुरको राजधानी थियो । यस राज्यको सीमा कहाँसम्म थियो स्पस्ट छैन । पुराणविद्हरू भन्छन् काठमाडौको तत्कालीन देवपत्तननजिकै वाणासुरले स्थापना गरेको शिवलिङ्ग वाणेश्वर अद्यावधि छ । त्यस भूक्षेत्रको नामै वाणेश्वर अर्थात् बानेश्वर पनि अद्यावधि चल्तीमै छ । वाणासुर वाहुवली  थियो । उसका पाखुरामा हजार हातका उर्जा थिए । ऊ आफ्नो समयको बेजोड योद्धा थियो ।

हाम्रा पुराणहरूमा वाणासुरका अनेकौं कथाहरू छन् । कथाअनुसार सीतास्वयम्वरमा वाणासुर राजा जनकको राजधानी जनकपुर पनि पुगेको थियो । उसले शिवधनुषतिर हात बढाएन । वाणासुर शिवको परिपक्व उपासक थियो । यसैले ऊ त्यहाँ संयमी देखिन्थ्यो । भागवत पुराणअनुसार बुढेसकालमा वाणासुरले कृष्णलाई पनि युद्धमैदानमै भेट्यो । वाणासुरलाई भेट्न कृष्ण द्वारकाबाट शोणितपुर आइपुगेका थिए । उमेरमा वाणासुर प्रायः लडाइँमै लागिरहन्थ्यो । योद्धाहरू उसको अगाडि पर्न हिचकिचाउँथे । एक पटक आफ्ना उपास्यदेव शिवसँग उसले भनेको थियो— 
    “साँच्चै लड्न नपाई वाहुली हजार् मेरा चिलाए यहाँ । 
    जोडी छैन मलाई लड्न गरुँ के सारा त्रिलोकीमहाँ ?”
शिवले जवाफमा मुस्कुराउँदै सोधेका थिए, “त्यसोभए तिमी मसँगै लड्छौ त ?” शिवको यस सोधाइमा वाणासुर तत्काल नतमस्तक बनेको थियो । 
 
पुराणविद्हरू भन्छन्, ‘विकट ऊर्जावान् वाणासुरमा पनि आवश्यक विनम्रता थियो । ऊ आफ्ना विधाता शक्तिका अगाडि सरलतासाथ झुक्न पनि सक्थ्यो । यसैले ऊ बुढेसकालसम्म सत्तासीन रहेरै बाँच्यो ।

अहिले हामीकहाँ प्रधानमन्त्री बडो चर्चामा हुनुहुन्छ । वहाँभन्दा बढी वहाँका बोलीवचन चर्चामा छन् । वहाँ कहिले मुलुकका जागरुक महिलाहरूलाई ट्याउँट्याउँ नबोल्न सल्लाह दिनुहुन्छ त कहिले मुलुकका विद्वान् बुद्धिजीवीहरूलाई आफूसँग आमनेसामने भएर भिड्न आह्वान गर्नुहुन्छ ।

पुराणका वाणासुरलाई वाहुली चिलाएजस्तै हाम्रा प्रधानमन्त्रीज्यूलाई बुद्धि चिलाउँछ र बुद्धिजीवीहरूसँग आमनेसामने भएर भिड्ने हौसला जाग्छ । हाम्रा बुद्धिजीवीहरू पनि बढी नै विनोदप्रिय छन् । यसैले प्रमको हौसला बढाउन मिडियामा हजारौं प्रश्न गरिबस्छन् ।

लाग्छ, हामी अझै पुराणकै युगमा छौं ।

२) होचोको मुखमा घोचो
    
प्रसङ्ग मध्ययुगीन हुनुपर्छ । एउटा राजाको प्रसङ्ग । मैले यो दन्त्यकथाका रुपमा सुनेको हूँ । एकादेशका त्यस राजाका राज्यमा पनि विभिन्न किसिमका मानिसको बसोबास थियो । राजाका भाइभारदारहरूको रमझम आफ्नै थियो । साहू सामन्त जमीनदारहरू मालिकका दर्जामा थिए । बाँकी रैती थिए । रैतीलार्ई प्रजा पनि भनिन्थ्यो । प्रजाहरू सुखी थिएनन् ।  जसोतसो बाँचेका थिए । 

यसैबीच एक पटक राज्यमा केही डाँकाहरूले भयङ्कर लुटपाट र हत्याकाण्ड मच्चाए । प्रजामा हाहाकार मच्चियो । राजाकोमा बिन्ती बिसाए । राजाले अपराधीहरू पहिल्याउन र सजाय दिन प्रहरीहरू खटायो । व्यापक खोजबीनपछि प्रहरीहरूले अपराधीहरू समाते । दस्तूरअनुसार राजाका समक्ष पेश गरे । राजाले ‘यी अपराधीहरूलाई फाँसीको सजाय दिनू’ भन्ने हुकुम सुनायो ।

हुकुमबमोजिम राजाका प्रहरीहरूले अपराधीहरूलाई फाँसीका तख्तहरूमा पु¥याए । फाँसी दिन लाग्दा थाहा भयो अपराधीहरू अग्ला थिए । तिनीहरूका लागि मौजुदा तख्ताहरू होचा भए । प्रहरीहरूले राजाकहाँ गएर व्यहोरा जाहेर गरे । राजाले तत्काल अर्को हुकुम दिँदै भन्यो, यी अपराधीहरू अग्ला छन् भने यिनीहरूलाई छोडिदिनू । ठिक्कका होचा मान्छे कता छन् तिनलाई ल्याएर फाँसी दिनू । त्यसपछि प्रहरीहरूले अग्ला अपराधीहरूलाई फुक्का छोडिदिएर होचा सर्वसाधारणको खोजीमा निस्के । निरपराध भए पनि जो होचा थिए तिनले फाँसीको सजाय पाए ।

यो कथा आजको नेपालमा पनि सान्दर्भिक लाग्न थालेको छ । वहुचर्चित निर्मला पन्त बलात्कार तथा हत्याका जघन्य अपराधीहरू पहिचान गर्ने र पक्राउ गर्ने क्रममा प्रहरीबाट अहिले कुखुराचोरहरू पक्राउ पर्न थालेका सुनिन्छन् । सुनचोरहरूभन्दा कुखुराचोरहरू धेरै नै होचा हुन सक्छन् । खास अपराधीभन्दा पनि यी कुखुराचोरहरू होचा भेटिएका हुनसक्छन् । समाजमा जो सत्तामा छैन, सत्ताको वरदानप्राप्त पनि छैन त्यो स्वतः होचो मानिन सक्छ ।

सत्तासीनहरू अग्ला हुन्छन् । चोरहरूमै पनि सवैभन्दा होचा चोरहरू शायद कुखुराचोरहरू नै हुन् । अनि ती पक्राउ नपरेर अग्लाहरू कसरी पक्राउ पर्ने ? ‘जो होचो त्यसको मुखमा घोचो !’ चल्तीको उखान पनि छ । उखान तुक्काले महत्ता पाएको मौसम पनि छ ।

यो सवै देख्दा सुन्दा कहिले त लाग्छ आजको हाम्रो नेपाल पनि दन्त्यकथाको एकादेश नै हो ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad