कुनै समय एउटा सहरमा एउटा धोबी बस्थ्यो । धोबीको घरमा एउटा गधा त थियो नै त्यससँगै उसले एउटा कुकुर पनि पालेको थियो । ऊ राती गधा र कुकुरलाई घरको चोकमा बाँधेर राख्थ्यो । 

एक दिन राती धोबीको घरमा चोर आयो । चोरले धोबीको घर फोर्न लाग्यो । चोर घरमा पस्न लागेको देखेर गधालाई बडो खसखस लागेर आयो । गधा इमान्दार भएकाले उसले मालिकको नुनको सोझो चितायो । उसले तुरुन्तै उसको साथी कुकुरलाई भन्यो “ए साथी ! घरमा चोर पसिसक्यो । तिमी किन भुक्दैनौ ? तिमीले भुकेर हाम्रो मालिकलाई जगाइदिनु त तिम्रो कर्तव्य हैन ? भुक भुक ! तिमीले भुकेनौ भने त चोरले हाम्रो मालिकको धन सखाप पार्छ त !”
 
कुकुरले जवाफ दियो “तिमीलाई थाहै छ, म दिनरात नभनी यस घरको रखवारी गर्छु तर म कहिल्यै पेटभरि खान पाउँदिनँ । हाम्रो मालिक उसले केही नगुमाइकन मेरो कामको महत्व बुझ्ने रहेनछ । त्यसैले जेसुकै होस्, म त भुक्दिनँ ।”

कुकुरको जवाफ सुनेर गधाले कुकुरलाई उसको कर्तव्य सम्झाउँदै भन्यो “राम्रो सेवकले कहिल्यै पनि आफ्नो सेवाको बदला कुनै चाहना राख्दैन बुझ्यौ ? त्यसैले हामीले आ–आफ्नो कर्तव्य पुरा गर्नैपर्छ ।”

“मालिक पनि त मालिक जस्तै हुनुप¥यो नि ! उसले चाहिँ सेवकको सेवाको महत्व बुझ्नुपर्दैन ? अरू बेला वास्तै नगर्ने, आफूलाई परेका बेला मात्र सम्झने मालिक पनि त खराब मालिक हो नि !” कुकुरले जवाफ दियो । 

कुकुरको जवाफले गधा रिसायो र भन्यो “तिमी त कस्तो खराब साथी रहेछौ ? तिमीले तिम्रो कर्तव्य बिर्सिरहेका छौ । तिमी यदि भुक्दैनौ भने म आफैंले केही न केही त गर्नुप¥यो ।”

कुकुरले टेरपुच्छर नलाएपछि गधा आफैं ठुल्ठूलो स्वरमा कराउन थाल्यो । धोबी भने मस्तसँग निदाइरहेको थियो । गधाको आवाजले मस्त निदाइरहेको धोबी ब्युँझियो । बित्थैमा कराएर निद्रा बिगारिदिएकोमा धोबी रिसले आगो भयो । धोबी रिसले चुर हुँदै आएर गधालाई ढोकाको आग्लाले बजाउन थाल्यो । धोबीको चुटाइको चोटले गधा त्यहीँ म¥यो । जान्ने भएर अरूको काम गर्ने हुँदा गधाले बित्थैमा ज्यान गुमाउनुप¥यो ।

अंग्रेजी आलेख : गोल्डेन बल्स
अनुवाद : गंगाप्रसाद अधिकारी