सरकारी अड्डा अदालत अनि अफिसहरू
यति नोकरशाह थिए कि अकवरी भोकजस्ता
असरल्ल फालेको काँचो खिचडीका जोकजस्ता
लट्किएका बक्साहरू धमराका धवल गुँडमा
अल्मलिएर धरहराको टावर हेरिरहेका आँखाहरू

जोक्स बक्साहरू थिए, खै ! भित्र के थिए ?
जाँगर या जालीहरूका भ्रष्टाचारका फाइल !
हरेक पल्ट म झुक्किरहेथेँ जाहेरी निवेदनमा
हारेथेँ जोक्स बक्सका अनुत्तरित मौनतासँग
जोकरहरू झुक्याइदिन्थे हावा गफले मलाई !

हर अफिसका भित्तामा सानले तनक्क परेका 
भिक्टोरिया क्रसका मानका सुझावका लागि
आगन्तुक पर्खेका गणतन्त्रका होली वाइनहरू

मानसिक दरिद्रताले बजारिरहेथ्यो थचारिरहेथ्यो
अबोध कलमको निबबाट जोक्सका कारवाहीहरू
पण्डितका अर्ति र आदेशले लालबुझक्कड कहानी

’सुझाव’ भनिरहेका निर्देशक चोर औँलाहरू पनि
चोरका हुन या चरणका, या जोक्सका खेस्राहरू
न टिप्पणी थिए अफिसमा न शिष्टाचारका मनुवा
जोक्समा थिए, अलमल र ढलमलका जोकरहरू

सुझावका दैनिक पत्रहरू फतफत खसिरहेथे
बक्सामा हरक्षण, बन्द हुन्थे व्यङ्ग्य चोटले
हतपत डस्टविनका हरबखतका झोलीहरूसँग, 
जनताका पागल गीत बजिदिन्थे फेरि बजारमा !

संयन्त्र यस्ता थिए ’हुन्छ !’ ’हस !’ ’हजुर !, का
गजुरमा सुनका मोलम्वा दल्थे हातमा हात मलेर
भ्रमका विधिवत व्याख्यामा भविश्यवाणी गर्दा,
गणतन्त्र मसिहाहरू ईशुका अवतारमा हुन्थे ।

जनताले पोको पारिपारि सुझाएका सुझावहरू
जोक्स ठान्थे सुझावका जोक्स बक्स अचेल ।

सकि नसिक लौरो समाउँदै बोकिने हर महाजन
मेरै काँधहरूमा थियो, आदेश दिइरहेथ्यो मलाई
थरथर कामेका मेरा गोडा र भरोसाको लौरोसँग

उ सुझावले मोटाइरहेथ्यो, म दुब्लाइरहेथेँ
चौबाटो, चोक अनि गल्लीतिर
सरकारी जोक्स बक्ससँग !

कानुन पनि यिनैसँग, न्याय अन्याय पनि खल्तीमा !

काठमाडौं