विकासको कुरा भनेको आजको भन्दा भोलि सरल, राम्रो, सभ्य र भव्य तरिकाले जीवन यापन गर्न पाउनु नै हो । अनि सपना भनेको यिनै कुराहरूको परिपुरणको लागि बुनिने योजनाहरूको पोको नै हो । यसै अनुसार सबैले भोलिको लागि केही न केही सपना देखेको अनि बोकेकै हुन्छ । कसैको सपना अल्पकालमा नै पुरा होलान् । कसैको दीर्घकालमा पुरा होलान् त कसैको सपना अधुरा नै रहलान् । हामीले सुनेका छौं हाम्रा नेताका सपनाहरू बोलेको अनि सुनेका छौं विकासे खोकाई खोकेको पनि । मेलम्चीको सपना बारम्वार देखिरहेका छौं । सुरुङबाट पानी ह्वाल्ल वल्लोपाटोमा आईपुग्न नपाई सपनामा कता हो कमिसनले छेक्यो रे । वाग्मती करिडोरलाई खै कता हो ठूलो ढुङ्गो पल्टिएर रोक्यो रे । नीजगढको अन्तर्राष्ट्रिय विभानस्थललाई जंगल कटानले छटानमा पा¥यो रे । खासाको रेलको लिक पनि सपना मै लिक हुँदैछ रे । पानीजहाजको लागि नदीका ठूला ठूला पुलहरूमा डाईभर्सनले सपना देख्दैछन् रे । 

तेत्तिस किलो सुन सपनामा नै देखेको आधारमा भारततिर फेला प¥यो रे । यस्ता सपनाहरूले कतिले त विपनामा मुर्तता पाए पनि । सपना देख्नुमात्रै ठूलो कुरा हैन यसलाई विपनामा रुपान्तरण गर्नु चाहिं ठूलो कुरा हो । देशमा हवाई इतिहासमा नै ठूलो फड्को मार्न वाईडबडी जहाज खरिद गर्ने सपना विपना हुन नपाउँदै कार्गोबडीमा सिट हाल्ने सपनाले प्राथमिकता पायो । सपनाहरू कहिलेकाहिं ओभरल्याप भएर आउँछन् । यस्तै ओभरल्याप सपनाले गर्दा कहिलेकाहिं मानिसहरू अल्मलिने गर्छन् र ओभरल्यापिङ सपनाले गर्दा नै मानिसहरू फन्दामा पर्ने गर्छन् । मैले पनि जीवनमा धेरै सपनाहरू देखें । कति सपनाहरू त मैले आफैले बिर्सिएँ पनि र कति सपनाहरू चाहिं यस्ता छन् जुन सपनालाई मैले अनेक प्रयत्न गर्दा पनि बिर्सिन सकेको छैन । सपनाहरू रातमा सुतेको बेलामात्र देखिन्छ भन्छन् तर मलाई थाहा छ त्यो कुरामा सतप्रतिशत सत्यता छैन किनभने सपना दिनमै पनि देखिन्छ । निन्द्रामा देखिने सपना भन्दा तन्द्रामा देखिने सपना भयानक हुने गर्छन् । दिनमा देखिने सपनाले नै मानिसहरूलाई नराम्ररी फसाउने गर्दछ । वाईडबडी जहाज पनि दिनमा देखेको सपनाकै कारण धरापमा परेको होला । स्मार्ट सिटी बनाउने सपनालाई अर्कै कुनै सपनाले ओभरल्याप गरिसकेको हुन सक्छ । त्यसैले स्मार्ट सिटीको कुरा आजकाल नसुनिएको । मोनोरेलको सपनामा पनि अर्को सपना ओभरल्याप हुन लाग्या छ रे भन्ने सुनिन थाल्या छ । 

मैले भरखरै निन्द्रामा एउटा सपना देखें । सपनामा बागमती नदी नदीकै रुपमा बग्दै थियो र तलतिरबाट एउटा विशाल रोवोटिक भिमकाय पानीजहाज आउँदै थियो । त्यो भिमकाय जहाज हेर्दाहेर्दै विशाल डोजरमा परिणत भएर आफू हिंड्ने बाटो आफै बनाउँदै अगाडि बड्दै थियो । अनि पानीजहाजको टिकट काउण्टर आर्यघाट, पचली भैरव, टेकु दोभान र चोभारमा समेत राखिने कुरा सपनामै सुनेर म झसङ्ग भएर जुरुक्क उठेँ । जब म बिउँझिएँ अनि तन्द्रामा सपना देख्न थालेँ । तन्द्रामा देखेको सपनाले निन्द्रामा देखेको सपनालाई ओभरल्याप गर्न खोज्यो तर मैले कुनै हालतमा त्यसलाई ओभरल्याप हुन दिइनँ । मैले सपना जस्तो देखे विपना त्यस्तै भइदिए कति राम्रो हुन्थ्यो ।
काठमाडौंमा नै पानीजहाज आइपुग्नु भनेको हाम्रा लागि खुसीको कुरा हुनसक्छ । तर दुर्भाग्य हाम्रो के छ त भने यहाँ कोही करोडौं भ्रष्टाचार गर्ने सपना देख्छन् र रातारात भ्रष्टाचार गर्न अनेक सपनाहरूलाई ओभरल्याप गरी गल्र्याम्म भ्रष्टाचार हावी हुन्छ । कोही भ्रष्टाचारीलाई खाल्डोमा हाल्न पहिलै खाल्डो खनेर कुरेर बसेका हुन्छन् तर भ्रष्टाचारीहरू छेउछाउ पनि आइपुग्दैनन् अनि खाल्डोमा पानी भरेर माछाका भुरा पालेर बस्छन् । सपना जे जस्ता हुन सबै विकासे सपनाहरू नै हुन् । अविकासे सपनाहरूले कुनै चर्चा पाउँदैनन् सपना भनेको मैले देखेको जस्तो भिमकाय र रोवोटिक हुनु जरुरी छ । त्यसपछि पो विकासले ह्वात्त फड्को मार्छ त । 

२०७५।०९।२४
काठमाडौं