हो मलाई यो टोलमा भुस्याहा कुकुर भनेर निकै हेला गर्छन् । अझ ढुंगाले हानेर घाईते बनाएका पनि थिए । इमान्दार हुनुको कारण बिभिन्न महल हुँदै यो सडकसम्मको मेरो यात्रा निकै रोचक हुनसक्छ । गन्ध र सुगन्ध, इमानदारिता र स्वाभिमानको बीचमा रमल्लिएर म यो सडकको चिसो ठन्डीमा कठ्याङ्ग्रिरहेको छु भने बर्षातको बेला रुझेर निथ्रुक्क हुन्छु । कुरो बुझेर निथ्रुक्क हुनु र पानीमा भिजेर निथ्रुक्क हुनुका दुई फरक परिबेश रहने रहेछन् । 

म कता जन्मिएँ थाहा त भएन तर सानोको याद हुँदा म यो टोलको त्यो ठूलो महलमा हुर्केको याद भने छ । अनि हामीलाई इमान्दार हुनुपर्छ, बफादार हुनु पर्छ भनेर मेरी आमाले निकै सुनाउँथिन् । यो टोलका धनाढ्य साहुको घरमा मेरो बाल्यकाल बित्दै थियो । एक दिन साहुको घरमा एक जना किशोरीले साँझको बेला साहुनी नभएको बेला सुटुक्क आइन् ।  मैले चोर भन्ठानेर ती युवतीलाई कराउँदै झम्टिएँ । उत्ति नै बेला ठूलो हो हल्लाले घरका सबै सदस्य मुलढोकामै आइपुगे, त्यतिन्जेलसम्म ती युवती डरले होला बेहोस भैसकेकी थिइन् । पछि थाहा लाग्यो, ऊ त घरको मालिककी गर्लफ्रेण्ड पो रहिछिन् । उनका छोराछोरीले रंगेहात पक्रन नसकेको कुरा मैले समात्दा मैले घरमा वाह वाह कमाएँ तर एक दिन छोराछोरी नभएको बेला ती मालिकले मलाई आफ्नो गर्लफ्रेण्डलाई सुटुक्क आउन नदिएको झोकमा यसरी भकुरे कि मलाई सात दिनसम्म उठ्न गाह्रो भयो । त्यसपछि मैले त्यो घर छाडेँ । 

इमान्दारिता र बफादारिताको दोसाँधमा उभिएर म भौतारिइरहँदा मैले एक जना नेताज्यूको घरमा बस्न पुगेछु, मलाई यो थाहा हुने कुरा त थिएन तर उनलाई घरमा आउने पाहुनाले नेताज्यू नमस्कार भनेको शब्द सुन्दा उनी नेताज्यू रहेछन् भन्ने थाहा लाग्यो । उनको घरमा निकै मानिसको आउजाउ हुन्थ्यो ।  एक दिन साँझको बेला थियो, केही मानिसहरू अस्वाभाविक ढंगबाट घरको मुलगेटबाट भित्र पस्न लाग्दै थिए । हातमा सुटकेश पनि बोकेका थिए, बन्दुक पनि थियो । मलाई लाग्यो नेताज्यूको घरमा चोर आए, अनि बेस्सरी कराउन थालेँ । मेरो भुकाईले नजिकै रहेको प्रहरीको चेकपोष्टबाट एक हुल प्रहरी नेताज्यूको घरमा छिरे, मैले ती सुटकेशवालालाई दाँतले पक्रेर च्याप्प पारेको थिएँ । माथिल्लो तलबाट नेताज्यू झर्नु र  बाहिरबाट प्रहरी आउनु एकै चोटी भयो । प्रहरीले मलाई धाप मारेर स्याबासी दियो । खै के भो नेताज्यू र ती सुटकेशवालालाई प्रहरीले समातेर लग्यो, पछि मालिक्नीले मलाई निकै भकुरिन रिसको झोकमा । वास्तवमा नेताज्यूलाई ठेक्कापट्टा मिलाई दिएबापत ठेकेदारका अंगरक्षकले केही रकम दिन आएका रहेछन् ती सुटकेशवाला अनि प्रहरीको सूचीमा लामो समयदेखि फरार अभियुक्तलाई मैले समातेको रहेछु । मालिक्नीको कुटाई खाएपछि मैले त्यो घर पनि छाडँे । 

यसपछि म एक जना महिलाको घरमा शरण लिन पुगेँ । तिनका श्रीमान बैदेशिक रोजगारीको शिलशिलामा बिदेश गएका रहेछन् । उनको साथमा सानो धुतमुने छोरा थियो  सायद आठ नौ महिनाको । केही समय बसेपछि एक दिन दिउँसोको कुरा थियो, घरको नजिकै इनारको नजिक उनको छोरा खेल्दै थियो, म सिँयालमा बसेर हेरिरहेको थिएँ, मालिक्नी घरभित्र एक जना युवकसँग गफिँदै थिइन् क्यार । अचानक उनको छोरा इनार नजिकै रहेको पानीको सानो खाडलमा खस्न पुग्यो, म जोड जोडले कराएँ, गाउलेहरू हतार हतार आए मेरो अस्वभाविक चिच्याहट सुनेर । तर अहँ मालिक्निले भित्र गीत बजाएको हुँदा मैले कराएको सुनिनछिन् क्यार, गाउँलेहरूले पानीमा डुबेको बालकलाई बाहिर निकाले, बालक जिउँदो नै थियो । उनीहरूले मालिक्नीले गीत सुनेको कोठा ढक्ढक्याए, अनि हतारमा ढोका खोलिँदा भित्र भएको युवक र मालिक्नी नाङ्गै थिए । गाउँलेहरूले मिटिङ बसेर ती युवक युवतीलाई निकै हपारे । गाउँले गएपछि मालिक्नीले मलाई भुकेको अभियोगमा निकै कुटिन् । मलाई त्यो घर बस्न मन लागेन अनि त्यो घर पनि छाडेँ । 

भुस्याहा कुकुर भनेर मलाई निकै नै  सम्बोधन गरिन्थ्यो तर घर छाड्नु र नयाँ ठाउँमा छिटै घुलमिल हुन सक्नु मेरो खुबी थियो । म निकै छिटो समयमा अर्को ठाउँमा अड्डा जमाउँथे तर मेरो कर्म नै यस्तो हो कि कुन्नि, एक पछि अर्को घर छाड्दै हिँड्नु पर्ने भएको थियो । अब त त्यो ठाउँ छाडेर निकै पर गएर बस्ने बिचार आएपछि म निकै नै पर तीन चार दिन दौडेर यौटा गुम्बामा बास बस्न पुगेँ । मलाई लाग्थ्यो, यहाँ त शान्त अनि धार्मिक स्वभावका मानिसहरू छन् अनि मैले यो ठाउँबाट बाहिर निकाला हुनु पर्दैन होला । समय बित्दै गयो, करिब दुई तीन महिना त्यो गुम्बामा गुजारेपछि फेरि मेरो मेरो ठाउँ निकालाको श्रृङ्खला शुरु भयो । कुरा के भयो भने नि, मैले गुम्बाबाट निकै पर एक ठाउँमा रगतको गन्ध पत्तो पाएँ, गुम्बामा मासु नखाएको भएर होला, त्यतातिरको रगतको गन्धले मलाई परैबाट आकर्षित गर्यो । म दौडेर गएँ र माटो खोतल्दै थिएँ, भित्र मानिसको लाश पो देखे, अनि ईमान्दारिता देखाउनु पर्छ भनेर लाशको हातको टुक्रा च्यापेर म गुम्बासम्म आएँ, त्यहाँ सबै मानिसको अगाडि मैले ल्याएको लाशको हातको टुक्राले सन्नाटा छायो अनि एक छिन पछि कोलाहल मच्चायो । आखिरमा त्यही गुम्बामा बसेको आनीको लाश रहेछ त्यही गुम्बाको धर्म गुरुले बलात्कार गरेर त्यहाँ गाडेका रहेछन् । मलाई गाउँलेले लाश ल्याएकोमा लखेटे । म गाउँको झाडीमा लुकेर ज्यान जोगाएँ । 

यसपछि मैले सोचे, अब कुनै बिधवाको घरमा अड्डा जमाउनु पर्छ जहाँ म माया पनि पाउँछु, नराम्रा क्रियाकलाप पनि हुन्न  । मैले सोचेजस्तै एक जना एकल महिलाको घर भेट्टाएँ । त्यहाँ बसेको पाँच छ महिनापछि एक दिन गाउँमा बाँदरहरू आएकोले मैले बाँदर धपाउने कर्तब्य सम्झँे, गाउँबाट पर बाँदर धपाएर घर फर्कदा घरभित्र त बिधवा ऐया, ऐया भन्दै थिइन्, मलाई लाग्यो, उनलाई कसैले केही गर्दैछ, म जोड जोडले कराउन थालेँ । मेरो अस्वाभाविक भुकाई सुनेर गाउँलेहरू घरको आँगनमा जम्मा भए अनि घरको ढोका फोडेर भित्र जाँदा त दुबै जना रतिक्रियामा मस्त रहेछन् । मलाई यो बेला कसैले हिर्काउन सक्छ भनेर त्यो घर छाडेर भागिहालेँ । 

अब यसपछि मैले सोचे, मानिस कतै पनि अछुतो छैन, केही न केही कर्तुत गरिनै रहन्छ, तर कतै त बस्नु नै पर्यो, अनि दाम्रिएको पेटमा दुई गाँस आउने आश त गर्नै पर्यो  । मेरो बसाँई एक जना पत्रकारकोमा हुने भयो संयोगले । उनी स्वाभिमान, ईमान्दारिताको कुरा निकै उचाल्थे । हरेकलाई यहि नै भन्थे । त्यहाँ बसेको केही समयपछि एक दिन मैले चिनेको मानिसको गन्ध आयो, मैले ढोकाबाट बाहिर नियालेर हेर्दा थाहा भयो, मैले पहिले घुस खान नदिएको अनि मेरो भुकाईबाट जेल चलान भएका नेताज्यू पो ती पत्रकारको घरमा आउँदै रहेछन् । सायद नेताज्यूले मलाई चिनेनछन् तर मैले ती नेताज्यूलाई भुकेर घरभित्र आउनै दिइन । पछि ती पत्रकारले मलाई बेसरी कुटे नेताज्यूलाई आउन नदिएकोमा । आखिर रातीमा पत्रकारका श्रीमान श्रीमतिको कुरा सुन्दा थाहा लाग्यो, त्यो नेता जेलबाट छुटेको पनि धेरै भएको रहेछ अनि पत्रकारलाई गलत समाचार नछाप्न भनेर केही रकम दिन आउने क्रममा मैले भुकेर लखेटिदिएको रहेछु । मलाई मेरो जीवन असुरक्षित लागेर त्यो घर पनि छाडेँ । 

अभागी खप्पर जता गए पनि ठक्कर भने झैं भएको थियो मलाई । म अब जताततै बिभिन्न अपराध र कुरिति देखेर सडकमा आएँ, यसो यो मानिस ठिक हो कि जस्तो लाग्यो, ऊ केही न केही रुपमा बेठीक देखिन्छ । यसरी कोही पनि यस्तो सग्लो मानिस मैले पाएको छैन जसको घरमा म निर्धक्कले बस्न सकुँ । तर अहँ त्यही आशमा मेरो जिन्दगी बित्न लागि सक्यो । कतै पनि त्यस्ता, गुणी मानिसको घर भेट्टाएको छैन । जबसम्म त्यस्ता मानिस भेटिँदैनन्, म भुस्याहा नै बन्ने भएँ । आखिर गुणी र असल मानिस कसरी चिन्ने होला है ? तारेमाम्  जदौ । 

लमजुङ