चड्कन
देशको विकास गर्लान्, जनताका पिरमार्काको हेरचाह गर्लान् अनि दिन दुःखीको सहारा बन्लान् भन्ने आसाले जनताले नेता बनाउँछन् अनि नेतृत्व पनि सुम्पिन्छन् । {{read_more}} नेताले जब नेतृत्व पाउँछन् त्यसपछि आफूलाई बनाउने तिनै जनताको थाप्लोमा टेकेर नाच्न थाल्छन् । अझ पावरमा भएका बेला त कुरा नगरौं के के गर्छन् के के यतिसम्म गर्छन् कि जनतालाई भुसुना सम्झन्छन् । भुसुना नाकमा छि¥यो भने के हुन्छ तिनले कहिले सोच्दैनन् ।
हालैमात्र एउटा प्रदेशका मन्त्री महोदयले कता हो बडो फुर्तिका साथ जनताको काम गर्ने मनसाय राखेछन् र कति हो खै ? मा एनजिओसँग कुरा मिलाएछन् । उता कुरा मिलाएछन यता काम गर्ने कर्मचारीले उनले मिलाएको कुरा बुझेनछन् बबुराले । कति कमिशन खल्तीमा हाल्ने दाउ थियो होला मन्त्री महोदयको कोनि ? योजनामा पारेनछन् सचिवले अनि त के मन्त्रीको कन्पारो यस्तरी तातिएछ कि कतिखेर लबेटाले सचिवको गाला मुसा¥यो थाहै पाएनछन् । दुईचार पल्ट मुसारेपछि बल्ल थाहा पाएछन् । मन्त्री महोदयले मुसारेको गालामा सरकारी छाप लागेछ । छाप देखेर सचिवज्यूले नै घोषणा गरेछन् यो मुसाराई होईन यो चड्कन हो र मैले चडकन खाएँ भनेर । तिनको घोषणालाई तत्काल कसैले सुनेनछन् र आँसुले सम्झाएछन् बल्ल सबैले थाहा पाएछन् कि वास्तवमा त्यो चड्कन नै थियो भनेर । जनताको धड्कन बन्नु पर्ने नेता अझ मन्त्रीले धड्कनको साटो चड्कन हान्न थालेपछि के काम भयो र भन्ने गुनासो हुनसक्छ । तर, पहिला नेता बन्न अनि नेताबाट चुनाव जितेर सभासद हुन सानो कसरत ग¥या त हैन होला । अब तेत्रो कसरत गरेको भुसतिघ्रेले आफ्नो पावर कता प्रयोग गरुन् त ? जता सजिलो प¥यो उतै प्रयोग गरे । सचिवज्यू खप्न नसकेर अस्पतालमा गएर सुतेछन् । मन्त्रीले भनेको नमानेपछि यस्तो हुन्छ भन्ने पहिल्यै बुझ्नु त पर्ने हो नि । जनताले राहत पाउन् भन्ने सोंच अनि अर्को चुनावलाई फण्डको खोज समेत मिलाउने उद्धेश्यले त्यत्रो चाँजोपाँजो मिलाउँदा पनि सोचे अनुसार नभएपछि दुईचार चड्कन नहानेर के गरुन् त मन्त्रीले । उनले हानेको चड्कन विकासे धड्कनको नमुना हो भनेर किन नभन्ने ?
प्रत्येक प्रदेशमा एकएक चड्कन मन्त्रालय गठन गरेर यस्ता सुरालाई मन्त्री बनाईनु पर्छ । अनि देशको विकासले तिब्रता पाउँछ । राष्ट्र सेवक कर्मचारी भनेका मन्त्री महोदयका अरौटे भरौटे हुन । मन्त्रीले जे अराउँछन् जे बोकाउँछन् सुरुक्क गर्नु र खुरुक्क बोक्नुपर्छ । जस्ले मान्दैन नि उसले चड्कन खानु कुनै अनौठो कुरा हुदैन । विचरा कर्मचारीहरू कति सोझासाझा सरुवा गरि प्रदेश पठाइदिन्छु भन्दा एकहुल बाँधेर आन्दोलनमा उत्रिए । चड्कन खाँदा चुप । यो हो नि त काइदा अनि पो हुन्छ त फाइदै फाइदा । खोला तरुन्जेल पो लौरो चाहिन्छ पारि पुगेपछि किन चाहियो लौरो ? लौरो त खोलातिरै झटारो हाने भैगयो । अनि एउटा अनसन मन्त्रालय पनि गठन गरेर अनसन बस्नेको व्यवस्थापन गर्नसक्यो भने अझ काइदा हुने थियो । देशव्यापी दौडाहा अनसन गर्नु भन्दा प्रदेश पिच्छे एउटा एउटा अनसन मन्त्रालय भयो भने एउटै व्यक्तिले दौडाहा अनसन चलाउनु पर्ने थिएन । सन्दर्भ चड्कनको भएकोले चड्कनकै कुरा गरौं । चड्कन दुई नम्बरको हो र हान्ने पनि दुई नम्बरी नै हुन । अव दुई नम्बरबाटै चड्कन मन्त्रालय गठनको सुरुवात गरिनु पर्छ भन्ने मेरो भनाई छ । गर्नु नगर्नु त सरकार कै हातमा छ । जय होस् चड्कनको अनि जय होस चड्कन खाने सचिवज्यूको ।
काठमाडौं
२०७५।१०।०२