मेरो खप्पर उस्तो हो वा मेरा मालिकलाई दशा लागेको हो ? सिंहदरबारबाट  सरुवा भएर केन्द्रीय कारागार पुगेँ । मलाई खटाइयो त्यहाँका कैदीसँग संगत गर्नुपर्ने अवस्थामा । देशभरिका बदमास, फटाहा, चोर, डाका, जँड्याहा, रक्स्याहा, घुस्याहा, स्वास्नीकुटा, लोग्नेछोडा, घरपोला, छिमेकीपोला, बाबुआमा लखेटा, भाइमारा, दिदीबहिनी बेचा आदि मेरै वरिपरि भेटिन थाले । 

मैले जेलमा पहरा दिनुपर्ने । ती कैदी मान्छेका जीवनका रोचक पक्ष थिए । मलाई उनीहरूका कुरा सुन्न खुब चाख लाग्न थाल्यो । उनीहरू अनेक कुरा गर्थे । कहिले झगडा गर्थे । कहिले दुखसुखका कुरा गरेर सुध्रिएझैँ गर्थे । एकपटक देशमा नाम चलेका नेता पनि त्यसै जेलमा आए । उनको नाम नभनूँ फेरि आफ्नै देशको नेताको कुरा गर्यो भनेर अराष्ट्रिय तत्वमा दर्ता भइएला ? उनका दुई जना साथीहरू थिए नामुद जँड्याहा र झन् नामुद गजडी । उनीहरूका कोठाका कुरा सन्न ताजुपका थिए । 

मैले उनीहरूलाई बर्षौ सुनेँ । सुनेका सबै कुरा त अहिले बताइ साध्य छैन । म जतिका मान्छेले ती सबै कुरा सम्झन पनि मिल्दैन भन्न पनि मिल्दैन । भन्न मिल्ने कुरा मात्रै गर्दा केही कुरा भन्छु । के भनेदेखिन्, एक दिन थुनिएको जँड्याहाले नेतालाई भन्यो 

ए तिमी नेता । तिमी हेर्दा मूर्ख जस्ता छैनौ ।  मूर्ख भएका भए पो नेता बन्नु । हेर्दा सज्जन जस्ता छौ के नेता बन्नु ? 
पत्रिका पढ्दै गरेको नेताले टाउको उठाएर सोध्यो, के भनेको ? कसलाई मूर्ख भनेको ? मैले किन मूर्ख हुनुपर्ने ? के भनेको ? मलाई के सोचेको ? म त राज्यको मान्छे पो त । यही जेलको मान्छे ठान्यौ कि क्या हो ? 
जँड्याहाले फेरि सम्झायो,  मुर्खले विद्वान्लाई शासन गर्ने व्यवस्था हो अहिलेको व्यवस्था । यसलाई अवस्था भने पनि हुन्छ व्यवस्था भने पनि हुन्छ । कोटा पुर्याउने व्यवस्था क्या समानुपातिक । समानुपातिक भनेको नातापातिक । यस व्यवस्थामा हुने भनेकै आफ्नापट्टिका मावली, ससुराली झोले चाकडी फरिया तुनाबुना सबै पातिक ।  केही जान्ने पढेकालाई खाडी गाडेर मूर्ख आँैठाछापलाई गाडीमा घुम्न दिने व्यवस्था ।  शासकका लागि जनताले रगत पसिनाको दान गर्ने व्यवस्था  । तिमी पत्रिका पढेर बस्ने बुद्धिले देश चलाउन सक्छौ ? नेता हुन सक्छौ ?

गजडीले वीचमै रोक्यो । ए जँड्याहा तँलाई देश चलाउने कुराबारे के थाहा । म पनि सानोतिनो नेता नै हुँ क्या । संसद् हुन नपाएर गाँजा खान थालेको । त्यसै गाँजा खायो भन्ने ठान्या छस् ? 

ए मलाई जँड्याहा भन्ने ? म खोयाबिर्के जँड्याहा हुँ ? म सानो मान्छे हुँ ? मन्त्री हुन नपाएको झोकमा रम खान थालेको । म त रम्याहा हुँ रम्याहा । दुख बिर्सन रमाउन खाने क्या । मलाई जति देशको चिन्ता कसलाई छ ? आफ्नो मुटुभन्दा प्यारो जमिन बेचेर चुनाउ लडेँ । मन्त्री भएर फेरि किनुँला भन्ने थियो । मन्त्री हुन दिएनन् असत्तीहरूले ।  अनि पो पिएको त मेरो पीडा त कसलाई थाहा छ र ? यसको पीडा कि मलाई थाहा छ ? कि त्यही रित्तो बोतललाई थाहा छ । बुझिस् । रक्स्याहा भनेर नहेप नि ।

उसको बोली नरोकिँदै गजडी अगाडि बढ्यो ।  जँड्याहालाई जँड्याहा नभनेर के दुध्याहा भन्नु ? के जुस्याहा भन्नु ? के सर्वत्या भन्नु । मलाई जगडी भन्ने । म तेरो बाउ जस्तो झारपात खाने मान्छे हुँ ? जोरी खोजेको हो । बरु मेरा आइडिया नेताज्यूलाई काम लाग्छन् । 

के सम्झियो जँडयाहा केही बोलेन । ऊ चुपलागेर बसिरह्यो । ऊ नेतातिर फर्किएर भन्न थाल्यो, ए नेताज्यू, नेता हुन  स्वाभिमान  साँच्न होइन बेच्न सक्नुपर्छ । महान् नेताका आत्मकथामा स्वास्नी बेचेको पढ्न पाइन्छ थाहा छ ? कतिले देशको सिमाना सार्न दिएर आफ्नो नेता सामथ्र्य बचाएका छन् । देशको धर्म संस्कृति फेरेर वा बेचेर मित्रताको अर्को अध्याय थप्छन् र आफ्नो नेता बचाउँछन् । अलि बाठाले परपरका छिमेकी र आफ्नो घरको दुरी छोट्याई अझ सम्बन्ध झन् घनिष्ट र नजिक बनाउँछन् ।  तिमी जस्तो सोझो पनि नेता बन्छ । 
नबोल् गजडी  ।  जँड्यहाहाले पाखुरा सुक्र्यो
चुप लाग् जँड्याहा ।  जगडीले औँलो ठड्यायो ।
नबोल जगडी र जँड्याहा हो , नेता बोल्यो । 
म तिमीहरूले ठाने जस्तो कमजोर नेता होइन क्या ? मैले आज सम्म के गरिनँ । चाकरीमा कसका गोडा मोलिनँ ? धाक धम्कीमा कसलाई अपहरण गरिनँ । कसलाई तर्साइनँ ? कसका घरिवार फुटाइनँ ? कसका गुठ उपगुठका टाउका र पुच्छर जोडिनँ ? तिमीहरू के बुझ्छौ मेरो राजनीति कला ? त्यसै अर्कालाई उपदेश दिने ? सूर्यलाई बत्ती देखाउने ? अघाएकालाई खा खा भन्ने ? बाघलाई सिकार गर्न सिकाउने ? 

रक्स्याहा लर्बरिँदै औँलो ठड्याएर नाकै ताकेर अगाडि बढ्यो । उसले भन्यो, लु भन् त तैँले नेता बन्न के के गरिस् ? कतिवटा पुल काटिस्, कतिवटा टावर ढालिस् ? कतिवटा घर पोलिस् ? कति कार्यालय पोलिस् ? कति अपहरण गरिस् ? कति बलात्कार गरिस् र अर्कालाई जेल पठाइस् ? कति पुलिसको सरुवा बढुवा गरिस् ? कति मान्छे पालिस् ? कति मान्छे फालिस् ? कति लुटिस् ? कति चन्दा मागिस् ? ल भन् । अनि म पत्याउँछु तेरो नेता  गुण । त्यसै हामीलाई नेता हुँ भन्दै पङ्गु बनाउने ? तँ नेता कि हामी नेता ? तँ नेता कि म नेता ? तँ ठूलो कि न ठूलो । रम खानु सानो त्याग हो । मैले खाइदिएकाले स्वास्नीले मनपरी गर्न पाएकी छ । बाले मनपरी गर्न पाएका छन् । यो परिवारमा प्रजातन्त्र ल्याउने कुरा हो । तेरा लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र मात्र होइन अरु केके पनि यसैले दिन्छ दिलाउँछ ।  बुझ्या छस् ? 

गजडी उठेर छुट्याउँदै नबोल्न आग्रह गर्दे भन्न थाल्यो । अब तिमीहर धेरै बोल्यौ । अब बोल्ने पालो मेरो । नेता बन्ने काइदा तिमीहरू दुवैलाई थाहा रहेन छ ।  म त जे पनि गर्न सक्थेँ । तिमीहरूले जस्ता सबै विधि लाएर पनि म असफल भएँ । गाउँका भुस्याहा कुकुरले पनि मलार्य चिन्थे । मेरो काम नै गल्ली गल्ली डुलेर मान्छेका कमजोरी पहिल्याउँदै सहयोग गरेजस्तै गर्नु थियो । मलाई त लाग्छ कि नेता हुनुभनेकै नक्कली काम गर्नु हो । नक्कली काम गर्न सक्नुपर्छ क्या नक्कली । सक्कली कामले नेता भइँदैन । 

रक्याहा र नेता बोल्नै पाएनन् । नेता पत्रिका पल्टाउन थाल्यो । रक्स्याहा ज्ञानी बालक जस्तो बनेर कुरा सुनिरह्यो । गजडी बोलिरह्यो । गाँजा खानु सानो त्याग हो ? विदेशी कुरालाई प्रमोट नगरेर आफ्नो लोकल कुरालाई प्रमोट गर्नु सानो देशभक्तिको कुरा हो ? के हाम्रा छातीमा देशभक्ति छैन । के हामी यो देशको राजनीति गर्न जान्दैनौँ ? 
गजडीले भन्यो, नेता बन्ने भए । गाँजा सिक्नु पर्यो । देशमा गाँजाको लिगलाइज गर्नुपर्यो । यो शिवजीलाई शिवजी बनाउने ओखती । व्रह्मालाई शृष्टि गराउने वस्तु । गाँजा मात्र छुट गरे सारा युवाको फोट तँलाई । म तेरो झोला बोकेर हिँड्छु । छोडिदिन्छु पुरानो पाटीसाटी । वरिको बिगारी परिको सिँगारी के बिग्रियो ? 

नेता बोल्न पाएन । रक्याहाले भन्यो । नेता बन्ने भए लोकल रक्सीको प्रमोट गर्नुपर्यो । विदेशी रक्सी बेच्न, विदेशीको व्यापार बढाउन हाम्रा दिदीबहिनीको श्रम नालीमा खन्याउने । जुन नेताले जाँड खुवायो त्यसले चुनाव जित्यो, संसद्खायो, मन्त्री खायो । सबै संसार सक्यो । 

नेताले उनीहरूलाई के के भनेर सम्झाउँदै थियो । दुवै एक मुख भएर भने । वास्तवमा हामी रक्याहा र गजडी दुवै अन्यायमा छौँ । हाम्रो शक्ति यो जस्ता नेताले बुझेकै छैनन् । हाम्रो कुन पुलिससँग संगत छैन । हामी नपुगेको जेल कहाँ छ ? हाम्रा साथीहरूको देश विदेशमा कुन ठाउँमा पहुँच छैन ? हाम्रो जस्तो एकता तेरो जस्तो कुन पार्टीमा छ ? हाम्रो जस्तो मेल कुन परिवारमा छ  ? हामीजस्तो मिलेर बाँडेर खाने मान्छे कहाँ छन् ? हाम्रो संगत गर नेता तँलाई मालामाल गरिदिन्छौँ । यो जेलका ठूला हाकिमले हामीले भनेको मान्छन् । उनीहरूले सहयोग नगरे हामी अहिले यतिको कुरा गर्न सक्थ्यौँ ? हाम्रा लागि मान्छेको सानो लगानी छ ? 

आफूलाई भने जगडी, जँड्याहा र नेता हुन नसकेको पीडाले खट्पटी भएर झन्डै मरेँ । म यी तिनै जना शक्तिशाली देख्न थालेँ । आफू हातमा बन्दुक भएर पनि कमजोर लागेँ । आखिर मेरै हाकिम उनीहरूलाई गाँजा र रक्सी पुर्याउँदो रहेछ ।  जीवन रमाइलो त उनीहरूकै छ बा । म पनि यो पुलिसको जागिर छोडेर कि ड्याहा बन्छु, कि जडी बन्छु, कि ता बन्छु । यो लिसको काम भएन । जमाना याहाको रहेछ । घुस्याहा, रक्स्याहा, लुटाहा, मुठ्याहा, चुत्याहा हेर न कति चर्चामा छन् । जडीको अवस्था उस्तै मालामाल देख्छु । गजडी मात्र हो र ? अगडी, बगडी, भगडी, गडबडी, हडबडी सबैलाई मालामाल । त्यासो नभए ता बन्छु । नेता बन्छु नेता नभए फिता बन्छु, फिता नभए नेता बन्छु । नेता र फिताको अर्थ मलाई जति कसलाई थाहा छ ? सम्पन्नता, उत्कृष्टता, विशिष्टता, सम्भाव्यता, सभ्यता सबै तामा छ । जे मा ता लगायो त्यही विशेष । म कि यहा बन्छु । कि अडी बन्छु कि ता बन्छु । तर पुलिस बन्दिनँ । हल्दार पनि बन्दिनँ, असही सही इनिस्पेक्टर केही बन्दिन । आइ.जी डिआइजी केही पनि बन्दिनँ । जे बने पनि आफू माथिकालाई सलाम हान्नबाहेक केही जानिँदैन । यस्तो जीवन पनि जीवन । औल माछा चरदेखि लेक डाँफेचर सम्म जान्ने यिनको जीवन पो जीवन । कि याहा, कि अडी  कि ता । दायाँबायाँ आँखा चिम । नवा सखी नवा मन । नयाँ चेतना आविर्भाव । पुराना किला नयाँ ताना ।

पशुपति बहुमुखी क्याम्पस, चावहिल काठमाडौँ