सञ्चार माध्यमहरूले सांसदविरुद्ध पासो थापेर, गोप्यता बाहिर निकालिदिएर प्रचारप्रसार गरेर बद्नाम गरेकामा एक जना सांसद महोदयले आपत्ति प्रकट गर्नुभयो ।  सांसदज्यूलाई मात्र होइन, सञ्चार माध्यमले त सबै वरिष्ठहरूलाई सधैँ पासोमा पार्न खोजिरहेकै हुन्छन् भन्ने उहाँलाई थाहा हुनुपर्ने हो । यसले नेताहरूलाई, मन्त्रीहरूलाई, प्रशासकहरूलाई, ठूलाठूला व्यापारी वा उद्योगपतिहरू, जसलाई पनि मौका पायो कि पासोमा पारिहाल्छन् । सरकारलाई पनि यसले पासोमा अल्झाइरहन्छ, स्थिर भएर काम गर्न दिँदैन ।

यसले पासो नथापेको भए कुन कर्मचारी वा मन्त्रीले कति घुस ज्यूनार गरिरहनुभएको छ, कुन माननीय वा सम्माननीयले राख्दै नराखेको भान्से, अर्दली र ड्राइभरको कति तलब खल्तीमा हाल्नुहुन्छ, पत्तै हुँदैनथ्यो । घर भईभई घरभाडा खाने माननीयज्यूको अनुहार कस्तो हुन्छ भन्ने पनि दुनियाँलाई थाहा हुँदैनथ्यो । कुन न्यायमूर्तिले कति घुस खाएर कति पटक कति जनामाथि अन्याय गर्नुभयो, उहाँका कति वटा जन्ममिति छन्, न्यायमूर्तिको कुर्सीमा बसेर उहाँहरू कस्ताकस्ता चलखेल गर्नुहुन्छ, हामी बाहिरियाहरूलाई पत्तो हुँदैनथ्यो । कुन सन्त वा गुरुले कुन आश्रममा कति जना चेलीको चीरहरण गरे भन्ने पनि सुन्नु पर्दैनथ्यो । कति सन्चो हुन्थ्यो हामीलाई !

थाहा पाउनुभयो नि माननीयज्यू, यिनै सञ्चार माध्यमहरू हुन् समाजमा अशान्ति फैलाउने ! एउटा घटना उचाल्यो, त्यो सेलाउन नपाउँदै अर्को घटना खोजेर ल्याएर झ् याप्प बजारमा बिस्कुन लगाइदिन्छन् । यिनीहरूले पासो नथापेको भए कञ्चनपुरको निर्मला पन्त प्रकरण यसबेलासम्म उहिल्यै रहस्यमय हत्याकाण्डमा परिणत भएर सामसुम भइसक्थ्यो । वायु सेवा निगमको वाइडबडी खरिदमा पासो थापेर गडबडी नगरिदिएको भए सबै कुरा भित्रभित्रै मिलिसक्थ्यो । त्यो कुम्भकर्णे जहाज आएर एयरपोर्टमा लम्पसार परिसकेकै थियो । त्यसको साहूले पाउनुपर्ने भुक्तानी पाइसकेकै थियो । चले चल्थ्यो, नचले सुगतर त्नजीहरूको के जान्थ्यो ? लौ अब हेर त, हाकिम, कर्मचारी, मन्त्री, पूर्वमन्त्री, सचिव कोको पर्ने हुन् पासोमा, खतरा बढेर गएन त ? यी सञ्चारकर्मीहरू न्यारोबडीमै बसेर भए पनि यसो विदेशसिदेश घुमेर चुपचाप बसिदिया भए कसलाई थाहा हुन्थ्यो, यसको खरिदारीमा सुन्दै रिंगटा लागेर पुक्लुक्कै ढल्ने परिमाणको रकम हिनामिना भएको छ भनेर !

पछिल्लो एक रात अलिक सन्चले सुतिएको थियो । बिहान उठ्दा ‘बुद्ध भगवान्’ पासोमा परेको समाचार छ्याप्छ्याप्ती भइसकेछ । बालकैदेखि जंगल पसेर वर्षौंदेखि उतै बसेर हजारौँ भक्तजन पछि लगाएर मस्तले गरी खाँदै आएका रामबहादुर बम्जनका बहादुरीहरू कताकताबाट खोजेर ल्याएर एउटा पत्रिकाले दनादन समाचार छापेपछि हामी फेरि उद्विग्न भइहाल्यौँ । ल हेर्नुस् माननीयज्यू, सञ्चार माध्यमको पासोमा हामी मान्छे त के स्वयं भगवान् पनि पर्न थाले ।

यिनीहरूले यसरी अनेक समाचारका पासोहरू नथापिदिने भए तपाईं–हामीले सधैँ छटपटीमा बाँच्नुपर्ने थिएन । जे हुन्थ्यो, भित्रभित्रै हुन्थ्यो । हामी खानेकुरामा नाममा विष खाँदैछौँ कि, तेलका नाममा सवारी साधनमा हावा भर्दैछौँ कि, दूधका घुट्कासँगै दिसामा पाइने जीवाणु सेवन गर्दैछौँ कि, हामीलाई केही थाहा हुने थिएन । त्यस्ता कुरा थाहा नपाउन पाएको भए हाम्रो प्रेसर बढ्ने थिएन । स्वास्थ्य ठीक हुने थियो । मनमा शान्ति हुने थियो । नेपाल समृद्ध नभए पनि हामी यसै सुखी हुने थियौँ । यी सञ्चार माध्यमले थापेका पासोमा परेर हामी सबैको जिन्दगी धरापमा पर्यो । सकिन्छ भने यिनीहरूलाई अंकुशे लगाउने विधेयक ल्याऊँ है माननीयज्यू !

नेपाल,  पुस २६, २०७५