सबै कुराको समय हुँदो रहेछ । वाल्यकाल आमाको काखमा खेल्दाखेल्दै कतिखेर तन्नेरी भइयो थाहै पाइएन । तन्नेरी भइयो अन्तै गइयो ।  त्यो समय छोटो भए पनि महत्वपूर्ण थियो । त्यसपछि तीस वर्ष जागिरे भइयो । तीस पनि कतिखेर बित्यो थाहा पाइएन भनौं, भनौ भनेर किन भनेको भने, बल्ल थाहा पाउँदैछु नि त । जागिरको आधाआधी याने मध्यभागमा आइपुग्दादेखि यो फिरन्ते (मोवाइल) बोकियो । केही काम परोस् कि नपरोस् फिरन्ते चिच्याउँथ्यो टिरिरी टिरिरी । चिच्याएर दिक्क लागे पनि आफूलाई सधै सक्रिय बनाई राख्थ्यो । त्यसपछिको अवधिमा पनि फिरन्ते कराउन छाडेको थिएन कारण कतै न कतै कुनै न कुनै काममा सक्रिय नै थिएँ होला । 

हाल आएर म आफू बाहिरी सक्रियताबाट निस्क्रिय भएर होला क्यार फिरन्ते चिच्याउन छाड्यो । सबै कुरा मत्लवसंगै गाँसिएको त हुँदोरहेछ । अझ पछिल्लो समयमा त जान्ने भएर फिरन्ते पनि दुई दुई वटा राखेँ । एउटाको त स्वार्थ पुरा गर्न नसकेको बेला दुई दुईवटा किन राखें मलाई नै थाहा छैन कस्लाई सोध्नु । फिरन्तेभित्र खै त्यो एप्स होकी टेप्स के हो ? हरूमा केही त सामाजिक सञ्जाल रे, तिनैको पनि प्रयोग मजैले गरियो कुनै बेला नामै रहेको थियो, अनुहार कितावे (फेसबुके) भनेर । हुनपनि चलाईयो नि नचलाएको त कहाँ हो र त्यै थियो र त सबैसंग छिनछिनमा दुरुस्त (अपडेट) हुन  पाइन्थ्यो । भाइवरको ड्राईभर पनि भइयो । ट्वीटरको ट्वीटे पनि भइटोपलियो । अनि समाचारे (मेसेन्जर) पनि राम्रै चलाइयो । समाचारेले अझै कुनै कुनै वेला टङ्गल्याङ्ग टुङ्गलुङ्ग गर्दैछ । एप्स कराउने आफ्नो ठाउँमा त छँदैछ । तर कहिलेकहिं त त्यै पनि किन कराँउछ काम न काज जस्तो लाग्छ । यी त भए फिरन्तेभित्र रहेका उस्का केही अवयवका कुरा ।

त्यो फिरन्तेलाई यति माया गरेर राखेको, धेरैले मुटुमाथि पारेर खाख्नु हुन्न है भन्दा पनि उस्उस् गर्दै सधै मुटु मै टाँसेर राखियो । तर फिरन्तेले माया बिर्सियो । अब त चिच्याउनै छाड्यो । कहिले कहिं त लाग्छ मसंग फिरन्ते नै छैन । पहिला त कार्यालयमा काममा व्यस्त भएको बेला होस वा बाटोमा रफ्तार साथ कुदिरहँदा होस् चिच्याएर कतैबाट विद्यार्थीले हेलो भन्न लाग्या छ है भन्थ्यो त कहिले कतैबाट काममा भएको व्यस्त आफ्नोले ढोग भन्दैछ अनि हालखवर सोध्दैछ है भन्थ्यो । त्यसपछि अर्को जिम्मेवारीमा हुँदा दिनमा कम्तिमा दुईपल्ट चिच्याउँथ्यो र आवाज आउँथ्यो खाना खानुभयो ? के गर्दैहुनुहुन्छ ? अनि त्यो फलानो के गर्दैछ सुत्यो कि खेल्दैछ ? के खायो कि खाएन ? आदि आदि । जिम्मेवारी छुट्यो चिच्याउन पनि छुट्यो । कहिलेकहिं एप्समा हरियो दाँत देखाएर उभिएका मानिसहरू पनि हेरेको हे¥यै गर्छन् । के छ खानु भयो कि भएन सन्चै त हुनुहुन्छसम्मको स्वर खर्च गर्न चाहाँदैनन् । हुन त के मतलव र समय खेर फालेर एप्सलाई दुःख दिनु भन्ने पनि लाग्दो हो । स्वभाविकै पनि हो । तर ए बाबा यो दुई दुई वटा फिरन्तेलाई मुटुमा टाँसेर राखेको के काम ? बेला बेला नारीमा बाँधेको यो फिटविट हो कि चिटचिट हो धर्र धर्र गरेर थर्काउँछ । किन रे भन्दा त यति पाइला हिंड उति पाइला हिँड रे ! तेस्को बाजे आफू के गर्दै हुइन्छ उस्लाई चाहिं डुल्नु पर्ने । जे होस् इमान्दारिता पनि केही त हो त्यस मामलामा यो इमान्दारै छ । समय सकिदै जाँदा सबै चिजहरूले विस्तारै छोड्दै जाँदारहेछन । अव यो काखमा राखेर चलाउने काखे नानी जस्तो ल्यापटप कि च्यापटप के भनौ ? पहिला पहिला एकपल्ट टन्न खुवाएपछि मज्जाले धेरैसम्म काम दिन्थ्यो । आजकाल लगातार शक्तितार (पावर केवल) नजोडी चल्नै मान्दैन । बरु अस्ति बाहिर जाँदा बाटो काट्न ठिक्क परेको पाङ्ग्र्रे बिरालोलाई मायालु स्वरमा हेर म बाहिर जान लागेको बाटो नकाट ल भनेको उस्लाई पनि कता कता मेरो माया लागेछ क्यार बेला बेला भ¥याङ्गमा आएर म्याउँ गरेर हालखवर सोध्छ विचरा । कहिलेकहिं त आधारात मै कराँउछ । कहिले बिहानै आएर मुख हेर्दै कराँउछ अनि भन्छु भरखर उठेको भजन गर्नेबेला भएको छैन एकछिनपछि आईज ल भन्छु । किन बोलाउँछु भने हार्मोनियमको सात स्वर मध्ये कुनै न कुनै स्वरसंग उसको म्याउँ पनि मिल्छ र विर्सिराखेको स्वर सम्झन्छु । 

हेर्ने र देख्नेहरूले के के सोच्छन् थाहा छैन तर म आफूलाई व्यस्त र रमाईलोसँग समय काट्न सजिलो बनाउँन टिकटकमा पो लागेको छु । कम्तिमा नचिनेकैहरूले पनि त्यो छोटो क्लिप्स हो कि टिप्स हो हेरेर पानको पात त रातो पार्छन् । आनन्द लाग्छ र बेलाबेला गन्छु कतिवटा पानका पातहरू राता भए भनेर । अझ कोहीले त लेखिपठाउँछन वा दामी छ रे । तिनलाई के थाहा दामी बनाएको हो कि चित्त बुझाएको हो भनेर । नाम पनि खै के के हो र कसरी राख्या हो त्यो त थाहा छैन तर त्यो स्मुल भन्ने पनि मेरो जीवनको सहयात्री बनेको छ । आजसम्म बोरा च्यातेकै जस्तो स्वर भए पनि सोलो र डुयटमा नेपाली र हिन्दी समेत गरेर तीन सय अड्सठ्ठी वटा गीत पो गाईसकेंछु । त्यसैको सहायताले तेह्रवटा गीत त युट्रयुव मै पो हालिएछ । यी सबै जीवनसंगैको प्रवाह रहेछ । ठिकै छ, जीवन बित्दैछ र यसरी नै बितोस् मलाई फिरन्तेको कुनै चासो छैन । कराओस कि नकराओस, हालखवर सोधोस् कि नसोधोस् ।
२०७५।१०।०५