फन्फनी मेरो गिदी घुमिरहेछ विकृति र विसंगतिले नछोएको केही छ कि भनेर खोज्न । जतासुकै आधुनिकताको प्रभाव परेको वर्तमानमा उत्तरआधुनिकता थपिएर झन् क्षतविक्षत भैरहेको मात्र पाएँ । कतै कुनै चिज पनि कत्ति सग्लो भेटेन । कताकताबाट हो कुन्नि सहिदमा पुग्दा एकछिन अलमल ग¥यो । त्यतै हरायो पनि । जस्तो शहिदको मृत्यु हराएको छ । 

ऊ पहिले शहीद थियो शुक्रराज होस् वा गङ्गालाल ः गुरूप्रसादको वीरबहादुर वा देवता बाबु ! शहीद थिए । अहिले भने ऊ सहिद भएर निस्केछ । कत्रो परिवर्तन ! कत्रो सुधार ! कति उन्नति शहीदबाट सहिद ! मैले जान्दाजान्दै भयो अब कतै षइद पो भइजान्छ कि ? 

मैनालीको परालको आगोलाई इन्द्रबहादुरले ‘कठपुतलीको मन’ बनाइदिए झै मैले उनको शहीदलाई सहिद बनाइदिएको हैन । यसले त कसरी आफ्नो स्वरूप र मूल्य मान्यतामा परिवर्तन गरेछ कुन्नि पत्तै भएन । विधाभञ्जन, विधामिश्रण यस्तै के के भनेर नाचेको उत्तरआधुनिकतावादले हो यो कु÷सु कार्य गरेको । हैन भने कसलाई सोध्ने हो सोध्नुहोस् न आपैm । सहिदमा पुगेर टक्क रोकिएको मस्तिष्कले वीरबहादुर जस्ता शहीद भेटेन । बरू सैद भेट्न थाल्यो । अब त मेरो निबन्धको पात्र ? (निबन्धमा पनि पात्र हुन्छ र !) सनकबहादुर पनि सैद, तपाइँको घरको दनकबहादुर पनि सैद !! मान्छेको त कुरै बेग्लै भो ! गाडीले हानेर सडकमा पसारिएको कुकुर पनि सैद । शिकारी केटाले गुलेली हानी रूखबाट भुइँमा पछारिएको ढुकुर पनि सैद । मैले यो कुरा त्यत्तिकै कहाँ गरेको हुँ र ? गुलेली हानेर चरा मार्न हिँडेका अल्लारे ठिटाहरूको कुराकानी सुनेर भित्रैदेखि उत्पन्न विचार हो यो । तिनीहरू भन्दै थिए– मैले त एउटालाई सैद बनाइदिएँ यार, तैले के गरिस् हँ ? वाह ! शहीदको त्यत्रो अपमान !! 

केही बेरपछि मेरा आफ्नै हितैषी मित्रलाई भेटेँ । हात के मिल्न पाएका थिए मुख फोरीहाले– “आइपुग्दा बाटैमा कमिलाको ताँती रहेछ । बाटैमा आँखा गाडेर हिँड्ने बानी पनि छैन । कच्याप्प टेक्न पुगेँछु थुप्रै सैद भए ।” वाफ रे ! शहीद शब्दको त्यत्रो अवमूल्यन ! के अब मर्ने जति सबै सैद हुन थालेका हुन् ? स्वाइनफ्लू सामान्य रूघाखोकी भए जस्तै । नभन्दै त्यो त हो रहेछ । म पो निकै पछाडि रहेछु यस गतिशील संसारमा । एकदिन आमाले कपाल कोरेर झारिदिएका जुम्रा मारेपछि मेरी सानी छोरीले भनी– “बाबा, बाबा, मैले त आथ ओता जुम्रालाई सैद बनाइदिएँ ।” कस्तो अचम्म ! छोरीले त्यो उमेरमा जानिसकेकी शब्द मलाई थाहै रहेनछ । अझ मैले विकृतिरहित वस्तु खोज्दा किन त्यहाँ पुगेर रोकिएको होला यो खप्पर ! 

त्यसो त आफ्नो देश, संस्कृति र स्वतन्त्रताको प्राप्तिका लागि बलिदान दिने लोकहितमा लाग्ने अमर व्यक्तिलाई सहिद भन्नु पर्ने हो तर आजभोलि त्यत्रो ठूलो विचार र योगदान केही नभए पनि सैद भैहाल्न पाइने । अनि त भन्दा रहेछन् नानीबाबुहरूले पनि जुम्रालाई सैद । यसो सोँच्दा ठिकै जस्तो पनि लाग्यो । टाउकोमा रगत चुसी चुसी जुम्रो लोकमा अमूल्य योगदान पु¥याएको पो कसो नहोला र त्यो जुम्राले ।। गल्लीमा रल्लिने कुकुर दुनियाँमा के त्यो कुकुरले कुनै योगदान पु¥याएको नहोला र ? पक्कै हुनुपर्छ । उता ढुकुरको आफ्नै रमाइलो संसार छ । ढुकुरको हकहितका लागि ऊ अहिलेसम्म लडेको थियो । विचरा यही क्रममा सैद बन्यो । गुलेलीको मट्याङ्ग्रो खाएर उसले त्यो ढुकुरदुनियाँमा बलिदान दियो । यस्ता थुप्रै प्राणीहरूको आफ्नै संसार छ । उनीहरूमा पनि नेता हुँदा हुन्, आन्दोलन हुँदो हो, ठूलाबडाले सानामाथि दमन, शोषण, अन्याय, अत्याचार गर्दाहुन्, तिनीहरूमा पनि कुनै आतङ्ककारी हुँदाहुन् । कुनै साम्यवादी अनि कुनै समाजवादी, कुनै राजावादी.... नपत्याए मौरीलाई सोध्नुहोस्– तिनीहरू राजावादी कि गणतन्त्रवादी, तिनीहरूका सैद छन् कि छैनन् ? 

सैद घोषित हुन योग्य छ छैन भनेर नाप्ने यन्त्रको आविष्कार भएको छैन । कुन सत्ताका विरूद्ध लड्दा मरेमा सैद घोषित गरिने भन्ने पनि ठेगान छैन । सैदका पनि प्रकार हुन थालेका छन् । विद्यार्थी आन्दोलन भयो विद्यार्थी सैद, दलित आन्दोलनमा म¥यो दलित सैद, सडक आन्दोलनमा मरे सडक सैद, मधेस आन्दोलनमा मरे मधेस सैद.... के के हो के के । कसको कति योगदान ? कसको कस्तो बलिदान ? त्यो कसरी नाप्ने ? सत्ताका रक्षकले रात रातभर यातना दिएर मारोस् वा सोझै गोली हानोस् । खुर्सानीको राग लगाएर सताओस् कि शरीरभरि आलपिन घोचेर दर्दनाक हत्या गरोस् । सबै एकनास, सबै सैद । यति मात्र हो र ? सत्ताका भक्षकले छाला चिरेर मारोस् वा दश ठाउँबाट हातखुट्टा भाँचेर यातना दिइदिइ मारोस् सबै सैद । अब हाम्रा उत्तराधिकारीहरूले सैदको अर्थ, परिभाषा कसरी बुझ्ने ? के जान्ने ? 

हैन सैद हुन आन्दोलन वा युद्धमै लागको बेला मर्नुपर्ने कि जहाँ जहिले मरे पनि हुने ? यो प्रश्नको उत्तर तपाइँ नै खोज्नुहोस् । म भने अर्को प्रश्न थोपर्छु तपाइँमाथि । वीरतासाथ लडेका आन्दोलनकारीहरूको रमिता हेरेर छतमा बसेका बेला अन्धाधुन्ध गोली चलाउँदा त्यो गोली लागेर मरे भने कुनै योगदान नभए पनि सैद होइन्छ । तर जीवनपर्यन्त राष्ट्रका लागि अमूल्य योगदान पु¥याएर कालगतिले मर्छ भने सैद किन नबन्ने ? छतमा लुकेर रमिता हेर्ने र आन्दोलनकारीमाथि उल्टै ढुङ्गा बर्साउने गरेको भए पनि पुलिसको हात बाङ्गिएर गोली खाए त्यो सैद भैहाल्छ नि ।
मन, विचार, योगदान, नियत आदि भावहरू नाप्ने यन्त्र वैज्ञानिकहरूले बनाउँथे भने सैद को हुन्थ्यो हुँदैनथ्यो थाहा छैन तर अहिलेसम्म त्यस्ता यन्त्र आविष्कार भएका छैनन् । मेरै पात्र सनकको योगदान राष्ट्रको निम्ति अमूल्य छ । सारै निम्नस्तरबाट हेर्ने हो भने पनि एउटा श्रमजीवी जनताको के कुनै भूमिका नै छैन त देशको निम्ति ? उसको श्रमले ऊ आपूmमात्र त पक्कै पालिएको छैन । त्यसले काम गर्ने उद्योगपति उँभो लागेको छ । परिणाममा त्यही उद्योगपतिको कारण देशले आर्थिक विकास गरेको छ । यो कसले हेर्ने ? भूपिले भने भैmँ यहाँ दौड्ने पाइतला हुन्छ तर टीका थाप्ने निधार हुन्छ । अनि कहिल्यै पनि पाइतला सैदको सूचीमा पर्दैनन् निधार मात्र सैद हुन्छन् । 

आफ्नो देशको नाम विश्वभर फैलिंदा खुशी नहुने को नै होला र ः तपाइँलाई थाहै छ नेपाललाई गौतम बुद्धको देश, सगरमाथाको देश, मन्दिरै मन्दिरको देश .... थुप्रैले चिनिन्छ । नाम कमाउने होडमा अब नेपाल सैदै सैदको देश भनेर पनि विश्वले चिनोस् !! म यो अभियानलाई अघि बढाउन तयार छु । तपाइँ साथ दिनुहोस् । कुनै देशमा जन्मे जति नागरिक सैनिक हुनुपर्ने कानुन छ भने हाम्रो देशमा मर्ने जति सबै सैद घोषित गर्ने कानुन किन नबनाउने ? कि जनसाधारणको राष्ट्रमा कुनै काम छैन भन्नुप¥यो कि सैद घोषित गर्नुप¥यो । सडक दुर्घटनामा मरे पनि, दुर्घटनामा परे पनि, घाँस काट्दा ठाडेभीरबाट झरे पनि, ज्यान पाल्न नसकेर आत्महत्या गरे पनि सबै सैद ! आन्दोलन गर्दा गोली खाए पनि देश बनाउन लागेकाहरूलाई सुराक दिए पनि सुराकी भनेर सीधासाधाको ज्यान लिए पनि सबै सैद ।
किन सीमित व्यक्तिलाई सैद घोषित गरेर दश लाख दिनुप¥यो ? बरू मर्ने जति सबै जनता स्वतः सैद हुने भए दश हजार मात्र दिए पो के फरक पर्छ र ? अन्त्येष्टि गर्दा चन्दा उठाउन त पर्दैनथ्यो । यता जनतालाई पनि राहत हुने उता देशको पनि नाम चल्ने कस्तो फाइदा हुन्थ्यो । 

मेरो दिमाग पनि कस्तो ठाउँमा गएर अल्झेछ कुन्नि ! यसो हेर्दा सैदमा झन् विकराल विकृति भित्रिइसकेछ । जो सुकै जसरी मरे पनि सैद रे ? आखिर म पो अनविज्ञ रहेछु त । शिकारी केटोले सैद भनेको नै ठिक । सैदको मूल्यमा यतिसाह्रो गिरावट देखिएला जस्तो लाग्दैनथ्यो । सैदगेट भनेर काठमाडौँमा ट्याम्पो रोक्ने ठाउँ मात्र भएको छ । यी राणा सरकार विरोधीलाई मात्र किन सैद भन्ने ? पञ्चायत विरोधी गणतन्त्र विरोधी..... यस्तै कुनै तन्त्र भविष्यमा जन्मिदै जाँदा र त्यो तन्त्र बेठीक ठानी अर्को नयाँ तन्त्र स्थापना गर्नका निम्ति लड्ने र मर्ने पनि त सैद होलान् नि । त्यसो त त्यतिबेलासम्म षइद वा सैद भैसक्न पनि के बेर ?  लौ आउनुहोस्, त्यस्ता सबै प्रकारका तन्त्र विरूद्ध लड्ने ज्ञात–अज्ञात जुम्रा, ढुकुर, कुकुर, उपत्यका, मधेस, तरूण, युथ, योङ्ग.... थुप्रै सैदहरूलाई  श्रद्धाञ्जली स्वरूप साठी सेकेण्डसम्म मौन धारण गरौं ! 
आखिर सैदको सम्मान नै अरू के छ र योभन्दा बढी ।

(हालै प्रकाशित ‘बोकाको मन’ व्यङ्ग्य निबन्धसङ्ग्रहबाट)