कवि र बुटपालिस
ऐ हाम्रा बुटपालिस गर्ने कवि मित्र,
ल भन्नुस् !
आज किन एक्कासी, {{read_more}}
पेटीमा बसेर गर्नु भयो,
बुटपालिसको शुरुवात ।
बात बेबात, हान्न हाम्रो पेटमा लात,
ऐ कवि दाइ !
न तपाईंको बुटपालिस गर्ने जात,
न तपाईंको बुटपालिस गर्ने औकात
फेरि कुन चाहनाको बोकी बहाना
गर्नुभयो हाम्रो पेशामा कुठाराघात ।
हो तपाईंका समस्या होलान् जायज
तर बुटपालिसनै रोज्नु एकदम छ नाजायज ।
ठानेर बुटपालिसलाई तल्लो काम
बोलाएर फोटोग्राफर गरेर तामझाम
नगर्नु पर्ने काम, दिउँसै गर्नुभयो खुलेआम
हाम्रो इज्जतलाई पछार्नु भयो भुँइमा धडाम् ।
हो तैपनि देशका साहित्यकारहरूको हितका लागि
यो पनि सहिदिउँला
तपाईंसँगै जता भन्नुस् गइदिउँला
तपाईंकै भावनालाई बुझेर बहिदिउँला ।
तर यदि सक्नुहुन्छ भने
एक दिन त पूरै हामीसँगै बस्नुस्
सडक किनारमा धुलो खानुस्
घामपानी सहनुस्,
हाम्रो पनि दुःखद् स्थिति कस्तो छ
प्रत्यक्ष बुझेर कविता लेख्नुस् ।
कवि दाइ रिसानी माफ होस्
लाज त हामीलाई पनि नआइ मान्दै–मान्दैन ।
देशको नामुद कविले किन
एक ब्रुश समाउन पनि जान्दैन ।
हजुर उता टाढा किन बस्ने,
सिकाइ दिन्छौं नजिक त आउनुस्
हामी जुत्ता मरम्मत गर्छौं,
तपाईं यसरी समाएर ब्रुश मजाले हान्नुस् ।
हो दाइ ! तब पो अनि
तपाईंसँगै छापिनेछ भोलि अखबारमा
–हाम्रो फोटो पनि ।
विराटनगर