लौ हेर्नुस् नयाँ नेपालको नयाँ शब्द ! बिलकुलै नयाँ, अझ भनौ भने हाइब्रिड शब्द !! अक्षरको अक्ष र रुपियाँको रुपि मिलेर बनेको कस्तो गज्जबको शब्द ‘अक्षरुपि’ !! अक्षरुपि जस्तै गरेर नेपाल पनि नयाँ बन्दैछ । कताको आधा कता मिसाएर हुन्छ, कताको कता जोडेर हुन्छ जसरी पनि नेपाल नयाँ हुनुपर्छ, होस् । तर अर्थ न बर्थ गोबिन्द गाई भने झै अक्षरुपि जस्तो भयो भने साँच्चिकै हामी नेपाली पनि सबै हाइब्रिड हुनेछौँ, केही समयपछि कसैले पनि नेपाली भनेर चिन्ने छैन, नयाँ नेपाली नै भन्नुपर्नेछ हामीले आफूलाई बुझ्नु भो?

अक्षरुपि भन्ने शब्द नेपाली भाषाका ज्ञाताहरूलाई प्रयोग गर्न लाज लाग्नु पर्ने हो । संस्कृतको अक्षर र अपि अर्थात् पनिको सन्धि भएर अक्षरेपि हुनु पर्नेमा सुझ न बुझसित अक्षरुपि बनाएको देख्दा त जरैबाट रिस उठेर आउँछ । बोलचालमा त भैगयो भनेर माफ गर्न पनि सकिएला तर लिखित रूपमै हुँदा न खाँदाको शब्द प्रयोग गर्नु आपत्तिजनक छ । त्यो पनि सामान्य निरक्षर जनताले भए त हुन्थ्यो सरकारी स्तरबाटै ।

हुन त यस्ता बिग्रे भत्केका कैयौँ कुराहरू छन् तैपनि भाषामाथि हुन थालेको अतिक्रमण मन्द विष जस्तो हो । बाहिरबाट उस्तै भित्रबाट उस्तै हैन नेपाली भाषालाई जोगाउन को लाग्ने हो ? कसले पहल गर्नुपर्ने हो ? देशको अस्तित्व जोगाउन सीमानाको जति महत्त्व रहन्छ त्यत्तिकै भाषाको पनि रहन्छ । भाषा सबैभन्दा बढी जोगिनु पर्छ । त्यसपछि संस्कृति अनि धर्म । हाम्रा यी तिनै कुरामाथि चौतर्फी आक्रमण भैरहेको छ । एक्लै बसेको बेला पनि हाँसो उठ्छ । संविधानमा मातृभाषामा शिक्षा पाउने हक सुरक्षित छ । यता सबैभन्दा धेरै चवालिस प्रतिशत जनताको मातृभाषा नेपाली हुँदाहुँदै विद्यालयमा शिक्षा दिइन्छ अङ्ग्रेजी भाषामा । हैन कति प्रतिशत जनताको मातृभाषा रहेछ अङ्ग्रेजी !

शङ्का लाग्छ, कतै अक्षरुपि पनि यस्तै नेपाङ्ग्रेजी भाषामा शिक्षित भएका हाइब्रिड विद्वान्हरूबाट त भएन ? बोलचालमा शुद्धता नआई लेखनमा आउँदैन । भाषाका चार सिप नै सुनाई, बोलाइ, पढाइ र लेखाइ हुन् । सुनेको बोल्ने र बोलेको लेख्ने प्रक्रिया भाषामा हुन्छ । अग्रज पुस्ताले सही बोल्ने हो भने अनुज पुस्ताले सही सुन्छ, सही बोल्छ र सही नै लेख्छ । अब अक्षरेपि लेख्ने ठाउँमा अक्षरुपि लेख्न थाल्यो भने हालत के होला भाषाको ? बोल्दा उचित शब्दको ख्याल भएन भने कहिलेकाहीँ सारै नमज्जा पनि हुँदो रहेछ । बोल्दा पनि एक पटक बोलेर सकिने भए त बेग्लै कुरा रेडियोमा विज्ञापन बजाउन गरिएको रेकडमा नै गलत भनिएपछि पटक पटक दोहोरिँदो रहेछ । मैले एउटा च्याउ एफएमको विज्ञापन सुनेँ । त्यो कुनै अमुक विद्यालयको विज्ञापन थियो । थुप्रै मिठा मिठा कुरा सँगसँगै ‘उपर्युक्त खेल मैदानको व्यवस्था ।‘ भन्ने पनि सुन्न पाइयो । हैन उक्त विद्यालयको खेल मैदान छतमा रहेछ कि ? उपर्युक्त शब्दको अर्थ माथि उल्लेखित भन्ने हुन्छ होला । उपयुक्त भनिएको भए कति राम्रो हुन्थ्यो ।

शिक्षित व्यक्तिहरूबाटै पनि विना सुझबुझ शब्दहरू प्रयोग गरिएको पाइन्छ । औपचारिक समारोहमा अतिथिको आसन ग्रहण गराइदिए पो हुन्छ । कुनै कुनै उद्घोषकज्यूहरूले अथितिको आसन ग्रहण गराउनुहुन्छ । अनि अथितिहरू पनि मन्तव्य दिँदा भन्नुहुन्छ, ‘म समयमै उपस्थित हुन नसकेकोमा क्षमा प्राप्ती छु ।‘ आफै क्षमा प्राप्ती भएपछि भन्नु किन ? के बुझेर बोल्नुभएको हो उहाँलाई नै पत्तो हुँदैन । अनि प्रधानाध्यापकबाट विध्यालयको प्रतिवेदन पेश हुन्छ । कसै गरे पनि विद्यालय भन्न सक्नुहुन्न । विध्यालय त बोल्दा पो हुन सक्ला र लेख्दा पनि भयो भने के हालत होला हाम्रो नेपाली भाषाको ?

शब्दको उचित उच्चारण नगर्दा त कस्तो कस्तो नमिठो लाग्छ । त्यसमाथि उचित अर्थ नै नठम्याई बोल्दा स्रोताले के अनुभूति गर्ला ! औपचारिक समारोह तथा कार्यक्रमहरूमा प्राय गन्यमान्य व्यक्तिहरूलाई बोलाइन्छ । ताक्ने ठूलालाई नै हो । सम्भव नभए घट्दै जाँदा कसले समय दिन्छ त्यो पनि हेर्नै पर्छ । यस्तैमा मन्त्रीसम्म पड्काइसकेका एक जना भूतपूर्वले एउटा कार्यक्रममा बोलेको सुनेँ, एतिहासिक जनआन्दोलनबाट प्राप्त नयाँ संविधानले गाउँगाउँमा सिँहदरबार ल्याएको छ । अब हरेक स्थानीय तह नै स्थानीय सरकार हो । आफ्नो अधिकार प्रयोग गर्न आफै एन बनाउन सक्छ ।‘ बाफ रे बाफ ! उहाँको मुखबाट ऐतिहासिक शब्द उच्चारणै हुँदैन । सिंहदरबार पटक पटक दोहोरिँदा पनि सिँहदरबार नै भइदिन्छ । ऐन त छापाखानाले छापे होला उहाको मुखारबिन्दबाट निस्कनै मान्दैन । यी त सुन्दा मात्र नमज्जा लाग्ने कुरा भए । बोल्दा नमज्जा लाग्ने कुरा भाषणकै क्रममा महोदयले आफै भन्न थाल्नुभयो ।

उहाँको निर्वाचन क्षेत्रमा चुनावको समय दौडधुप गर्ने बेलातिर एक जना वडास्तरका नेताले भनेछन्, ’होइन हजुर पक्कै माननीय बन्नु हुन्छ । हामी ज्यान दिएर लागेका छौँ । विश्वास गर्नुस् । पक्कै जित्नुहुन्छ । जिम्मेवार मात्र हो र हामी त गैर जिम्मेवार पनि त हौँ नि हैन र ल भन्नुस् ।’ सायद उनले गैर जिम्मेवारलाई गहिरो जिम्मेवार भन्ने अर्थ लगाए होलान् । अर्को ठाउँमा प्रचार प्रसार गर्न पुग्दा एक जना वरिष्ठ व्यक्ति शिक्षित पनि अगुवा पनि तिन चार वटा संस्थाका अध्यक्ष नै जमाएर काम गरिरहेका कार्यकर्ताले भनेछन्, ‘हामीबाट तपाईँलाई सधै निकृष्ट सहयोग रहने छ ।‘ एक पटक भनेका भए त हुन्थ्यो दुई तिन पटक नै महोदयले दोहोर्याएछन् । अझ रमाइलो कुरा छ भन्दै पूर्व माननीयले थप्दै गए । चुनाव जितेपछि मन्त्री बनेकाले तुरुन्त गाउँमा जान सकेनन् । अलिक ढीलो गाउँमा जाँदा एउटा बयोवृद्ध शुभचिन्तकले माला लगाइदिँदै भनेछन्, ‘चाँडै सद्गद् गरौँला भनेको पाइएन । ढीलै भए पनि सद्गद् गर्न पाइयो खुशी लागेको छ ।’ भन्नु पर्ने स्वागत थियो होला । सद्गद्ले उनी खुशी हुने कि रिसाउने ?  निरक्षर भएकाले अनर्थको गन्ध त आएन होला तर निकृष्ट सहयोग गर्ने शिक्षित अगुवाले भने कस्तो सहयोग गरे होलान् । आफै अनुमान गर्नुस् ।

अक्षरुपि जस्तै हाँसो उठ्दो शब्द केन्द्रीय स्तरकै नेताको मुखबाट मैले सुनेको छु ‘हस्पताल’ । नेपाङ्ग्र्रेजीमा पढेकाले हो कि किन हो म भन्न सक्दिन तर उनले न अस्पताल भन्छन् न हस्पिटल भन्छन् । अङ्ग्रेजीको हस्पिटल र नेपालीको अस्पतालको मिश्रणबाट त भएको होला हस्पताल ! अङ्ग्र्रेजी र नेपालीमा मात्र हैन अल्प विद्या भयङ्करी भन्ने संस्कृतकै उक्ति एक जना पुरेतले देखाइदिए । आधा गाग्रो पानी छचल्किन्छ भने झैँ टिपनटापनबाट टपरे बनेका एउटा पुरेतको श्राद्धे गराइ देखेपछि त म झन् दङ्ग परेको छु । पुस्तकमा ‘दक्षिणा’ शब्द आउने बित्तिकै लौ दक्षिणा चढाउनुस् भन्छन् बा ! ‘दक्षिणाभिमुखो भुत्वा पादं प्रक्ष्वाल्य’ अर्थात गोडा धोई दक्षिण दिशातर्फ फर्केर बस्नुस् भन्नु पर्नेमा दक्षिणा लेख्यो लौ पैसा चढाउनुस् पो भन्छन् त । भएन भनेर जल घुमाउने बेलामा प्रदक्षिणाम् पदे पदे लेखेको पढेर पनि पैसै चढाउन पो भन्छन् !  अब यस्ता टपरेले गराएको श्राद्ध गरेर पितृले पाउँछन् होला ?

लिखित रुपमै देखापरेको अक्षरुपिले मलाई निकै टाढासम्म दौडायो । सीमा मिचियो भनेर कालापानीमा हामी झण्डा गाड्न दौडन्छौँ । सुस्तामा नारा लगाउँछौँ । पश्चिमी संस्कृतिले पेल्यो भनेर कराउँछौँ । धर्म परिवर्तन गराउन पाइन्न भनेर कुर्लन्छौँ । तर भाषामा भाँडभैलो भएको भने टुलुटुलु हेरिरहन्छौँ । आखिर नेपाली भाषा नेपाङ्ग्रेजी हुँदै गयो भने अहिले भएको अक्षरुपि अझै विकृत भएर आउनेछ । आखिर एकार लगाएर पुग्नेमा उकार लगाएर गल्ति गरिरहँदा पनि चुप लागिरहने हो भने सिङ्गो भाषा नै भासिन पनि बेर छैन । जाबो एउटा मात्रा न हो, किन यति धेरै गनगन गर्नु परेको होला यसलाई भन्नुहोला तपाईँले । स्वभाविकै पनि हो । कुरा एकदमै सानो पनि हो । तर गलत त गलत नै हो नि हैन र ? अक्षरेपि हुनु पर्नेमा अक्षरुपि बनेको न हो । एकारको ठाउँमा उकार बनेको मात्र न हो भन्ने पनि लाग्न सक्छ ।  गमा आकार लगाएर ‘गाला’ भन्दा र लेख्दा समेत कसैलाई कुनै आपत्ति हुँदैन । तर एउटा मात्रा न हो भनेर के तपाईँले गमा उकार लगाएर बोल्नुहोला सबैसित ? ‘पति’ भन्दा कसैलाई अशिष्ट लाग्दैन र हुँदैन पनि । तर के त्यही शब्दको पहिलो अक्षरमा तपाईले उकार थपेर सबैसित बोल्न सक्नुहुन्छ ? कदापि सक्नुहुन्न । अतः भाषामा प्रत्येक अक्षर र मात्राको आआफ्नै महत्त्व हुन्छ र हरेक ध्वनिले उच्चारण तथा अर्थमा भिन्नता ल्याउँछन् भन्ने कुरा कसैले पनि भुल्नु हुँदैन ।

उपर्युक्त खेल मैदान भएको विध्यालयमा पढ्ने हामी जस्ता गैरजिम्मेवार व्यक्तिहरूले नै जस्तो पायो त्यस्तै नेतालाई निकृष्ट सहयोग गर्छौँ । उहाहरूलाई सद्गद् गर्दै सिँहदरबारमा पठाउँछौँ । अनि उहाँहरूले बनाएको एनमा अक्षरुपि नलेखेर अक्षरेपि लेखिन्छ भन्ने आशा गर्नु मूर्खतासिवाय केही हुनेछैन ।
अस्तु
२०७५ पुस १ गते