बूढाबूढी, केटाकेटी तथा गृहणीमात्र रहेकाले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर परिवार पालेकै थियो ।  

– ‘कस्तो लाछी लाठे रहेछ ! यसो अरबतिर जानु, पैसा कमाउनु !’

राजुलाई यो वाक्यले बारम्बर ठुँगिरह्यो । त्यसैले ऋण गरेर भए पनि स्थानीय एजेन्टमार्फत् ऊ खाडीतिर लाग्यो ।

मरुभूमिको प्रचण्ड धूप, खाना तथा पानीको कमी, कामको चाप एवं साहुको पेलानबाट राजु निरुत्साहित भयो । उदास भयो । डिप्रेसनको शिकार भयो । उसको मुखमण्डलबाट मुस्कानको लाली सर्लक्क पुछियो ।

श्रीमतीले उसको छायाछवि खोज्दै फोनमा भनी– ‘तपाईं त कस्तो निष्ठुरी ! विदेश गएको दुई वर्ष भयो, एउटा फोटो पनि नपठाउने ?’

पर्वको दिन उसले कामबाट छुट्टी पायो । साथीहरूसँग मिलेर ऊ एउटा ठूलो सपिङ मलमा गयो । यता हेर्यो, उता हेर्यो । धेरै ठाउँमा सोध्यो । अन्त्यमा फुटपाथमा गएर एक जोर राम्रा कपडा किन्यो ।

पार्श्वमा गगनचुम्बी महलहरू आउनेगरी साथीलाई एउटा फोटो खिच्न लगायो । कपडा चम्किला भए पनि उसको अनुहार औंशीको रातजस्तै थियो ।

– ‘कमसेकम फोटो खिच्ने बेलामा त एकपटक हाँस् !’

यन्त्रमानवले झैँ यन्त्रवत् चिज– हाँसो हाँस्यो, खिसिक्क ।

उसकी श्रीमती फोटो हेरेर दङ्ग परी– ‘आहा ! मेरा श्रीमानले त खुब सुख पाउनुभएको रहेछ विदेशमा । ठूलो सहर, राम्राराम्रा कपडा अनि मीठो मुस्कान !’