रामबाबु जागिर पनि खाने, पढ्ने पनि भनेर शहर आयो । जागिर नपाउञ्जेल मामाघरमा बस्ने सोच बनाएर ऊ साँझ मामाघर आइपुग्यो । आएको दिन उस्ले राम्रै मान सम्मान पायो । ऊ आएको पर्सिपल्ट मामाले उसलाई तल छिँडीको कोठा देखाएर भने–
“अब तिमी यही कोठामा बस भान्जा ! अरूलाई भन्दा बढी बहाल लिन्नँ । जागिर खोजेर खाऊ र मलाई महिनावारी कोठाभाडा बुझाऊ । मामाघर भनेर हुन्छ र ! आएको दिन पो हो त त्यसै खान, बस्न पाउने । यो त शहर हो भान्जा !”

उसका मामामाइजु घरका कोठा बहालमा लगाएर हुनेखाने शहरीया भैटोपलेका थिए । अब रामबाबुको मामासँगको नाता बदलियो— मामा घरबेटी, ऊ डेरावाल ।

ऊ काम खोजेर रोजगारी गर्न थाल्यो । महिना नमर्दै भाडाको बिल आइपुग्थ्यो । बिल पाएको तीन दिनभित्र भाडा बुझाइसक्नुपर्ने नियम घरबेटीले बनाएका थिए । तीन दिनभित्र भाडा नबुझाए हप्कीदप्कीसहित अरू तीन दिन समय थप हुन्थ्यो ।

बहाल बुझेपछि मामाचाहिँ भन्थे, “भान्जासँग भाडा लिन नहुने, यत्रा कोठाहरू बहालमा लगाएपछि एउटा कोठामा त भान्जालाई त्यत्तिकै राखे नि हुने हो । तर के गर्नु ..... ?”

बस्दै जाँदा उसले मामाको चालचलन बुझ्दै गयो । अरूसँग भन्दा बढी बहाल र बिजुली–पानीको पैसा आफूसँग लिँदारहेछन् भन्ने थाहा पाएपछि उसको मन भित्रभित्रै पोलिरहेको थियो ।

एकदिन बिहान कपडा धोएर सुकाउन घरको छतमा उक्लँदा पो ऊ एकैचोटि छाँगाबाट खसेझैँ भयो । उसका मामा–माइजू पल्ला घरका छिमेकीसँग भन्दै रहेछन्, “आफ्नो मान्छेसँग कसरी बहाल लिनू ? मन पटक्कै मान्दैन ! हामीले त
एउटा कोठामा त्यत्तिकै राखेका छौँ भान्जा बाबुलाई ।”

बागमती ११, कर्मैया, सर्लाही