कुमारजी आज्ञा गर्नुहुन्छ, 
हे अगस्त्य मुनि ! तहाँ उप्रान्त मान्छेहरूले प्रजातन्त्र ल्याउनुपर्छ भन्न थाले । प्रजातन्त्र आयो । पुनः प्रजातन्त्रको कुरा गरे । पुनः प्रजातन्त्र आयो । विचमा प्रजातन्त्र कुन्ठित भयो भने । प्रजानन्त्र पुनर्वाहली भयो ।  लोकतन्त्रको कुरा गरे । लोकतन्त्र आयो । गणतन्त्रको कुरा गरे । गणतन्त्र पनि आयो । संभिधान चाहियो भने । संविधान पनि आयो । त्यसपछि नयाँ नेपाल चाहियो भने । अब त्यो नयाँ नेपाल दिने मान्छेको खाँचो भयो । तिनतिर्लोक चौध भूवन खोजी गर्दा पनि कतै भेटिएन । पहिला पहिलाका विष्णुका अवतार भनिएका राजाहरू र तिनका सन्तानहरू जाँजा खाएर सुधार गृहमा बस्न पुगे । राजनेताहरू ड्रगतिर लागे । उच्चस्तरका कर्मचारीहरू रक्सी पिएर सक्सीमै पौडिएर समाजका आँखामा हेलामा परे । खोज्न गएकाहरू कहाँ कुन् गुफाकी राक्षसीका मायवी जालमा परे केही पत्तो भएन । कुन राष्ट्रको राष्ट्रिय जनावरको शिकार बने अत्तोपत्तो भएन ।

यता केही गणहरू नयाँ नेपाल बनाउने भनेर उफ्रन छाडेनन् । कहिले बिहान उफ्रिए । कहिले साँझ उफ्रिए । कहिले मध्य दिउँसो उफ्रिए कहिले मध्यराती उफ्रिए । यसरी जतिखेरै उफ्रिन थालेपछि कसैको केही लागेन । टोल टोलमा अनेक तमासा देखिए । कोही श्रीलङ्का बनाउँछौँ भन्न थाले । कोही अम्रिका बनाउँछौँ भन्न थाले । कोही बेलायत बनाउँछौँ भन्ने निस्किए । नभन्दै साँच्चै गर्लान् कि जस्तो पारे  । उनीहरूका साथमा जनगणहरू पनि लागे । उनीहरूका भाषामा नेपाल नयाँ बन्दै गयो । हामीले पनि थाहा पायौँ नयाँ नेपाल भनेको के रहेछ भनेर । 

हे अगस्त्य मुनि ! 
नयाँ नेपाल गफमा भयो । केही ठाउँका नामहरू फेरिए । केही चोकका नामहरू फेरिए । केही चोकका पुराना सालिकका ठाउँमा नयाँ शालिक राखिए ।  केही गाउँ, जिल्ला र विकास क्षेत्रका नाम फेरिए । विकास क्षेत्रहरूलाई राज्य भनियो । ती राज्यका नाम जुराउन सकिएन भने । तिनका नामा नं १ नं २ भनेर राखियो । नाम राख्दा सबैको भाग नपुगेकाले बर्षौसम्म नामविहीन प्रदेश भए । प्रदेशैपिच्छे मुख्यमन्त्री, मन्त्री र संसद् भए । सोझा जनता झन्भन् गरिब भए । बाठा जनता सबै नेता भए । नेताहरू धनी भएको भयै भए । जनगणभन्दा नेतागण बढी भए । परिणामस्वरुप गरिब बस्तीहरू नगरपालिका घोषित भए । नागरिकले भैसी बेचेर मालपोत तिरिरहे  । गाइबेचेर नगर कर तिरिरहे । अब उनीहरूलाई गाईभैँसी पाल्ने र घस्याउने चिन्ताबाट पनि मुक्ति भयो ।

कुमारजी आज्ञा गर्दै रहे । 
हे अगस्त्य मुनि ! नयाँ नेपाल भनेको हामीले र अरुले पनि सोचे जस्तो हुँदो रहेनछ ।  चोर,डाँका र भ्रष्टहरू संरक्षित हुँदा रान् । तिनका ठाउँमा इमान्दारहरूले सजाय पाउँदा रान् । इमानी मानिस जेल जाने र बदमासहरू चोकचोक डुल्ने चलन चलाउँदा रान् ।  । घरघरमा बुढाबुढी असहाय बन्न थाल्दा रान् । छोराछोरी विदेशका दास बनाउँदा रान् । रेमिट्यान्सका नामले देश चलाउँदा रान् । गरिबको करले गाडी चढ्नेहरूको गाउँगाउँसम्म बिग्बिगी बढाउँदा रान् । आफ्नै सन्तनका अनुहारमा कोको कोको पराई एजेन्टहरू घरघरै पस्ता रान् । यसको समस्या भनूँ कि फाइदा भनिसाध्य भएन । यस विषयमा मुनिवरले जिज्ञासा राखेको एउटा घतलाग्दो कथा छ ।
मुनिवर सुन्नुहवोस् । 

हाम्रा मुलुकको राजधानीको पशुपतिको मन्दिरबाट पूर्वतिर वाग्मती खोलो बग्छ । त्यस खोलाका किनारमा अनेक धर्मात्मा र देशभक्त भक्तजनहरू बसोबास गर्छन् । पशुपतिको मन्दिरभन्दा   ५०० मिटर दखिनतिर एउटी धर्मात्मा महिला बस्थिन् । उनले नगरेको धर्म केही थिएन । तिनले धर्मका नाममा ईश्वरका कृपाले आधादर्जन घोषित र झन्डै त्यतिनै अघोषित पति पनि बनाएकी र पाएकी थिइन् । उनी मेयरदेखि संसद् र मन्त्री बनेर राष्ट्रसेवा पनि गरेकी थिइन् । तिनको एकमात्र छोरो राजदूत बनेर उता अम्रिकामा बस्थ्यो । 

उनका अनेक धर्मकर्मका प्रभावले धेरै वर्षपछि छोरो घर आयो । आमालाई कोसेली ल्यायो । गाडीमा घुमायो । आमाबाहेक कोही पनि आफ्नो नभएको चेपापरो पार्यो । घरमा बार बनायो । थरिथरिका नयाँ नेपाल बनाउने साथीहरू ल्याएर चिनायो । बारमा साथीभाइलाई ख्वाइप्याइ गरेर आमालाई मख्खै पार्यो  एक दिन् भन्यो, आमा यो घरमा साथीभाइ आउँदा बस्न पुगेन । गाडी पार्किङ पनि सानो छ । यहाँबाट उत्तरतिर पशुपतिकै छेऊमा श्लेषपान्तक बनपनि देखिने ठाउँमा विशेष वड्गाला वैना गरेको छु । अलिकति पैसा पुगेन । यो घर बेचिदिऊँ ।

म भन्दैछु हे अगस्त्य मुनि धैर्यपूर्वक सुन्नुहवओस् । 
धर्मात्मा महिलाले बुढेसकालमा आफ्ना छोराले भाग्यको खोलो फर्काएको ठानेर एक सय आठ ममका डल्ला पकाएर छोरा बुहारीलाई खुवाइन् । छोराबुहारीका मुन्द्रे जगल्टे साथीहरूलाई पनि खुवाइन् । दैवलाई धन्यवाद दिइन् र घर बेचेर छोराका खातामा पैसा हालिदिइन् । त्यसपछि हराएको छोरो फर्किएन । कुनै नन्दी भ्रिङ्गी डाकिनी साकिनी पिसाच लाग्यो कि भनेर गाउँका सभामुखलाई हात हेराउन गइन् । उनले छोरो बेलायत वा अम्रिका कता हो फर्किएको बताए । अहिले ती आमै पशुपतिको वृद्धाश्रममा छोराले बेलायत वा अम्रिका फर्काएर नयाँ नेपाल बनाउने सपना देखेर दिनदिनै मध्यान्हमा स्वास्थानी परमेश्वरीको पूजा गरिरहेकी छन् ।

म भन्दैछु हे अगस्त्य मनि ! 
यस्ता नेपाललाई स्वीजरल्यान्ड बनाउँछु भनेर नेपाल आमाकै ढुकुटीबाट स्वीजरल्यान्डको अध्ययन भ्रमणमा थुप्रै छोराहरू गएको कुरा त्यही किनारमा पूजागर्ने आमाहरूबाट थाहा भयो । धेरै छोराहरू राजदूतका नाममा पराई मुलुक पुगेर यताको जरीबुटी व्यापार गर्न थाले । हरेक दिन थुप्रै छोराछोरीहरू नयाँ नेपाल बनाउने बहानामा एयरपोर्टको बाटो खाजासामल बोकेर पहिला बाजेबजै तीर्थ जाँदा झैँ अरब बतार जान थाले । यता बेलामा छोराबुहारी नफर्कँदा बृद्धवृद्धा निकै चिन्तामा परे । उनीहरू अनेक तीर्थव्रतमा लागे । केही गर्दा पनि छोराछोरी नफर्केपछि तिनलाई पाल्ने नाममा तिनका सम्पत्ति जिब्ट्याउने र हेला गर्ने जन्था पनि देखियो  । गाउँगाउँका घर वृद्धाश्रम भए ।  खेतीपाती हराउन थाल्यो । बारी बाँझै रहन थाल्यो । धेरैले नयाँ नेपाल यस्तै हुँदो रहेछ भनेर पत्याए । 

हे अगस्त्य मुनि !
केही नयाँ नेपाल मन नपराउने मान्छे पनि देखिए । प्रायः नयाँ नेपाल नपत्याउने  केटा  खाडी मुलुक झरे । त्यसमध्ये धेरै कफिनमा प्याक भएर आए । केही अपाङग बनेर फर्किए । देशमा अपाङ्गलाई अपाङ्ग भन्न नपाउने व्यवस्था भयो । केही आएकाले अनेक रोगब्याधी ल्याए । रोगीलाई रोगी भन्न नपाउने कानुन बन्यो । तिनका लागि स्वास्थ्यविमा कार्यक्रम ल्याई पैसा भेला पार्ने व्यवस्था आयो । यता घरमा छोडेका तिनका स्वास्नी छोराछोरी पनि आआफ्नै तालले नयाँ नेपाल बनाउने अभियानमा स्कुल र क्याम्पस छोडेर सडकमा निस्किए । उनीहरूलाई सडकमा हिँड्ने स्वतन्त्रता दिने खालको कानुन बन्यो ।  तिनलाई राज्य र परिवारको कानुनले छुन छाड्यो । बुढापाका आँखा चिम्लन थाले । लफङगा युवायुवती बेरोजगारी भक्ता पाइने भयो भनेर हर्षबढाइमा लागे र आँखा खोलेर हिँड्न थाले । 

देशले सामाजिक सुरक्षा भत्ता  बढायो । त्यसो गर्दा भत्ता पाउने बुढापाका रक्सी र गाँजामा झुम्न थाले । देश बनाउँछु भन्ने जहाजमा उडेर देशको अवस्था हेर्न थाले । देश रित्तो भएकाले उनीहरूले खास बनाउनुपर्ने केही देखेनन् ।  जतासुकै डान्सबारहरू बने । राम्रा राम्रा होटल र क्यासिनोहरू बने । राम्रा होटल जस्ता लिफ्ट चढेर पढ्ने स्कुल र कजेज बने । जतासुकै पार्टीप्यालेसहरू बने । जग्गाको किनबेचले मान्छेको दैनिकी रात दुगुना दिन चौगुना विकास भएकाले खेतीपातिको आवश्यकता देखिएन । गाई चराउने मान्छेहरू प्राय हराउँदै गए । बिहान बिहान कुकुर डोर्याएर हिँड्ने मान्छेको इज्जत चुलियो । भेडा बाख्रा चराउने मान्छे अपमानित हुँदै प्राय पलायन भए । बिराला पालन गर्नेहरूलाई केही सुविधा थपियो । कुखुरा पालन गर्नेहरू पलायन भए । चिल, चिद्ध, र सर्प पालन गर्नेहरू बढेर आए । 
अरु पनि केही नयाँ भएको छ । हे अगस्त्य मुनि सुन्नु हओस् । 

मान्छेले भात खान छोड्दै गयो । मम, चाउचाउ, पिजा, चाउमिन समोसा खान थाल्यो । यसका लागि कृषि कर्म आवश्यक देखिएन । मान्छेहरू पिउने पानी भन्दा रक्सीतिर लागेकाले खानेपानी योजनाका सट्टा भट्टी खुल्न थाले । सागको सट्टा मासु खाने जनताको जनस्तरले गर्दा सागबारी मासिँदै गए बरु केही गाँजा खेती फस्टाउन थाले । 
कुमारजी आज्ञा गर्दै हुनुहुन्थ्यो । अगस्त्यजी ध्यानपूर्वक सुन्दै हुनुहुन्थ्यो । कथा सुन्दासुन्दै अग्स्त्य मुनि थाक्नुभयो । हाइकाडेर दाह्री कन्याउन थाल्नुभयो ।  त्यासो हुँदा कुमारजीले आज्ञा गर्नुभयो, आज अगस्त्य मुनि कथा श्रवणबाट थाक्नु भएकाले आजलाई यहीँ स्थगित गरिन्छ ।  

इतिश्री स्कन्न पुराणे माग महात्मे नयाँ नेपाल खण्डे पाखण्ड चरित्रे प्रथमोध्याय ।