अर्बौ खर्बौ, धन मनुजले, आर्जिए रात रात ।
जग्गा जोडे, महल ठडिए, नोट छन् खात— खात ।। [[read_more}}
किन्तू मान्छे, धरमर हुँदै, बन्छ धेरै अशान्त ।
के पाएमा, मनुज सुखले, धीर होला सुशान्त ।। १।।

सर्दी–गर्मी, अनुकुल हुने, कार चिल्ला चढे नि ?
अग्ला सग्ला, भवन घरका, भित्र मान्छे रहे नि ?
खै देखिन्नन् ? मुदित किन हो ? शान्त–सन्तुष्ट मान्छे ।
भोगी नौला, सुख र सुविधा, तुष्टिमा छैन मान्छे ।। २।।

मान्छे हाँस्छन्, रसमय कथा, कृष्णलीला सुनेर ।
मान्छे नाच्छन्, मधुर–मुरली, गानमा झुम्मिएर ।।
हाम्रो आध्यात्मिक पथ सधैं, सच्चिदानन्द दिन्छ।
यिन्कै कीर्ति अमर कविता, गाउँदा शान्ति मिल्छ ।। ३।।

रित्तै आयौ, अवनि तलमा, जानु रित्तै छ मान्छे ।
जे छन् जग्गा, धन महल ता, साथ जादैन मान्छे ।।
बुझ्दा बुझ्दै, पनि किन यहाँ, स्वार्थले गिर्छ मान्छे ?
मान्छे ब्यूँझे, अवनितलमा, देवता बन्छ मान्छे ।। ४।।
धादिङ