व्यङ्ग्यकार विकल 
आधुनिक नेपाली कथालेखनको आरम्भमै देखिएका रमेश विकलको जन्म वि.सं. १९८५ साल कार्तिकमा भाइटीकाको दिन काठमाडौँस्थित गोकर्ण, आरूबारीमा भएको हो । नेपाली साहित्यमा रमेश विकलको नामले सुपरिचित उनको न्वारनको नाम भने रामेश्वरप्रसाद चालिसे रहेको छ । बी.ए. बी.एड.सम्मको औपचारिक शिक्षा प्राप्त गरेका विकल भन्सारमा नौसिन्दा, प्रचार विभागका सम्पादक, शिक्षा सामग्री उत्पादन केन्दका सम्पादक, परीक्षा नियन्त्रण कार्यालयका शाखाअधिकृत, शिक्षा परियोजनाका सम्पादक, त्रि.वि.वि.का उपप्राध्यापक जस्ता सरकारी सेवामा संलग्न रहेका थिए । विभिन्न साहित्यिक सङ्घसंस्थामा क्रियाशील विकल प्रज्ञा प्रतिष्ठानको सदस्यसमेत रहिसकेका थिए । प्रगतिशील लेखकसङ्घको अध्यक्ष एवम् सल्लाहकार र बालसाहित्य समाजको अध्यक्षता गरिसकेका विकल पछिल्लो समयसम्म साहित्य सदन रामहिटी र भैरव पुरस्कार गुठी जोरपाटीको अध्यक्ष पदमा आशीन थिए ।

२००६ सालको ‘शारदा’ पत्रिकामा प्रकाशित ‘गरिब’ शीर्षकको कथा नै विकलको पहिलो प्रकाशित रचना हो । कथालेखनबाट साहित्यिकयात्रा आरम्भ गरेका विकलको लेखनी कथामा मात्र सीमित छैन । विकलले नेपाली साहित्यलाई उत्कृष्ट औपन्यासिक कृतिहरू पनि दिएका छन् । उल्लेख्य निबन्ध र यात्रा संस्मरणहरू लेखेका छन् । दर्जनौँ बालसाहित्यिक रचनाहरू र नाटक पनि प्रदान गरेका छन् । यसरी विकलको कलम बहुविधामा छरिएको देखिए पनि मूलतः सर्वाधिक सफलता भने कथा विधामा नै रहेको देखिन्छ । मदन पुरस्कार (२०१८), महेन्द्र प्रज्ञा पुरस्कार (२०३८), युद्धप्रसाद स्मृति पुरस्कार आदिद्वारा पुरस्कृत विकललाई विभिन्न साहित्यिक सङ्घसंस्थाहरूले अभिनन्दन एवम् सम्मान गरेका छन् । २०६५ पुस ३ गते विकलको देहान्त भएको हो ।  

रमेश विकल निबन्ध खासगरी हास्यव्यङ्ग्य निबन्ध सिर्जनामा पनि सक्रिय रहेको पाइन्छ । उनका दर्जनौँ हास्यव्यङ्ग्य निबन्ध विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । हास्यव्यङ्ग्य शैली आत्मशात गरी रचना गरिएको एउटा निबन्ध कृति ‘अब अगाडि बढ्नु छ, अझ अगाडि’ २०५० भदौमा प्रकाशित भएका थियो । यस कृतिमा विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित हास्यव्यङ्ग्य निबन्धहरू मध्ये १७ वटा निबन्ध समाविष्ट छन् । प्रस्तुत आलेखमा विकलको ‘अब अगाडि बढ्नु छ, अझ अगाडि’ कृतिमा आधारित हुँँदै उनको हास्यव्यङ्ग्यकलाबारे केही विश्लेषण–विवेचना गर्ने प्रयत्न गरिएको छ । 

विकलको व्यङ्ग्य–विषय क्षेत्र 
रमेश विकल हाम्रो सामाजिक र खासगरी राजनीतिक जीवनमा देखिएका विसङ्गत वस्तुतथ्यलाई आफ्ना व्यङ्ग्य निबन्धको विषयवस्तु बनाउन रूचि राख्ने निबन्धकार हुन् । सङ्ग्रहमा परेका धेरैजसो निबन्धहरू निरङ्कुश पञ्चायती कालखण्डको पछिल्लो अवधिमा लेखिएका हुन् भन्ने तथ्यलाई निबन्धले व्यङ्ग्य प्रहार गरेको विषयक्षेत्रले पनि पुष्टि गर्दछ । पञ्चायती दमन उत्पीडन र विकास निर्माणका नाममा गरिएको राजनीतिक भ्रष्टाचार, अनाचार र दुराचारलाई विकलले आफ्ना व्यङ्ग्य निबन्धहरूमा पर्याप्त अङ्कन गरेका छन् । ‘निर्विकल्प प्रजातन्त्र’ भनेर जतिसुकै ढोल पिटे पनि पञ्चायती व्यवस्था जनहितकारी र सही अर्थमा प्रजातान्त्रिक थिएन । यसको विरुद्धमा क्रियाशील राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएर ‘सबै नेपाली पञ्च र सबै पञ्च नेपाली’ को नारा अलाप्ने पञ्चहरू पञ्चायती निरङ्कुशताका विरोधीहरूलाई ‘अराष्ट्रिय तत्व’ को कुत्सित आरोप लगाएर खुनी दमन गर्दथे । भनाइमा प्रजातन्त्र र व्यवहारमा खुनी निरङ्कुशतन्त्रले नेपाली जनजीवनमा पारेको विसङ्गतिलाई नै विकलले आफ्ना निबन्धको मेरुदण्ड बनाएको देखिन्छ । त्यही निरङ्कुशताको आडमा देखिने अरू अन्यान्य विकृतिहरूतिर पनि विकलको ध्यान पर्याप्त पुगेको छ  । 

व्यवस्थाका नाममा भएका जस्तासुकै लुटखसोट, शोषण र राज्यकोषको जतिसुकै दुरुपयोग गरे पनि त्यसका विरुद्ध औँलो ठड्याउने जोकसैलाई अराष्ट्रिय तत्वको आरोप लगाएर थुनिन्थ्यो । बोल्ने छुट व्यवस्थाका गाथा गायकहरू बाहेक कसैलाई थिएन । मुलुकको सङ्कटापन्न परिस्थितिमा पनि बोल्न डराउनुपर्ने यथार्थलाई अघि सार्दै पञ्च र उनीहरूका कार्यकलापमाथि विकलले प्रशस्त छेडखान गरेका छन्, मजाक उडाएका छन् । प्रजातन्त्रको खोल ओढेर निरङ्कुश राजशाही चलाउनेहरूमाथि उनले सशक्त व्यङ्ग्य–विद्रोह बोलेका छन् । 

सङ्ग्रहका निबन्धले समेटेको विसङ्गत पर्यावरण
‘अगाडि बढ्नु छ, अझ अगाडि’ हास्यव्यङ्ग्य कृतिभित्र १७ वटा शीर्षकका निबन्धहरूको सङ्ग्रह गरिएको छ । प्रत्येक निबन्धले राजनीतिक सामाजिक अनाचारमाथि मिहिन ढङ्गले दृष्टि पु¥याएका छन् । ‘रसराज’ नामको पात्र हरेक निबन्धमा उपस्थित हुन्छ र विकृतिका नायक खलनायकसँग ऊ संवाद गरिरहेको भेटिन्छ । सङ्ग्रहको पहिलो निबन्ध ‘श्रीमती नबोल भन्छिन्’मा महँगी, अभाव, बेथिति र आर्थिक व्यभिचारले देश सङ्कटग्रस्त भएका बेला ‘रसराज’ केही बोल्न खोज्छ तर उसकी पत्नी बोल्न दिन्नन् । बोलेर देशको स्थिति सुध्रिने तर आफ्नो चाहिँ बिग्रने तर्क गर्दै केही पनि नबोल्न र मौन बस्न अह्राउँछिन् । यसरी देशका नालायक बुद्धिजीवीहरू मौन बसेको प्रसङ्ग उठाएर तत्कालीन बुद्धिजीवीहरूको बौद्धिकतामाथि नै व्यङ्ग्य गरिएको छ । 

अर्को निबन्ध ‘टि.भि.मा मुख देखाउन पाए’ मा सरकारी सञ्चार माध्यमले देशमा विकास, शान्ति र अमनचैनको बाढी नै बगिरहेको बताए पनि स्थिति त्यसको ठीक उल्टो बनेको उल्लेख गरिएको छ । निरङ्कुशताका चाटुकारहरूलाई चाटुकारिता गर्न लगाई सबै कुरा ठिकठाक रहेको, जनता–जनार्दनले सुख पाएको, मुलुक विकासपथमा अघ बढिरहेको झुट प्रचार गर्नमा सरकारी सञ्चार माध्यमहरू तल्लीन रहेको सन्दर्भ हास्यास्पद भइकन पनि सशक्त व्यङ्ग्यले भरिपूर्ण छ । यहाँ पनि ‘रसराज’ पत्नीसँग संवाद गरिरहेको भेटिन्छ । 

सङ्ग्रहको तेस्रो निबन्ध ‘एकजना विद्यार्थी र वैशालु...’ शीर्षकमा संरचित छ । यस निबन्धमा निरङ्कुश राज्ययन्त्र र यन्त्रका पूर्जाहरूले व्यक्तिगत रिसइबीकै कारण निरपराध नागरिकलाई कसरी शास्ती, हैरानी र उत्पीडन दिन्छन् भन्ने यथार्थको उद्घाटन गरिएको छ । हैरानी र उत्पीडनमा पर्न कसैले कुनै कसूर गर्नुपर्दैन । व्यवस्थाको जयगान गाउँने सानातिना पूर्जाहरूको कोपभाजन हुन कुनै ठूला निहूँ र अपराधको आवश्यकता पनि छैन । ‘तपाइँ किन त्यसरी हाँसेको’ निबन्धमा चाहिँ एकजना देशभक्त नागरिकलाई ‘दिल्ली’ नामको पात्रले नराम्रोसँग धम्क्याएको हाँसोपूर्ण प्रसङ्गलाई मूख्य विषय बनाइएको छ । निबन्धमा ‘देश भनेको माटो न हो, जहाँ टेक्यो उही माटो आफ्नो’ भन्दै ‘दिल्ली’ले नेपालमाथि गरेको सिल्लीपूर्ण र हेपाहा प्रवृत्तिमाथि व्यङ्ग्य प्रहार गरिएको छ । 

पाँचौँ निबन्ध ‘राग मितव्ययी इमन कल्याण’ मा विकलले सत्ता र शक्तिको डाडुपन्यौँ हातमा लिएकाहरूको बोली र व्यवहारबीच देखिएको असन्तुलनलाई व्यङ्ग्यको विषय बनाएका छन् । बिहेमा पचास जना भन्दा बढी जन्ती लानु फजुल खर्च हो भनेर सार्वजनिक सञ्चारमाध्यमबाट आम नागरिकलाई मितव्ययी बन्न आदेश फर्माउने सरकारका मन्त्री माननीय स्वयम्ले चाहिँ आफ्नै छोरीको बिहेमा लाखौँको फजुल खर्च गरेको प्रसङ्ग अत्यन्त घतलाग्दो पाराले प्रस्तुत गरिएको छ ।  

सङ्ग्रहको छैटौँ र नवौँ निबन्धको शीर्षक एउटै छ– ‘अब अगाडि बढ्नु छ, अझ अगाडि’ । निबन्धको आयतन अलि लामो भएर होला एउटै निबन्धलाई दुईवटा खण्ड बनाइएको जस्तो अनुभव हुन्छ । तत्कालिन समयमा सरकारी सञ्चार माध्यम खासगरी रेडियो नेपाल र नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भएको वाक्यलाई नै शीर्षक बनाएर यस निबन्धमा सरकारी अकमण्र्यताको केस्रा–केस्रा केलाउने काम गरिएको छ । निबन्धमा भन्नलाई अब अगाडि बढ्नु छ भन्ने तर आफ्ना आचरण र व्यवहार चाहिँ बिलकुल पछाडि फर्कने द्वैध मानसिकतामाथि तीखो व्यङ्ग्य प्रस्तुत गरिएको देखिन्छ । त्यस्तै सातौँ निबन्ध ‘मेरो घरमा मात्र पसोस् न त्यो शान्ति राण’ निबन्ध ‘रसराज’ र उसकी पत्नीबीचको संवादमा आधारित छ । रसराज देशको अमन चयनको कुरा गर्छ तर पत्नी भने शान्तिलाई आफ्नो पतिसँग लहसिएकी कुनै अर्की महिलाको रूपमा बुझ्दछे र उसलाई घरभित्र पस्नै नदिने तर्क गर्छे । जति बुझाउन खोज्दा पनि नबुझेर शान्तिको जगटा लुछ्नेसम्मको कुरा गरेर रसराजलाई हैरान–हैरान पारेको प्रसङ्गमा मिठो हास्य सहित चोटिलो व्यङ्ग्य गरिएको छ । 

आठौँ निबन्ध ‘जनताकै लागि हो आकाशे पुल’ मा निर्माणका नाममा बजेटमाथि राल काडिरहेको अवस्थाको चित्रण, दशौँ निबन्ध ‘भगवन्, खर्दारै बनाए पनि भन्सारको’ मा भ्रष्ट कर्मचारीसँगकै मिलेमतोमा विमानस्थलमा हुने गरेको सुन तस्करी र लोडरसमेत नव धनाढ्य बन्ने गरेको चित्रण तथा एघारौँ निबन्ध ‘छोराको बिहेमा भए पनि खाँडो त जगाउनै प¥यो’ मा अगुवाहरूकै बाटो फोहर पार्ने प्रवृत्तिको चित्रण जस्ता विषय क्षेत्रमा केन्द्रित रहेका छन् । बाह्रौँ निबन्ध ‘एउटा खोजी अराष्ट्रियको’ मा भने निरङ्कुश राज्यव्यवस्थालाई मन नपराउने जो कोहीलाई पनि अराष्ट्रिय तत्व करार गर्ने गरिएको सन्दर्भलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । 

सङ्ग्रहको तेह्रौँ निबन्ध ‘सेतो, पहेँलो अर्थात रातो’ मा पदीय व्यक्तिहरू आम नागरिकको असुविधा र अभावमा सधैँ आँखा चिम्लन्छन् तर आफू चाहिँ सुविधा लिन कहिल्यै पछि पर्दैनन् भन्ने यथार्थलाई रमाइलो पारामा कोट्याइको छ । चौधौँ निबन्ध ‘सबै उनैले गराए’ ले हाम्रो सामाजिक जीवनमा धन आर्जन गर्न के कस्ता नैतिक अनैतिक व्यवसाय सञ्चालन भइरहेका छन् भनेर प्रष्ट पारिएको छ भने सङग्रहको पन्ध्रौँ निबन्ध ‘हाम्रो एउटा चाड स्याक्को ट्याक्को’ मा हाम्रा सांस्कृतिक परम्परामा रहेका दुर्गुणहरूलाई मसिनोसँग केलाएको पाइन्छ । सोह्रौँ निबन्ध ‘अन्तर्वार्ता स्वास्थ्य मन्त्रीनीसँग’ ले चाहिँ कामको नाममा सिन्को समेत नभाँचे पनि ठूलो हाँकोडाँको सहित प्रचार गराउनुपर्ने नियत र नियतिमाथि मजाकपूर्ण व्यङ्ग्य गरिएको छ । सङ्ग्रहको अन्तिम निबन्ध ‘मानवअधिकारज्यूको सवारी हुँदैछ’ मा विकलले गरिबीका कारण मानिसले घोर अमानवीय स्थितिको सामना गर्नु परिरहेको चित्रण गर्दै मानवअधिकारको ठेक्का लिएर डलर पचाइरहेकाहरूप्रति तीब्र व्यङ्ग्य गरेका छन् ।      

यसरी सङ्ग्रहमा सङ्कलित निबन्धहरूमार्फत छेडखान, हँसिमजाक, व्यङग्य–विद्रोह गरिएका सन्दर्भहरूतर्फ सरसरी नजर लगाउँदा के प्रष्ट हुन्छ भने व्यङ्ग्य गर्नुपर्ने अड्मिल्दा र बिब्ल्याँटाहरूका बारेमा विकलसँग यथेष्ट जानकारी थियो । हाम्रो समाजिक–राजनीतिक जीवनमा देखिएका समस्त विसङ्गतिको उच्छेद एवम् निर्मूल गर्ने उद्धेश्यका साथ बेधक प्रहार गर्ने कुशल शीप विकलमा पर्याप्त थियो ।   

विकलका व्यङ्ग्य निबन्धको शैली र संरचना
विकल नेपाली साहित्यका सिद्धहस्त कथाशिल्पी हुन् । उनको लेखनयात्राको आरम्भ नै कथाबाट भएको थियो । अन्यान्य विधामा समेत कलम चलाएका र उलेख्य कृति दिएका विकललाई सर्वाधिक सफलता पनि कथाले नै प्रदान गरेको छ । उनका हास्यव्यङ्ग्य निबन्धमा पनि उनको कथाशिल्पको छाप प्रशस्त परेको देखिन्छ । उनका प्राय सबै निबन्धमा पात्रहरूको उपस्थिति छ र ती पात्रहरू निरन्तर संवाद गर्दछन् । उनीहरूबीचको संवादबाटै निबन्धको विषय प्रस्तुति अघि बढ्दछ । यसले पनि उनका अधिकांश निबन्ध कथाको नजिकनजिक पुगेका महसुस जोसुकैले गर्न सक्छ । अधिकांश निबन्धमा अन्य अनुकूल या प्रतिकूल पात्रसँग वैचारिक अन्तरक्रिया गर्न लगातार एउटै पात्र आउने गर्दछ– ‘रसराज’ । यसर्थ भन्न सकिन्छ पात्रको उपस्थितिमा संवादलाई प्राथमिकता दिएर हास्यव्यङ्ग्य सिर्जना गर्नु विकलको मूल विशेषता हो । यसमा उनको नितान्त मौलिकपन पनि झल्किन्छ । कथा जस्तै लाग्ने उनका निबन्धमा व्यङ्ग्य गर्नुपर्ने विषय वा प्रसङ्ग संवादबाटै निश्रित भएको पाइन्छ । 

नेपाली हास्यव्यङ्ग्य लेखनमा विमल निभा, राजव, खगेन्द्र सङ्ग्रौला, लक्ष्मण गामनागे र अन्य केही हास्यव्यङ्ग्य निबन्धकारले पनि पात्रहरूको प्रयोग गर्ने गरेका छन् तर एउटै नभएर प्रसङ्गअनुसार फरक फरक पात्रहरू भेटिन्छन् । तथापि विकलका निबन्धमा भने एउटै पात्र यत्रतत्र चलायमान हुने गरेको छ । हास्य उत्पन्न गर्दै व्यङ्ग्यप्रहारलाई प्रभावकारी पार्न पर्याप्त बिम्ब र प्रतीकहरूको प्रयोग निबन्धहरूमा गरिएको छ । प्रतीकहरू सहज र बोधगम्य भएकाले भेदन गर्न खोजेको प्रहारको निसानालाई सजिलै ठम्याउन सकिन्छ । 

समग्रमा भन्नुपर्दा संवादशैलीको व्यापक प्रयोग भएका विकलका निबन्धहरूमा संवादबाटै विषयलाई व्यङ्ग्यात्मकता प्रदान गरिएको छ । कतिपय निबन्धलाई त प्रहसनात्मक ढङ्गले मञ्चमा उतार्नसमेत सकिने सम्भावना रहेको देखिन्छ । संरचनाका दृष्टिले यस सङ्ग्रहका प्राय सबै निबन्धहरू मझौला आकारका छन् । 

विकलको व्यङ्ग्य प्रविधि   
सोझो अभिव्यक्तिबाट हास्यव्यङ्ग्य सिर्जना सम्भव छैन । अभिव्यक्तिलाई बाङ्गो बनाउने अनेकन प्रविधि छन् । विविध शैली अपनाएर विसङ्गत पर्यावरणमाथि हाँसोपूर्ण व्यङ्ग्य गर्न सकिन्छ । नेपाली हास्यव्यङ्ग्य लेखनमा अनेकन शैलीगत रूप देखिएका छन् । कथामा झैँ विकलका अधिकांश निबन्धमा पात्र देखा पर्छन् । पात्रका नाम पनि प्रवृत्तिगत भई हाँसो उमार्ने किसिमले चयन गर्न उनी खप्पिस देखिन्छन् । निबन्ध पढ्न थालेपछि बेथिति–विसङ्गतिका बारेमा जिज्ञासा, जानकारी, स्थितिको बोध, स्थितिप्रति सहमति–असहमति र क्रिया प्रतिक्रिया व्यक्त गर्ने एउटा पात्र फेला पर्छ– रसराज । यो रसराजलाई कहीँ सज्जनका रूपमा त कहीँ दुर्जनका रूपमा, कहीँ सकारात्मक त कहीँ नकारात्मक, कहीँ केही नजान्ने लठिभुङ व्यक्ति र कहीँ लालबुझक्कड व्यक्तिका रूपमा भेटिन्छ । निबन्धमा यथा–प्रसङ्गमा आइलाग्ने ‘अवसरप्रसाद’, ‘चम्चा’, ‘पकौडीमल’, ‘घैँटुप्रसाद बाजे’, ‘घ्याल्छुङ दोर्जे’ जस्ता अनेकन पात्रहरूसँग ‘रसराज’ संवाद गरिरहन्छ । पत्रात्मक, विवरणात्मक–वर्णात्मक, प्यारोडी–नक्कल आदिभन्दा अलि भिन्न संवादात्मक शैली विकलको प्रिय शैली बनेको देखिन्छ । सन्दर्भलाई कथात्मक रूप दिएर पात्र सिर्जना गरी पात्रबीचको संवादबाटै यावत् विषयमा झरिलो र दरिलो व्यङ्ग्य प्रहार गर्नु विकलको विशेषता हो ।

निष्कर्ष
रमेश विकलका हास्यव्यङ्ग्य निबन्धहरूका बारेमा गरिएको यो समग्र अध्ययन–विश्लेषण वा विवेचन होइन । तथापि उनको ‘अब अगाडि बढ्नु छ, अझ अगाडि’ सङ्ग्रहमा समाविष्ट निबन्धहरूलाई केलाउँदा निम्नलिखित सूत्रात्मक निष्कर्ष निकाल्न सकिन्छ ः
१. कथा सिर्जनामा उच्चता र उत्कृष्ठता हासिल गरेका विकलले कथाका तुलनामा थोरै लेखे पनि उनका हास्यव्यङ्ग्य निबन्धहरू फरक किसिमको पहिचान कायम गर्न सफल देखिन्छन् ।
२. स्रष्टा रमेश विकल राजनीतिक र सामाजिक विसङ्गतिको उच्छेद र निर्मूल गर्ने उद्धेश्यसहित हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । 
३. विकलको प्रशिद्धि तथा ख्याती कथा र उपन्यासमा रहे पनि हास्यव्यङ्ग्य लेखनमा समेत उनको गम्भीर अभिरूचि थियो र निबन्धको कलेबरमा उनले तात्कालीन सामाजिक–राजनीतिक विकृति–विसङ्गतिमाथि प्रभावशाली ढङ्गले व्यङ्ग्य–विरोध गरेका छन् ।
४. विकृत पर्यावरणलाई हास्यव्यङ्ग्य सिर्जनामा चित्रण गर्न संवादात्मक शैलीको व्यापक प्रयोग गर्नु विकलको भूलभूत विशेषता हो । 
५. विकलका हास्यव्यङ्ग्य रचनाहरूको सङ्कलन गरिएको प्रकाशित कृति एउटा मात्रै देखिए पनि उनका यस प्रकृतिका धेरै निबन्धहरू पपत्रपत्रिकामै छरिएर रहेका छन् । तिनीहरूको खोजी र सङ्कलन गरी पाठकसमक्ष ल्याउनु आवश्यक छ ।
६. नेपाली हास्यव्यङ्ग्य लेखनको क्षेत्रमा विकलको उपस्थिति अर्थपूर्ण छ । उनको कुशल हास्यव्यङ्ग्यकारिताका बारेमा समग्र अध्ययन, अनुसन्धान तथा विश्लेषण–विवेचनातर्फ सम्वद्ध सबैको ध्यानाकर्षित हुनु जरूरी छ । 

(नोट : २०६७ मा प्रकाशित विकल स्मृतिग्रन्थका लागि विजय चालिसेज्यूको आग्रहमा तयार गरि इमेलमार्फत पठाइएको यो आलेख कारणवस ग्रन्थमा प्रकाशित भने हुन सकेन ।) 


सन्दर्भसामग्री
३. अर्याल, भैरव (सं.)–                        साझा निबन्ध (२०४९) : पुलचोक ललितपुर, साझा प्रकाशन ।
४. अर्याल, भैरव÷वासुदेव शर्मा (सं.)–       छ्याकन (२०३८) : काठमाडौ, कौवा प्रकाशन ।
१. गर्ग, शेरजंग–                                व्यङ्ग्यके मूलभूत प्रश्न (१९७६) : नया“दिल्ली, सामयिक प्रकाशन । 
२. चतुर्वेदी, वरसानेलाल–                     हिन्दी साहित्य मे हास्य रस (१९६३) : नया“दिल्ली, हिन्दी साहित्य संसार ।
७. पा“डे, रामकुमार–                          १०१ हास्यव्यङ्ग्य (२०५१) : काठमाडौं, रत्न पुस्तक भण्डार । 
१०. लुइँटेल, नरनाथ–                        नेपाली हास्यव्यङ्ग्य (सिद्धान्त, इतिहास एवम् प्रवत्तिहरूको अवलोकन) 
                                                   (२०५८) : काठमाडौँ, सिस्नुपानी नेपाल । 
११. विकल, रमेश–                         अब अगाडि बढ्नु छ, अझ अगाडि (२०५०) ः काठमाडौँ, भैरव प्रकाशन,
                                                 गोकर्ण ककारो । 
८. सुवेदी, राजेन्द्र–                         स्रष्टा–सृष्टिः द्रष्टा–दृष्टि (दो.सं.२०४३) : पुल्चोक ललितपुर, साझा
                                                प्रकाशन । 
९. सुवेदी, राजेन्द्र÷हीरामणि शर्मा–      नेपाली हास्यव्यङ्ग्य निबन्ध (दो.सं.२०५१) : पुल्चोक ललितपुर, साझा
                                                 प्रकाशन ।
५. शाक्य, माणिकरत्न (सं.)–           हास्यव्यङ्ग्यकार नालीबेली (२०५६) : काठमाडौं, सिस्नुपानी नेपाल । 
६. शर्मा, मोहनराज–                     शैलीविज्ञान (२०४८), काठमाडौं, ने.रा.प्र.प्र. । 

कात्तिक,२०६७ कलङ्की, काठमाडौँ
narnath@gmail.com