सुटुक्क तपाईंको कानमा । अरुले नसुनून् । ‘इ’ हेर्नृू त मान्छेसँग कत्रो भुँडी छ ! मान्छेसँग मुख छ, भुँडी छ र त ऊ काम गर्छ । मान्छे कज्याउने भुँडीले हो । हेर्दा नरम–नरम तर अति गह्रौ छ भुँडी, धेरै थोक अटाउँछ यसमा । भुँडीवाल मान्छे महिनैपिच्छे कपडा किन्छ, हरेकपटकमा एक–एक बित्ता बढाएर । यस्तो स्वाद फेरिरहने मुखले मान्छेमा जोस थप्छ, आहार खोज्छ । हेर्दा उस्तै दुरुस्तै देखिने मान्छे कति सुन्दर छ आवरणमा । कोट्याएर हेर्न नमिल्ने । बल गरेर हेर्छु भन्यो दुःख पाइने ।

मान्छेमा त्रास मान्छेबाट जन्मन्छ, बढ्छ र पैmलिन्छ । सृष्टि सूत्र पल्टाएर प्राकृतिक स्वरुप र स्वभाव जान्न खोज्दा अरुबाट सुरक्षित रहने उपाय मात्र भेटिन्छ अन्य प्राणीका गति विधिमा । मान्छे भने कति धेरै चतुर छ, ऊ आफ्नै वंशज मान्छे सिद्धयाएर सुख भोग्छ, यसैमा खुसी मान्छ ।

रुख चढेर फेद काट्ने चतु¥याइँ बोकेर दौडेको छ मान्छे । माकुराको स्वभाव मान्छेले टपक्कै टिपेको छ । आपूm मोटाउन आमालाई क्वाप्पै खाइदिन्छ । जग्गा बेचेर खाइदिन्छ । घरघडेरी बेचेर खाइदिन्छ, अधिग्रहण गरेर खाइदिन्छ, माफियाको मीत बनिदिन्छ, झुक्याएर खाइदिन्छ, झुक्किएर खाइदिन्छ । कति खान सकेको होला । वरिपरि सबै बिर्सेर एकोहोरो खाइरहेको छ हिजोअस्तिदेखि ।

नियम विपरीत नकुम्ल्याएसम्म नअघाउने बानी बसेको छ, खान भनेपछि हुरुक्कै हुने, मागेरै खाने, हात थापेर खाने, ढाँटेर खाने, छलेर खाने ! मानौँ खानकै लागि मात्र जन्मेको विरुपाक्ष हो ऊ । जति खायो उति अपच हुने तर खान नछाड्ने । साथीभाइले हुल्याहा, समाजले घुस्याहा, सृष्टिले छुल्याहा जसले जेसुकै भनोस् ऊ खान तम्सिएको छ, खाएर छाड्छ । ढुस्स गनाउने गरी खान्छ ।

कति सिपालु छ खान, दायाँबायाँ हेरेर खान्छ, कुनाकानी लुकेर खान्छ, भान्छा भतेरले भुँडी भरिँदैन शौचालय छिरेर खान्छ । सबभन्दा बढी घुस खान्छ, जुस खान्छ, माछा मासु के–के खान्छ, खान्छ । काँचो मासुमा त झनै लोभिन्छ, बाटबाटै आँखा गाढ्छ, भट्टीमा डाकेर खान्छ, चौतारीमा हाकाहाकी खान लाज मान्दैन । श्रीमतीले आफ्नै गीता गाऊन् गाउँभरि डुलून्, छोराछोरी सडकभरि पोखिऊन् तर ऊ खान छाड्दैन बरु मुखिन्जेल ‘मैले छोराछोरी र श्रीमतीका लागि त घुस खाको’ भनिदिन्छ । दाजुभाइ दिदीबहिनीको आ–आफ्नै सुर छ, बाआमाको लागि वृद्धाश्रम जिन्दावाद ! खाने भनेको आफ्नै लागि, आफ्नैका लागि हो ।

योग्यताले आर्जेको खुराकले पेट भरिँदैन मान्छेको । थाहा छ आफ्नो देशका जनताको भन्दा धेरै कमाउँछ ऊ । ऊसँग  पेसा व्यवसाय छ । उसलाई नियमित आयले छाड्दैन तर समग्र आफन्त र छिमेकीको आयआर्जन सम्झेर आपूm पनि किन सीमित हुने ? पुगेसम्म हात पसार्छ, राल काढ्छ, गिडगिडाउँछ, नमिलेका कागज मिलाउँछ, मिलेका कागज लुकाउँछ रत खाने चाँजो मिल्छ, मेसो पर्छ, आँखा छलेर खान सम्भव हुन्छ । प्रयास एक्लैले झ्वाम पार्ने हुन्छ, कतै केहीसिप लागेन भने बल्ल साथीभाइसँग बाँडीचुँडी गर्छ तर खाने दाउ उम्कन पाउँदैन, उम्काउने कुरै छैन ।

के थाहा भोलि के हुन्छ ? छोराछोरीले काम पाउलान् नपालाउन्, पढेर योग्य बन्लान् नबन्लान् आज जोहो मिलाइयो भने त पीर रहँदैन नि ! छोराछोरीलाई माछा खाना होइन मार्न सिकाउने हो भन्ने हिजोको बासी कथन पत्याएर बस्ने फुर्सद कहाँ छ र उसलाई ! ऊ त आजको मान्छे । होला तपाईंको भनाइ ठिक होला तर यस्तो आफ्नै खुट्टामा उभिने, पाखुरीको फल खाने, इमानको पर्खाल नभत्काई नैतिक टोपीमा सजिने आदर्शले कहाँ पुग्छ जीवन बाँच्न ? जीवनका लागि त ठग्न, कपट्याइँ गर्न जान्नै पर्छ । खुरुखुरु किसानजस्तो काम गरिरहने हो र ! यहाँ त काम गर्न न साम गर खाने बेलामा आँगर पुख्र्यौली कथनमा अडिएर बाँच्ने हो । परिश्रम अरुले गर्छन् फल आपूmले खाने हो । गाईले जस्तो घाँस खाँदै दुध दिँदै गर्ने जनामा गए अब । वर्तमान भनेको जुस बाँड्ने, घुस खाने र जनता बबुरोलाई भुुसमा सुताउने हो । यति गरिएन भने सडकमा खुट्टा बङ्ग्याउँदै हिँड्न र हल्ला गरेर छिमेकी तर्साउन केले पुग्छ ? सम्भवै हुँदैन नि ।

आजको समय फरक छ, कालो कोटभित्र लुक्ने थरीथरी तराजुको विधि र भाषा प्रयोग गरे मुद्दा पल्टाउने, दाम फलाउने, श्रीमान्लाई बोलाउने नवीनतम शैलीको व्यवहार जानिएन भने त सुको झर्दैन, सुको विना जाँडको जुको बनेर घैँटो रित्याउन सकिँदैन । कमाएर खाने कुरा जसले गर्छ, त्यो त उल्लु हो जसले मौका पाउँदैन, पाएको मौका चिन्दैन र परपर देख्छ, नजिकै आएको परिणाममा नैतिकताको मसी छर्केर पाखा लाग्छ । यसरी नीति–नियम र विधि–विधानको पाठ घोकेर घाँटी सुकाउने मास्टरहरुको बिचरा जीवन–कथ्यका पाना कसले पढिदिने ! यो विकसित युगका चतुर मान्छेको भीडबाट ।

होइन, लौ मान्छे कतै हिरामोतीको चामल त खाँदै छन् । दाल पनि रहर–मुसुरै चल्छ, सुनचाँदी पकाउने चलन त छैन भनेपछि दालभात, तरकारी खान त नियमित पारिश्रमिकले पनि दिन्छ । फेरि किन भूमाफिया, शिक्षामाफिया, स्वास्थ्यमाफिया, काठतस्कर, वनस्पतिचोरका पछि लागेको होला मान्छे ऊ आफ्नै अनुहार हेरेर चकित छ । हिजो कलङ्क मुक्त अनुहार आज दागै–दाग र गाठै–गाठाले भरिएको छ । यो कुच्चिएको अनुहार कसले हेर्ने हो ! कसैलाई देखाउनै नहुने अनुहार बोकेर कति दिन बाँच्नु, कसरी हाँस्नु ? ठाउँ ठेगान छैन । आफन्त, साथीभाइ, छरछिमेकी सबैले बहिष्कार गर्ने हल्ला चलिरा’छ । अझ सार्वजनिक ठाउँको मौलोमा बाँधेर वरिपरिबाट ढुङ्गाले हान्ने, थुक्ने के–के हो नानाभाँती दण्ड दिने रे ! सुन्दै मुटु थरथराउँछ । यस्तो बेलामा परिवारका सदस्य कोही छैनन् साथमा । उही शक्तिमा हुँदा दिनदिनै बिटा–बिटा थमाइरहँदा वरिपरि झुम्मिएर मौरीको रानोलाई भैmँ गर्थे । कमाइ छुटेर कानुनले लखेट्न थालेपछि भने सबै परपर । जो जे छन्, सबै बलेको आगो ताप्नेहरु मात्र । बुद्धिमा बिर्को लाएर खन्चुवा लौरो टेकेर पनि के भलो हुँदो हो ! आफन्तको स्नेह पनि गजबकै हुने । पदमा रहुन्जेल थिति–बेथिति उस्तै केही फरक नदेख्ने, पद छुटेपछि चारैतिर बेथिति नै बेथिति देख्ने, थितिका बार त सबै भत्केको देख्ने है ! कस्तो आँखाको कमाल ! पद पैसाले त मान्छेलाई नेत्रहीन मात्र नभई विवेकहीन, आफन्त विहीन, नैतिक च्युतजस्ता विशेषता बोकाएर पठाउने रहेछ । बेलामा बाँडेर खाएको भए खोराँ हुँदा गफ गर्ने र ऐना हेर्ने साथ पाइन्थ्यो । लोभले चेतना चोइट्याइदियो, अहङ्कारले मस्तिष्कमा आग्लो ठोकेर खुम्च्यायो, परिणामको वज्रपात अहिले भइरहेछ ।

मैले पुर्खाबाट सुनेको हुँ त्यही सत्य हो भन्नु पनि मुख्र्याइँको पोको बोक्नु रहेछ । हिजोका मान्छे छोराछोरी छलेर मिठो मसिनो खान्थे रे । बाआमा छलेर घुमफिर गर्थे रे । समाज छलेर फट्याइँ गर्थे रे । श्रीमती छलेर जुवामा नारिन्थे रे । हिजोका मान्छे बोको र पोकोमा चित्त बुझाउँथे रे तर आजका मान्छे झन् सिपालु, बोको डो¥याउन र पोको बोक्नै नपर्ने बिटो बट्याए पुग्ने । अझ एउटाका नामको चेक अर्कैले साटेर सुरक्षित हुने दाउ जानेका साहुहरुको भीडै छ । यस्तो हात तल पारेर खान पल्केका मान्छेहरुको बिगबिगी कहिलेसम्म रहन्छ, टुङ्गो छैन । जो चर्को स्वरले कराउँछ त्यसैको ध्वन्यार्थ लाग्छ मेरो भाग खोइ ? ऊ ठान्छ, म ठुलो, ठुलो पदको ठुलै जिम्मेवारी, त्यसैले तह लाउँछ, रमाइलो गर्ने जति ठुलै पदवाला हुन्छ त्यसकै ठुलो भाग लाग्छ । तलदेखि माथि र माथिदेखि तलसम्मको मेसो मिलेको छ मागी खाने सोचले मलजल पाएकै छ, गरी खाने त साढेसातीबाट सताइएको छ । सोझा ग्रहको पूजा कसले गर्नू !

हो, सुन्न त सुनिरहन्छ ऊ पनि दरबारदेखि झोपडी, झोपडीदेखि दरबारसम्म घुसमै रमाउने, बेथितिले कमाउने, हात तल गरेर गौरव गर्ने रोगी मानसिकताले देश र जनता डसिरहेको छ । उस्तै हिजो जस्तै आज पनि । घुम्ने मेचमा बस्दैमा कार्य सम्पन्न हुँदैन । हिजोअस्ति नै हाम्रा कविले भनिसकेको तथ्य हो तर बिचरो बसाहा बुझ्दैन । त्यसैमा बस्छ, बसिरहन्छ, स्थलगत अध्ययन, नीतिगत चुस्तता, व्यवहारोपयोगी निर्देशन, त्यागी चरित्र बनाउँदैन, भाग बन्डामा रमाउँछ, चुनावी खर्चको साँवा–ब्याजको हिसाबमा व्यस्त रहन्छ, कति जुस पचाइयो, कति घुस खाइयो यसैमा दिनरात खर्चिन्छ । झन्डै स्वकीय सचिवले लेखिदिएको भाषण पढ्ने कष्ट गर्छ । सन्दर्भ के छ, म के गर्दै छु मेलोमेसो पाउँदैन तर वीरबलको खिचडी देखाएर जनता झुक्याइरहन्छ । बालुवा पाकेन पर्ख है पाक्छ भन्दै पानी खुवाएर छोराछोरी सुताउने आमाको वेदना बुझ्ने र समाधानको गोरेटो बनाउने गल्ती ऊ गर्दैन, गर्न खोज्दैन, मुखे गराइले सिन्को भाँच्ने कुरा भएन । ऊसँग इच्छाशक्ति भए न योजना बन्छ, योजना बने न कार्यान्वयन हुन्छ, कार्यान्वयन भए न परिणाम आउँछ, परिणामा आए न जनताले राहत पाउँछ । यत्रो लामो यात्रा जनताको लागि कोही किन तय गर्छ जब कि आफ्नै पोल्टामा सुखद परिणाम आउँछ सजिलोसित भने दुःख गरेर जनकल्याणकारी परिणाम पहिल्याउने किन ?

मान्छे यी र यस्तै चिन्तन पारखी हो । ऊ जनताको काम गर्ने प्रतिनिधि होइन, मान्छेहरुले बुझे राम्रो नि । सधैँ साथीहरुसँगै हुन्छन् तर उनीहरुको आफ्नै साख छ यसको यसैसँग । ऊ त आपूm र आफ्नाको मर्म छामेर गर्व गर्ने अगुवा हो । उसले अरुलाई सताउने आपूm रमाउने न हो । प्रकृतिका कति प्राणी उसकै सुखका लागि डो¥याउने चलन छ । वनस्पति उखेल्ने र छप्काउने बहादुर पनि त ऊ नै हो । उसलाई चिन्नेहरुले चिनिहाल्नुभा छ, नचिन्नेलाई जोरबल लगाएर चिन–चिन भनिरहनु पनि आवश्यक छैन । है, महाशय कुरा बुझे हुन्छ, जुरो कन्यानु पर्दैन । हैन हो, सबैले गरेरै खाने हो भने त रामराज्य भइहाल्छ नि । त्रेतायुगी रामलाई फेरि हाम्रो राज्यमा भित्र्याएर लाखौँ वर्षपछि फर्किने कुरा गर्न मिल्छ र भन्या ! त्यसपछिका हिरण्यकश्यपु, कंसको राज्य सत्ताले कायम गरेको इतिहास पनि त बिर्सनका लागि होइन नि ! समाज सबैको साझा हो तर न्यायिक तराजु त उस्तै समान ढङ्गले ढलकाउने कहाँ हो र ? यो त व्यक्ति प्रवृत्तिमा भर पर्ने विषय न हो । हेरौँ न सबैले हेराँै, राम्ररी हेराँै, खेलमैदानमा बलियाले प्रभाव कस्तो राख्छ ! तमाम दर्शकले जित्नेलाई स्याबासी दिन्छन् । उसैको हाइ–हाइ हुन्छ । हार्ने बबुरालाई चिन्नेहरुले सहानभूतिपूर्वक अर्कोपटक जित्नुपर्छ भन्छ । सर्पले भ्यागुता र मुसा स्वाट–स्वाट्ती निल्छ । मान्छे पर बसेर रमिता हेर्छ तर सकिनसकी आहार तान्ने कमिला तितर बितर गर्न भ्याउँछ यही मान्छे । ऊ यस्तै कोटिको चोटीवाल मान्छे आफ्नैसँग सीमित छ । अलिपर फराकिएर दृष्टि सपार्ने आँटै छैन । हो, विज्ञानले पृथ्वी खुम्च्याइदिएको छ । संसार छिमेकी बन्दै छ । सत्य हो तर मानवता, मौलिकता, सांस्कृतिक निजत्व च्यातिएर धुजा–धुजा भइरहेको छ । खुम्चिएको पृथ्वी र पैmलिएको मान्छेबाट संवेदना उडेको छ, आत्मीयताले डेरा पाएको छैन । तथ्य थाहा पाएको मान्छे आफ्नो सुखमा रमाउन बल गर्छ । कुरिलो  मकैबारीमा पल्केको बाँदर बिँडो थाम्ने गरी सन्ततिलउकालिएको छ । तपाईं आफन्त पर उभिए रमाइलो हेर्नुहुन्छ, हेरिरहनुहुन्छ उस्तै हिजोजस्तै ! अस्तु ।