नयाँ पुस्ता याने स्मार्ट पुस्ता । मेरो बुझाइमा प्रत्येक नयाँ पुस्ता स्मार्ट हुन्छ । फोरफादर भन्दा ग्रयान्ड फादर स्मार्ट, ग्रेन्ड फादरभन्दा फादर स्मार्ट, फादर भन्दा ब्रदर स्मार्ट ।   ब्रदर भन्दा लिटर ब्रदर स्मार्ट । इल्डरब्रदर र ब्रदर भन्दा उनका सन्तान स्मार्ट । यही स्मार्ट पनले आजको संसारको उन्नति भएको । विश्वले विकास पाएको ।

आजको संसार स्मार्ट सिटीको संसार हो । स्मार्ट होमको  संसार हो । स्मार्ट टिभीको संसार हो ।  स्मार्ट भर्याङ र लिफ्टको संसार हो । जमाना नबुझ्ने नयाँपन थाहा नपाउने कुरा काट्छन् । कुरा काट्ने काटिरहुन् स्मार्ट फोन र घडीको जमाना हो । त्यससँग परिचित कोही भए नयाँ पुस्ता हो । यही नयाँ पुस्तालाई यहाँ स्मार्ट पुस्ता भनिएको । 
पुरानो पुस्ता भन्नाले हजुरबाको पालाको पुस्ता भन्ने बुझ्नु पर्छ । त्यस बेलाका मान्छेको सोचाइ भन्ने बुझ्नुपर्छ । जो घरभित्र खाने र पाहिर आची गर्न जाने पुस्ता । घरभित्र पिउने र बाहिर सु गर्न जाने पुस्ता । अहिलेको स्मार्ट पुस्ता घरबाहिर रेस्टु रेन्टमा खान्छ र भित्रको सानो बाथ रुपमा ट्वाइलेट गर्छ । रेस्टु रेन्टमा ड्रिङ्क गर्छ र किचनका छेउको ट्वाइलेटमा पिस गर्छ । पुरानो पुस्ता महिषपाल, गोपाल, अजपाल, अश्वपाल पुस्ता अहिलेको पुस्ता ती सबै जन्तुलाई ममको कच्चापदार्थ ठान्ने पुस्ता । पहिलेको पुस्ता भाते पुस्ता, दाले पुस्ता, ढिडे पुस्ता, रोटे पुस्ता अहिलेको पुस्ता  पिजा पुूस्ता, मम पुस्ता, चाउचाउ पुस्ता, चाउमिन पुस्ता, पिजा पुस्ता, केक पुस्ता र डुनट पुस्ता । यो स्मार्ट जीवनशैलीको नयाँ पुस्ता  । यसका र उसका सोच, विचार, जीवनशैली केही पनि मिल्दैनन् र नै समाजको उन्नति भएको छ ।
 
कोही कोही नयाँ पुस्ताको जीवनशैली नबुझेर संस्कृतिमा बिशृंखलता आयो भन्छन् । विसङ्गति विकृति भयो भन्छन् । म सुकृति देख्छु । मान्छेका जीवन पद्धति परिवर्तन भएर नै मानिसको विकास हुन्छ । यसमा अत्यास देख्नु आफूलाई स्मार्ट बनाउन नसक्नु हो । स्मार्ट संस्कृतिलाई स्वीकार्न नसक्नु हो । आजको पुस्ता खान, लाउन, हिँड्न, उठ्न बस्न, सरसम्पर्क गर्न सबै कुरामा स्मार्ट शैली अपनाउँछ । यो शैलीको विरोध गर्नु सराद्देमा बिरालो बाँध्नु जस्तै हो । छोरो पाउन यज्ञ गर्नु जस्तै हो । छोरो कसरी जन्मिन्छ अबुझले पनि बुझ्छ । छोरीको विहे होस् भनी ब्रत बस्नु जस्तै हो । छोरीले कसलाई हेरेकी छे छिमेकीलाई थाहा हुन्छ ।  

मानिसका जीवन पद्धतिहरूमा परिबर्तन हुन्छन् । परिवर्तन नचाहने मान्छे आफ्नै थोत्रा घरले किचिएर मर्छन् । परिवर्तन चाहने आजको पुस्ता डेरालाई नै घर भन्छन् । परिवर्तन नचाहने घोडा  चढ्दा लडिन्छ भन्छन् परिवर्तन चाहने पुस्ता गाडी र जहाजमै सुत्छन् । परिवर्तन नचाहने पुस्ता पकाएर र धन्दा गरेर समय बिताउँछन् परिवर्तन चाहने स्मार्ट पुस्ता केक खान्छन् र पेपरले मुख र भाँडा पुस्छन् । पुराना पुस्ता काँसका थाल र कचौरामा खाएर धन्दा गरेर समय बर्बाद पार्छन् । स्मार्ट पुस्ता पेपर प्लेटमा खान्छन् र डस्टविनमा फाल्छन् । पुराना पुस्ता दिसा धुन्छन् नयाँ पुस्ता  ट्वाइलेट पुस्छन् । पुाराना पुस्ता मोही पिउँछन् नयाँ पुस्ता पेप्सी, फेन्टा, मिरिन्डा र ह्विस्की पिउँछन् । स्वाद र जीवनशैली जमाना अनुसार हुन्छ । नयाँ पुस्ता स्मार्ट पुस्ता हो यो पुस्ता समय बचाएर इन्टरनेट चलाउँछ । फोन चलाउँछ ,। टिभी  हेर्छ । टोयसँग रमाउँछ । हुँदाहुँदा उसलाई मानिस पनि चाहिँदैन रोबोटसँग दैनिकी चलाउँछ । रोबोटलाई नै जीवनसाथी बनाउँछ । ऊ भन्दा विकसित को छ ? 

नयाँ पुस्ता जीवनलाई परिवर्तन गर्ने देखिन्छ ।  नयाँपन र  प्रगतिले जीवनलाई अझै उन्नत बनाउन सघाउँछ । त्यसमा पुरानो पुस्ता अभ्यस्त छैन र नै नयाँ पुस्ताको कुरा काटिरहन्छ । नयाँ पुस्तासँग कचकचाइरहन्छ । हरेक उन्नति र नयाँपन देखेर दुखी बनिरहन्छ ।  फोनले, इन्टरनेटले मान्छे  बिगार्छ कि सपार्छ त्यो नयाँ पुस्तालाई थाहा छ ।

केही बाबुआमा स्मार्ट पुस्ताको स्मार्टनेस बुझ्न थालेका छन् । उनीहरू रातोदिन काम गर्छ्न् । आफू नखाइ नखाइ पनि सन्तानलाई खुवाउँछन् । आफू अँध्यारामै बसेर पनि शिक्षा दिन तल्लिन देखिन्छ्न् । एउटा दुइटा मात्र छोराछोरी  बनाएर उनीहरूलाई स्मार्ट जीवन दिइरहेका छन् । आफ्ना छोरछोरीलाई जीवविकासका नयाँ प्रविधिअनुसार हुर्काइरहेका छन् । छोराछोरीलाई पोल्ट्री फार्ममा पालेको कुखुरा जस्तो आश्र्रित र मोटाघाटा  बनाएका छन् । उनीहरूल छोराछोरीलाई जीवनको अर्थ जीवनशैली भन्दा  रमाइलो हो भन्ने बुझाएका छन् । जीवन संघर्ष होइन खुसी हो भन्ने चिनाएका छन् । ती बाबु आमाकै पुस्तालाई स्मार्ट पुस्ता मान्नु पर्छ । उनीहरू स्मार्टनेसका बुझक्कड हुन् भन्न सकिन्छ । यो आधुनिक विज्ञानसम्मत समाज विकासको संकेत हो ।  समाज विकासको पछिल्लो उपलब्धी हो । मान्छेले यहाँ आउँन कति दुख पायो । कसैले सुख दिँदैमा छोराछोरी बिग्रन्छन् भने पनि त्यो स्मार्टनेस नभई पुरातन सोच हो । बाबुआमाले सुख दिएको नयाँ पुस्ताले पनि सुख दिन्छ । जस्तालाई त्यस्तै कि कसो ? 

बुढापाका भन्छन् पहिचान संस्कृतिसँग गांसिएको हुन्छ । तिनले जानेको अर्को कुरा  संस्कृति रास्ट्रसँग  गांसिएको हुन्छ । तर  स्मार्ट पुस्ता  रास्ट्रको मायामा भुलिँदैन । उसलाई टोयले जति माया प्रेमिकाले त गर्दिन भने केको राष्ट्रको माया  ? बरु विदेश  जान्छ ।  राष्ट्रभक्त त बिदेशमा बसेर पनि राष्ट्रभक्त बन्छ नि । देशका नदी नालाका फोटो फेसबुकमा हाल्छ । हिमाललाई माया गर्छ ।  पुराना पुस्ता पो महाविद्यालय जान्थे र पढ्थे । नयाँ पुस्ता कलेजमा बिदेशी भिसाकोलागि योग्यता बनाउँ छ । बढेर को ठूलो भएको छ ? यो पनि ऊ बुझ्छ । धनभन्दा शिक्षा कहिले ठूलो भएको छ ? यो नयाँ पुस्तालाई थाहा छ । हाम्रा देशका उद्योगपतिहरूका जस्ता गतिला किताब कसले लेखेका छन् ? हाम्रो मुलुकमा लाहुरे साहित्यकार जतिका गतिला साहित्यकार कहाँ देशका  साहित्यकार छन् ? यी एक एक हिसाब उसले राखेको छ । 

पुरानो पुस्ता नेताले मात्र देश सिध्याएको भन्छन् । नयाँ पुस्ता देश बिगार्ने आफ्नै बाबुआमा देख्छ । वास्तवमा देश घरघरमा स्मार्ट बन्न नसकेको बाबु पुस्ताले डुबाइरहेको छ । त्यही पुस्ताले हरेक दिन सिध्याइरहेछ । पुरानो पुस्ता गाउँमा बसेर उन्नति हुन्छ भन्छ । के गाउँमा बसेर उन्नति हुन्छ ? गाउँको घर बेचेर सहरमा घर किने सबैको उन्नति हुने भिजन कतै भए नयाँ पुस्तासँग छ । गाउँको गाई बेचेर चारवटा कुकुर आउँछन् र तिनले जीवन सुरक्षित बनाउँन सकिन्छ भन्ने भिजन यही स्मार्ट पुस्तासँग छ । गाउँको अन्न भन्दा सहरको केक र पाउरोटीले छिटो अघाइन्छ भन्ने चेत र प्रयोेगात्मक ज्ञान पनि यसै पुस्तासँग छ । माया प्रेम वाइयात हो भन्ने स्मार्ट चेत पनि यही पुस्तासँग छ । स्कुल कलेज गएर पढ्दा नोट बनाउने पुरानो पुस्ताले के लछार्यो । यो पुस्ता सोझै शिक्षकको नोटको फोटो खिचिदिन्छ । उसतै परे शिक्षकको नोटको फोटोबाट पुस्तक छापिदिन्छ । कुरा गर्छन् पुराना मान्छेहरू नयाँ पुस्ता संकेतले काम गर्छ । एउटा अफिसबाट सातवटा अफिसको काम भ्याउँछ । 
पुरानो पुस्ता मुर्दावाद 
दयाँ पुस्ता जिन्दावाद ।  
 परम्परित पुस्ता मुर्दावाद 
स्मार्टपुस्ता जिन्दावाद । 

पशुपति बहुमुखी क्याम्पस चावहिल, काठमाडौँ 
rshubechchhu11@gmail.com