साहित्य सन्ध्याको नियमित मासिक ३९५ औँ शृङ्खला जेठ ४ गते राजधानीमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीले गर्नुभएको थियो । गोष्ठीका अतिथिहरूमा प्रा.डा.कृष्णप्रसाद घिमिरे, साहित्यकार नर्मदेश्वरी सत्याल, साहित्यकार विधान आचार्य, गायक एवम् सङ्गीतकार माधव प्रधान, वरिष्ठ कवि डिल्लीराज अर्याल, साहित्यकार शीतल गिरीे उपस्थित हुनुहुन्थ्यो ।

समारोहमा प्रा.डा.कृष्णप्रसाद घिमिरेले ‘समृद्ध समाजनिर्माणमा प्रगतिशील साहित्यको भूमिका’ विषयमा विशद चर्चा गर्नुहुँदै तत्त्ववेत्ताहरू मानिसको चेतनातत्त्वको विकास प्रकृतिबाट हुन्छ भन्दछन् । ‘कला कलाका लागि’ भन्ने र ‘कला जीवनका लागि’ भन्ने दुई खाले मत पाइने र ‘कला जीवनका लागि’ भन्ने दार्शनिकहरू ‘साहित्य जीवनसँग सम्बन्धित हुन्छ’ भन्दछन् । सन १९४७ को सेप्टेम्बरमा हंस पत्रिकामा भारतीय समालोचक रामविलास शर्माले समाजलाई प्रगतिशील साहित्य किन आवश्यक छ भन्नेसम्बन्धमा चर्चा गरेका छन् । अहिले पनि प्रगतिशील साहित्यले समाजको रूपान्तरणका पक्षमा चिन्ता गर्ने, व्यक्तिमनमा चेतना सम्प्रेषण गर्ने काम गर्दछ भन्ने बहस गम्भीररूपमा र राष्ट्रियस्तरमा आवश्यक छ । यो महनीय काम साहित्य सन्ध्याले गरेको छ । समयसापेक्ष, कालसापेक्ष, वर्गसापेक्ष र विधासापेक्ष रूपान्तरणको आग्रह गर्ने; परिवर्तनको अपेक्षा गर्ने साहित्य प्रगतिशील साहित्य हो । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रै भन्ने अनि रूपान्तरणको आबाज सम्प्रेषण गर्ने काम प्रगतिशील साहित्यले गर्दछ । बहुजनहितायलाई स्वीकार गर्दै समाजका सामान्य विसङ्गतिसमेतलाई उजागर गर्ने र रूपान्तरणको चिन्तन बोल्नसक्ने, मानवहितकारी पक्षलाई ग्रहण गर्ने र विसङ्गत पक्षको विरोध गर्ने काम प्रगतिशील स्रष्टाले गर्दछ । समाजमा सकारात्मक चिन्तन सम्प्रेषण गर्ने काम हामी स्रष्टाले गर्नसकेनौँ भने बाह्यपक्षबाट सांस्कृतिक हस्तक्षेप हुन्छ र समाज राम्रो बाटोमा जानसक्तैन । समुन्नत समाजनिर्माण गर्नका लागि सत्यम्, शिवम्, सुन्दरम्को लक्ष्य बोक्ने; अग्रगामी चिन्तन राख्ने साहित्य प्रगतिशील हुन्छ । रूपमा मात्र होइन सारमा, पूरै रूपान्तरणको आबाज व्यक्त नगरेर सङ्केत मात्र गर्यो भने पनि त्यस्तो साहित्यले सामाज रूपान्तरणमा योगदान गर्नसक्छ । समाजका सबै खाले विकृतिलाई उजागर गर्ने र सामान्य चिन्तन भरेर रूपान्तरणको आबाज जब स्रष्टाले ओकल्छ तब त्यस सिर्जनाले समाज रूपान्तरणमा योगदान गरिहाल्छ । विद्वानले साहित्यको परिभाषा गर्दा नै साहित्य भनेको समाजको ऐना हो, समाजको हितमा लेखिएको सामग्री हो भनिएको पाइन्छ । जनमनलाई छोएर जनहितको सकारात्मक सन्देश दिनसक्ने सामथ्र्य साहित्यमा हुनुपर्छ । प्रगतिशील साहित्यले सकारात्मक चिन्तन र गति दिन्छ । उहिल्यै विख्यात दार्शनिक कार्लमाक्र्सले प्रगतिशीलताका बारेमा स्पष्ट पारेका छन् भने रुसी दार्शनिक तिखोनोभले ‘साहित्यमा युगको चेतना बोलोस्’ भन्ने अपेक्षा गरेका छन् । यथार्थको उद्घाटन मात्र चाहिँ प्रगतिशील साहित्य हुँदैन, सिर्जनामा सकारात्मक सचेतना हुनु आवश्यक छ । हाम्रै समाजका स्रष्टाहरूलाई प्रोत्साहित गर्दै सिर्जनामा लगाउने हो भने स्रष्टाले सजिलै समाज रूपान्तरण गर्नसक्छन्, त्यो क्षमता प्रगतिशील स्रष्टामा हुन्छ । चेतना र अग्रगामी चिन्तनलाई अझ प्रशिक्षण गर्ने र साधनाका माध्यमबाट तिखार्ने काम गर्नुपर्दछ र मात्र समग्र समाजको रूपान्तरण हुनसक्छ । मान्छेका चेतना बढाउन र समृद्ध साहित्य सिर्जना गर्न अनि समाजलाई समृद्ध र सुदृढ पार्न प्रगतिशील साहित्यको विशिष्ट भूमिका रहेको हुन्छ भन्ने धारणा राख्नुभयो ।     

गोष्ठीमा विधान आचार्य, भोलानाथ सुवेदी, प्रकाश बस्नेत ‘गफाडी’, गोविन्द नेपाल, माधव प्रधान, प्रशान्त खरेल, कल्पना आचार्य, डिल्लीराज अर्याल, शीतल गिरी, चूडा निर्भीक, ललिता दोषी, भावना न्यौपाने, धनबहादुर मगर, कृतिका आचार्य, दुर्गा रिमाल, भारद्वाज मित्र, मन्दिरा मधुश्री, रूपक अलङ्कार र नर्मदेश्वरी सत्यालले आआफ्ना कविता, गजल, गीत, हाइकु वाचन गर्नुभएको थियो । माधव प्रधानले सय वर्षपहिले निरङ्कुश राणा शासनले सहिद बनाएका गङ्गालालले लेखेको कवितालाई सङ्गीत भरेर गाउनुभएको थियो र सहिद गङ्गालालका प्रति सम्मान जाहेर गर्नुभएको थियो ।

वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै नर्मदेश्वरी सत्यालले कविता भनेको सङ्छिप्तताभित्र विस्तृतता अभिव्यक्त गर्ने विधा हो । सर्जकले सिर्जना गर्दा सकारात्मक सोच राखेर गर्नुपर्दछ । समस्याको प्रकटीकरण वा उदात्तीकरण मात्र होइन सङ्केत वा उपायसमेत देखाउनु आवश्यक हुन्छ । विचार र व्यवहारको तालमेलयुक्त लेखन आवश्यक हुन्छ । सिर्जना पुरानो भन्ने हुँदैन बरु कालजयी हुन्छ । नकारात्मक कुराहरू, विकृति र विसङ्गतिका सूक्ष्मातिसूक्ष्म पक्षलाई उजागर गर्दै रूपान्तरणको आग्रह कविले प्रभावकारीरूपमा गर्नसक्नुपर्छ । घर तथा समाजमा रहेका बालबालिकाको क्षमताविकासका लागि स्रष्टाले शिल्प तथा वैचारिकताका माध्यमबाट सिर्जना गरिनु आजको आवश्यकता हो । आज वाचित समग्र रचनाले समाजका समसामयिक असन्तुष्टिलाई पनि कलात्मक बान्कीमा अभिव्यक्त गर्नसकेका छन् । कविताले सामाजिक विकृतिका प्रति प्रहार गरेका छन् । सँगसँगै ध्वन्यार्थमा रूपान्तरणको आग्रह गरेका छन् । यसर्थमा आजको गोष्ठी सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।   

गोष्ठीका अध्यक्ष राम विनयले स्रष्टाले निराशा लेख्नुहुन्न । सर्वहारा अधिनायकवाद होइन, सबैलाई मिलाएर लानुपर्छ, शान्तिपूर्ण सहअस्तित्व स्वीकार गर्नुपर्दछ भन्ने ख्रुस्चेभको मान्यतानुसार नै हाम्रो मुलुकको शासनसत्ता अहिले चलिरहेको छ । हामी साम्राज्यवाद, दलाल नोकरशाही पुँजीवादको चर्काे प्रहार पनि भोगिरहेका छौँ । यसैको प्रतिविम्बनस्वरूप समाजमा नकारात्मकताको विकास भएको पाइन्छ । त्यसैले राम्रोलाई राम्रो भन्ने र नराम्रोलाई नराम्रो भन्ने क्षमताको प्रदर्शन गर्दै स्पष्ट दिशाबोधसहितका सिर्जना अहिले आवश्यक छ । ज्यादै नकारात्मक सोचले प्रतिगामीलाई प्रोत्साहित गर्दछ । विचार, कला र विषयको तालमेलका साथ समाज रूपान्तरणका पक्षमा स्रष्टाले सिर्जना गर्नसक्नुपर्दछ । 

समाजमा हुर्किएको निराशासमेतलाई न्यूनीकरण गर्ने ऊर्जा प्राप्त होस् र समाज रूपान्तरणमा प्रगतिशील साहित्यको उल्लेखनीय भूमिका हुन्छ भन्ने सबैमा जानकारीबोधकै लागि हामीले आजको यो शृङ्खलामा यो विषयमा बहस चलाउन खोजेका हौँ । हाम्रो अनुरोधलाई स्वीकार गरी प्रा.डा.कृष्णप्रसाद घिमिरे आइदिनुभयो र विशद चर्चा गरिदिनुभयो । नर्मदेश्वरी सत्यालले आज वाचित रचनामाथि टिप्पणी गरिदिनुभयो । तपाईँ स्रष्टाहरू निम्ता स्विकारेर आइदिनुभयो । सबै सबैलाई म हार्दिक धन्वयवाद दिन्छु र अर्काे शृङ्खलामा हामी फेरि यस्तै समसामयिक विषयमा बहस गर्नेगरी आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै गोष्ठीको विसर्जन गर्नुभयो । 
रमेश पोखरेल