जेठ १० गते शुक्रवार । जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत साढे चार वर्षभन्दा बढी समयदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ५७औँ शृङ्खला  भव्यरूपमा सम्पन्न गरियो । जनसाहित्यिक मञ्च, नेपालकी उपाध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालकोे अध्यक्षता एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव, साहित्य सन्ध्याका सल्लाहकार, जनसाहित्यिक मञ्च नेपालका सल्लाहकार प्राध्यापक जगत्प्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको सञ्चालन जनसाहित्यिक मञ्च, नेपालका उपाध्याक्ष रमेश पोखरेलले गर्नुभएको थियो । उक्त विशिष्ट समारोहका अतिथिका रूपमा नेकपा संस्कृति विभागका सचिव प्रा.केशव सुवेदी, जनसांस्कृतिक महासङ्घका सहसंयोजक सरल सहयात्री, महासचिव प्रेमनाथ अधिकारी, कविनायक प्रा.डा.सुधन पौडेल, प्रा.डा.खेमनाथ दाहाल, वरिष्ठ कवि अनिल पौडेल, सङ्गीतकार डम्बर पहाडी, मधुशूदन पौडेल, गायत्री चापागाईँ उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी अतिथि एवम् सहयोगी कविका रूपमा माननीय कोमल वली, डा.रत्नावली शर्मा, रमेश शुभेच्छु, देबु ल्ुइटेल, यशोदा अधिकारी र कविनायककी जीवन सङ्गिनी दुर्गा शर्मा उपस्थित हुनुहुन्थ्यो ।  

समारोहको संयोजन डा.विन्दु शर्माले गर्नुभएको थियो । सञ्चालक रमेश पोखरेलले साहित्यका माध्यमबाट नेपाली समाजका यावत विकृति, विसङ्गति, विभेद, शोषण तथा अन्यायअत्याचारको विरुद्धमा रूपान्तरणको दुन्दुभि बजाउने सक्रिय संस्था साहित्य सन्ध्याका पूर्व सचिव, प्रखर समालोचक, कुशल निबन्धकार, सशक्त शास्त्रीय छन्दका कवि, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने कुशल शिल्पी, आफ्ना सिर्जनामा आञ्चलिकताको प्रयोगसमेत गर्दै अत्यन्त शालीन, सुन्दर र शक्तिशाली कविता सिर्जना गर्ने, सबैको साझा देश बन्नसकोस्, हत्याहिंसाको समाप्ति होस् भन्ने आग्रह गर्ने र विखण्डनको कडा विरोध गर्ने, सिर्जनामा आदर्शको अवसान हुँदै गएकोप्रति चिन्ताभाव व्यक्त गर्ने र ध्वन्यार्थमा समतामूलक समाजनिर्माणको आग्रह सम्प्रेषण गर्ने अत्यन्त कुशल कवि प्रा.डा.सुधन पौडेललाई आजको यस शृङ्खलामा प्रस्तुत गर्नलागिएको जानकारी दिनुभयो । 

समारोहका कविनायक प्रा.डा.सुधन पौडेललाई प्रमुख अतिथि सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्यायले माल्यार्पण गरी सम्मान गर्नुभयो । कविनायक प्रा.डा.सुधन पौडेलले आफ्नै अत्यन्त प्रियजनसँग बसेर बौद्धिक व्यक्तित्वका बिच कवितावाचन गर्नपाएको अनुभूति भएको छ । जनसाहित्यिक मञ्च, नेपालले यति लामो समयदेखि सञ्चालन गरिरहेको यो विशिष्ट समारोहमा आफ्ना कविता वाचन गर्ने अवसरका लागि पनि म हार्दिक धन्यवाद दिनचाहन्छु । सबै सबैको सहयोग र प्रेरणा मैले मेरो जीवनमा ग्रहण गरेको छु । आजको यो विशेष समारोहमा म पुरानादेखि हालसम्मका कविता वाचन गर्ने छु । मेरा कवितामा क्रान्तिको तीव्र स्वर नहुनसक्छ, म आपूm बाँचेको परिवेशको आबाज अभिव्यक्त गर्ने कोसिस गरेको छु, कविताका राम्रा कुरा ग्रहण गरिदिनु हुने छ भन्ने अपेक्षा गर्दछु भन्नुहुँदै र कविताको रचनागर्भका बारेमा समेत प्रकाश पार्दै अनुष्टुप छन्दको ‘नदी’ शीर्षकको, अनुष्टुप छन्दकै ‘तरङ्ग’ शीर्षकको, मन्दाक्रान्ता छन्दको ‘मान्छेसँग सृष्टिसंवाद’ शीर्षकको, अनुष्टुप छन्दको ‘शिल्पकार थियौ तिमी’ शीर्षकको कविवर युद्धप्रसाद मिश्रको सम्मानमा लेखिएको, शार्दूलविक्रीडित छन्दको ‘नपाओस् अब’ शीर्षकको र अनुष्टुप छन्दकै ‘बहिनीलाई पत्र’ शीर्षकको गरी छओटा अत्यन्त गम्भीर भावका सशक्त कवितावाचन गर्नुभयो भने सहयोगी कविहरू डा.रत्नावली शर्माले मन्दाक्रान्ता छन्दको ‘लोकतन्त्र’ शीर्षकको, देबु ल्ुइटेलले शार्दूलविक्रीडित छन्दको ‘म’ शीर्षकको, रमेश शुभेच्छुले शार्दूलविक्रीडित छन्दको ‘लेखनाथको सम्झनामा’ शीर्षकको, यशोदा अधिकारीले शार्दूलविक्रीडित छन्दकै ‘रत्नपरीक्षकको देशमा (दाङको ऐतिहासिक, पौराणिक महत्त्वका बारेमा प्रकाश पारिएको कविता), दुर्गा शर्माले उपजाति छन्दको ‘भानुभक्तसँग’ शीर्षकको र माननीय कोमल वलीले शार्दूलविक्रीडित छन्दको ‘सहिदप्रति’ शीर्षकका अत्यन्त शक्तिशाली, शालीन, गम्भीर र मनोहारी कविताहरू अत्यन्तै सुन्दर स्वरमा गाउनुभएको थियो ।     

कविनायकको परिचयसहित वाचित कवितामाथि टिप्पणी गर्नुहुँदै प्रमुख अतिथि सदस्यसचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले वि.सं.२०२६ माघ ५ गते अर्घाखाँची जिल्लाको पोखराथोकमा प्रा.थानेश्वर पौडेल र माता सरस्वती पौडेलका सुपुत्रका रूपमा जन्मिएका डा.पौडेलमा पिताको ज्ञान, विद्या र माताको संस्कारजन्य आनुवंशिक सरलता, ज्ञान, विद्वता सरेर आएको; दाङमा अध्ययनकै क्रममा सशक्त बाल र किशोर कविका रूपमा स्थापित भएका, योगी नरहरिनाथले त्यही वेलामा बालकविको उपाधि दिएका डा.पौडेलमा कला र गलाका माध्यमबाट सुन्दर भाव सम्प्रेषण गर्ने क्षमता त्यही वेलामा नै रहेको थियो । पछि काठमाडौँमा आएर पढाइ र जागिरका क्षेत्रमा सङ्घर्ष गर्दागर्दै गोरखापत्रको उपसम्पादकमा स्थायी सेवामा प्रवेश गरेकामा एक वर्षको परीक्षणकाल सकिनु एक दिनअघि आस्थाका आधारमा तत्कालीन नेपाली काङ्ग्रेसको सरकारका चिरञ्जीवी वाग्ले सूचना तथा सञ्चार मन्त्री भएका बखत विनाकुनै स्पष्टीकरण उहाँलाई एकाएक अवकाश दिएपछि उहाँको आत्मसम्मानमा गहिरो आघात पुग्नगयो । हुन त अहिलेका प्रा.डा.सुधन पौडेल हुनका लागि त्यो प्रतिशोधी कार्यले सघायो नै, त्यसैले कहिलेकाहीँ प्रतिशोधको कारवाही पनि फलदायी हुन्छ । डा.मोदनाथ प्रश्रितको प्रबन्धकारिता विषयमा २०७० सालमा विद्यावारिधि गर्नुभयो भने हालै नेपाल संस्कृत विश्वविद्यालयको प्राध्यापक बन्नुभएको छ । निस्वार्थ, इमानदार, स्वाभिमानी व्यक्तित्व डा.पौडेलले आफ्ना सिर्जनाको व्यवस्थापन भने राम्ररी गर्नसक्नुभएको छैन । 

आज वाचित उहाँका एक दर्जन कविताहरू सबै शास्त्रीय छन्दमा लेखिएका छन् । कवितामा हत्याहिंसाको तीव्र विरोध गरिएको छ । युद्धप्रसाद मिश्रलाई सम्मान गर्दै, भानुभक्तलाई सम्झेर र दाङको ऐतिहासिक एवम् पौराणिक महत्ताका बारेमा लेखिएका कृतज्ञतापरक कविताहरू वाचन गरिएका, नदी र जीवनको संयोजनको कविता, आफ्नै जीवनका तितामिठा भोगाइका अभिव्यक्ति कवितामा उजागर गरिएको छ भने प्रायः सबै कविताले हत्याहिंसाको विरोध गरेका छन् । कला र विचारको सन्तुलन एवम् वाचनवैशिष्ट्यसमेतका आधारमा कविता सशक्त छन् । शब्दहरू तोडमरोड गरिएका छैनन्, छन्द मिलाउने प्रयोजनका लागि शब्द बिगार्ने काम पनि यदाकदाबाहेक भएको छैन । छन्दका नियमको पूर्ण पालना गरिएको छ र अनुष्टुप छन्दमा नवीन शैलीको प्रयोगसमेत गरिएको छ । जीवन स्वतन्त्ररूपले नदीसमान बग्नुपर्छ भन्ने प्रकृति र जीवनको अन्तरसम्बन्धको अभिव्यक्ति सुन्दर रहेको छ । मान्छेको अन्तरमनमा कतै न कतै पीडा, रोदन र निराशाका कुरा पनि आउँछन्, यो सहज हो, त्यसैले कवितामा कतै कतै शून्यवादी प्रभाव पनि परेको छ तर पनि मृत्युका बिचमा जीवन र निराशाका बिचमा आशाको प्रकटीकरण भएको छ । सच्चा कम्युनिस्ट हुनु र सच्चा आध्यात्मिक हुनुमा निस्वार्थताको समानता छ । कवितामा समसामयिकताको, समाजमा विद्यमान विभेद र शोषणको उजागर गर्दै रूपान्तरणको सन्देश सम्प्रेषण गरिएको छ । देशभक्ति, राष्ट्रवादी भावना सबै खाले हत्याहिंसाको विरोध, प्रकृतिको वैचित्र्यको सुन्दर वर्णन, विश्वबन्धुत्वको भावना, भानुभक्तीय रामायणका आदर्श पात्र मान्ने तर आपूm त्यस्तो नहुने यथार्थका प्रति र यस्तो विपर्यासका प्र्रति तिखो व्यङ्ग्य प्रहार गरिएको छ । कवितामा प्रकृति र मानवीयताको अन्तरसम्बन्ध खोजिएको छ, सहिदको सपना साकार पार्ननसकिएको प्रति चिन्ताभाव व्यक्त गरिएको छ, सबै सबैको मेल र संयोजनको आग्रह गरिएको छ । कवितामा सूक्तिमयता पाइन्छ भने स्थानीयताका माध्यमबाट राष्ट्रियताको गान गाइएको छ, अखण्ड राष्ट्रको चाहना अभिव्यक्त गरिएको छ । प्रगतिवादिताको कसीमा मात्र घोटेर नहेर्ने हो भने डा.पौडेलका कविता अत्यन्त सशक्त छन्, विचार र कलाको सुन्दर संयोजन गरिएको छ, कविताले नेपाल र नेपाली जनजीवन बोलेका छन्, ध्वन्यात्मकता र प्रतीकात्मकताका माध्यमबाट रूपान्तरणको सन्देश सम्प्रेषण गरेका छन् भन्नुभयो ।      

समारोहकी अध्यक्ष नर्मदेश्वरी सत्यालले आजको यो विशेष गोष्ठीमा अत्यन्त सुन्दर सिर्जना श्रवण गर्ने अवसर मिलेको छ । स्रष्टादम्पत्ति नै कुशल हुनुभएको देखिएकाले संयुक्तरूपमै उदाहरणीय काम गर्नसक्नुहोस् । आफ्नै परिवारभित्रै पनि रुढि र अन्धविश्वासका विरुद्धमा सङ्घर्ष गरेको डा.पौडेलको अहिलेको अनुकरणीय जीवन अरू सबैका लागि प्रेरणादायी छ । लेखन र व्यवहारको तालमेल हामी आपूmलाई प्रगतिशील हौँ भन्ने स्रष्टाका लागि आवश्यक छ । हाम्रो निमन्त्रणा स्वीकार गरी आइदिनुहुने प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू, कविनायकको जोडी, सहयोगी कविहरू, सहभागी साहित्यानुरागी आदरणीय व्यक्तित्वहरू सबै सबैमा हार्दिक धन्यवाद भन्नुहुँदै समारोहको समापन गर्नुभयो । 
रमेश पोखरेल