धौलागिरी चढिसकेँ
कान्चनजङ्घा चढिसकेँ
अब सगरमाथा चढ्ने मन छ
मौसम झन अनुकुल भाको बेला
कसले नचढ भन्छ ?
मलाई पनि सगरमाथा चढेर
गिनीज बुकमा नाम लेखाउनु छ
नाइजेरिया, उत्तर कोरियालाई उछिनेर
संसारमा नम्बर एक भइ देखाउनुछ
धरो धर्म एक पटक मलाई नि
सगरमाथाको चुचुरो चुम्न मन छ
तर बेला बेलामा आएर
यो अख्तियार भन्ने पो बाधक बन्छ !
यसलाई पनि नसा हालेर मह चटाइ दिन्छु
टुलुटुलु हेरिरहन्छ बच्चाले झै, मजाले लट्ठाइ दिन्छु
खै क कसले उक्साइ दिन्छ
कुम्भकर्ण झै निदाएको बेला भुत भएर जाग्छ
बेला न कुबेला आएर कागजातहरु माग्छ
मेरो बिरोध गर्नेहरुलाई
मेरा भक्तजनहरु मार्फत भेटी पठाइ दिन्छु
जजसले लिन मान्दैन यो, उसका पछी
मेनका ,रम्भा भन्दा राम्रा केटी खटाइ दिन्छु
केन्द्र देखी गाउँसम्म म मौलाएको बेला
भनी देउ है भक्तजन सबलाई
जसलाई जे पनि गर्न सक्छु,बौलाएको बेला
यहाँ कसलाई थाह छ् मेरो के कति दम छ
चन्डमुन्ड महिषाशुर भन्नेहरुको पनि
मेरो अगाडि झिङ्गाको शक्ति भन्दा कम छ
मैले चाहे भने
यहाँ दुई तिहाइ सरकार पनि ढालीदिन्छु
मलाई रोक्न खोज्नेहरु सत्ताबाटै फाली दिन्छु
अब मलाई सगरमाथा मात्र हैन चन्द्रलोक नै छुन मन छ
हेर्दै जाउ न भक्तजन, को को मेरो बाधक बन्छ ।
दाङ, हाल काठमाडौं