मौका छोपाको अर्थ हो मौका छोप्ने प्रवृत्ति भएको । सोझो अर्थमा मौका छोप्ने मान्छे । केही कामका लागि अवसर पर्खिरहेको मान्छे । धेरै मानिसहरु मौका छोप्छन् । प्रायः काम गर्दा मौकामा चौका हान्छन् । लाग्छ, हरेक मानिस मौका पर्खिइरहेछन् । हरेक चौका हानिरहेछन् । हरेकलाई चौका हान्नु छ । हरेक चौका हानिरहेछन् । तासको चौका मात्र होइन, जीवनकै चौका हानिरहेछन् । सम्बन्धकै चौका हानिरहेछन् । समयकै चौका हानिरहेछन् ।

मौका र चौका । यो सही वा गलत दुवै ठाउँमा यथावत् छ । संवेदनशील पक्ष प्रेममा मौका हेर्छन् पुरानो प्रेमीसँग बे्रक भए आफू प्रेम गर्न । विवाहमा मौका हेर्छन् डिभोर्स भए आफू विवाह गर्न । यी प्रतिनिधि उदाहरण दिइसाध्य छैन । व्यवहारमा हरेक मान्छे मौका पर्खिइरहेका छन् । हरेक मान्छे मौकामा चौका हानिरहेछन् । चिलले चल्लो समाउने मौका हेरे जस्तै । विरालाले मुसो समाउने मौका हेरे जस्तै । स्यालले झाडीमा लुकेर कुखुरा ढुके जस्तै । सबै मौका पर्खिरहेछन् । सबै मौका छोपिरहेछन् ।

बाजे भन्थे, मौकामा हिरा फोर्नु वेमौकामा कौडी नछोड्नु । यस भनाइलाई धेरै चोटि सुनेर पनि बेलामा उति वास्ता गरिएन । आज बुझ्दा यसको अर्थ गहिरो रहेछ । म बुद्धु रहेछु सायद । बाको कामलाग्ने कुराको आशय बैँस छँदा नबुझेर यतिबेला बुझ्दैछु । त्यतिबेला वेआस्ता गरेर यतिबेला वास्ता गर्दैछु । हुन त खास बुझ्ने परिस्थिति नै यतिबेला आयो ।

जीवन यात्रामा मौका नछोपी केही नपाइने दिन आयो । बस चढ्यो कोही उठ्ला कि भनेर मौका कुरेर बस्नु पर्ने । साइकल मोटर साइकल चढ्यो अगाडि बढ्ने मौका आउला कि भनेर कुरिरहनुपर्ने । धारामा पानी थाप्न गयो, आफ्नो पालोको मौका पर्खनु पर्ने । सामान किन्न पसलमा गयो मौका पर्खिएर लाइन लाग्नु पर्ने । अस्पताल गयो पालो आउला र उपचार गरुँला भनेर मौका कुर्नुपर्ने । हुँदा हुँदा फिलिम हेर्न जाँदा टिकट काट्न पनि मौका पर्खनु पर्ने । टिकट काटेर हलमा पस्ता पनि मौकाले मात्र भनेको ठाउँमा बस्न पाइने । दिसा वस्न मौका कुर्नु पर्ने । पिसाव फेर्न मौका मिल्नु पर्ने । दिसा पिसाव गरेको पैसा तिर्न पनि मौकै कुर्नुपर्ने । मौकाको कुरै नगरुँ । मौकै नआए कहाँ चौका ?

यो मौकाको इतिहास लामो हुनुपर्छ । मौकाको खेल हाम्रा जङ्गली पुर्खाबाटै आरम्भ भयो सायद । त्यस बेला सिकार ढुक्ने बानी परेका फुर्खाले हामीलाई छोडेको स्वभाव हुनुपर्छ यो मौका छोपा स्वभाव । एउटा मृग मार्न कति लामो मौका कुर्नु पर्यो होला ? एउटा चरा मार्न कतिबेर ढुक्नु पर्यो होला ? एउटा नदी तर्न हिँउँदै कुर्नुपर्यो होला ? मौका छोप्ने परम्पराको सुरुवातको थितिमिति तोक्न नसकिए पनि यसको विकास भने राजा महाराजाहरुबाटै भयो । प्राय ः युवराजहरु कहिले बाबु मर्लान् र राजा बन्न पाइएला भनेर मौका हेर्थे । बाबु मर्नासाथ काजक्रिया पनि नगरी राजाको आसनमा चढ्थे । एउटा खेतालो खोजेर बाबुको क्रिया बसाउँथे । प्राय रानी बन्ने भाग्य भएका नारीहरु दिदी कहिले मर्ली र म पनि रानी हूँला भनेर बस्थे । युवराज्ञीहरु सासू ससुराको मृत्युको दिन गनिरहन्थे । बाबुकै मृत्यु पर्खिनुपरेपछि मौकाको परिभाषा यो भन्दा बढी नदिऊँ । फेरि अरु उदाहरण थपे आफ्नै र पाठककै पोल खोलिने डर ।

आज पनि धेरै छोरा बाबु मर्लान् र गाउँको घर खायल बेचेर सहरबासी हौँला भनेर मौका हेर्छन् । सहरमा हुने कहिले बाबुआमा मर्लान् र सबै बेचेर विदेशमा सुखको जीवन बिताउने भन्ने मौका हेर्छन् । युवतीहरु कुन धनाढ्य केटाले प्रस्ताव राख्ला र डेटिङ जाऊँ भनी मौका हेर्छन् । युवाहरु कुन धनी बाबुकी छोरी पट्याउने भनी मौका हेर्छन् । हुँदा हुँदा मौका छोपेर अस्पतालमा छोरीसँग छोरा साट्ने आमा पनि भेटिए । मौका छोपेर बच्चा पाएर नालीमै फाल्ने आमा पनि भेटिए । मौका छोपेर पत्नीकी बहिनी उडाउने पति पनि देखिए । मौका छोपेर पतिका दाजुभाइसँग भाग्ने पत्नी पनि भेटिए । गुरुआमा उडाउने चेला पनि भेटिए । गुरु उडाउने चेली पनि भेटिए । यसको लहनतहन लामो छ । धेरै कुरा गर्नु आफन्तकै कुरा काट्नु हुन सक्छ ।

हिजोदेखि अजको चर्चित विषय राजनीति हो । प्राय नेताहरुमा मौका छोपा प्रवृत्ति देखिन्छ । कहिले पाटीको मूल नेता मर्ला र मेरो पालो आउला भनेर युवा नेता भएर कुरिरहन्छन् । कति नेता सत्तरी असी वर्षका उमेरसम्म युवा नेताको नेतै मास छर्न गए । त्यसमा पनि पार्टी एकीकरण भएका, दुई अध्यक्ष भएका, अध्यक्ष मण्डलै भएका, अध्यक्ष, सहअध्यक्ष, बरिष्ठ उपाध्यक्ष, बहुउपाध्यक्ष भएका पार्टीमा त पालो कुर्नु जिउँदै मर्नु सरह हो । त्यहाँ म अध्यक्ष हुन पाइन भनी चिन्ता गर्नु चितामा पुग्नु नै हो । बरु नयाँ पार्टी कसरी खोल्ने वा अर्को पार्टीमा पसेर कसरी बरिष्ट नेता हुने भन्ने मौका हेरिरहेका छन् । यसो हेरिल्याउँदा त्यसै गरेका सफल भएका छन् । उदाहरण भनूँ भने तपाईँकै पार्टी नेताको नाम पर्ला ? वा तपाईँकै समस्यासँग मेल खाला ? अहिले नभनूँ । तर सबै मौकाछोपा छन् । सबै चौका हाना छन् । तपाईँकै नेताको कुरा मिले क्षमा गर्नुहोला ।

मौका छोपासम्बन्धी मैले बासँगै सुनेको एउटा कथा छ । कथा अलि लामो छ । तपाईँ पनि दाम आउने कामको मौका पर्खिरहेको बेला हो यो । समय थोरै हुँदा म छाँटकाँट गरेर सुनाउँछु । सुन्नुहोस् । नहतारिनुहोस् । कथै भए पनि म लघुकथा बनाएर भन्छु । बरु चुट्किला जत्रै पारेर सुनाउँछु । यो हाम्रा बाको अग्रर्या्निक कथा । तपाईँलाई नै नभनी भन्नु पनि कसलाई । कथा सुरु हुन्छ ः

एक जना मौका छोपा मान्छे पाहुना लाग्न गएछ । लामो बाटो हिँडेर गएको पाहुना साँझ फर्कने कुरै भएन । ऊ त्यहीँ खानपिन गरी सुत्ने भएछ । पाहुना लागेका घरमा भान्साबाहेक जम्मा दुई कोठा रहेछन् । एउटामा श्रीमान श्रीमती पसेर चुकुल लाइहालेछन् । अर्र्को कोठा बच्चाहरूको हरेछ । बच्चाहरूको कोठामा एउटा अर्र्को खाट पनि रहेछ । पाहुना बच्चाहरूकै कोठामा सुतेछ । राति पनि मध्य रातिका बेला मौका छोपालाई पिसाबले च्यापेछ ।

मौका छोपा निकै बाठो रहेछ । ऊ एकछिन चुपै लागेर सुतिरहेछ । केही नलागेपछि उठेछ । गाउँको ठाउँ । पाइखाना घरबाहिर । बाहिर मात्र के भन्नु आँगनको पल्लो छेउमा पनि एक काल्लामुनि रहेछ । अककिो घरमा रातिराति बाहिर निस्कन उसलाई डर लागेछ । त्यसमाथि रातिको १ बजेको रहेछ । मनमा डर, फेरि पिसाबले च्यापेर उसलाई खपिसक्नु भएनछ । के गरौँ र कसो गरुँकै वीच उसले एउटा मौका हेरेछ । मौका छोपाले कुनै न कुनै उपाय त निकाली हाल्छन् । यहाँ पनि त्यस्तै भयो मौका छोपाले नयाँ मौका छोप्यो ।

मौका छोपा सुतेका कोठामा निर्दोष बच्चाहरु थिए । उसले बच्चाहरूलाई हेर्र्यो। उनीहरू मस्त निदाइरहेका थिए । उसका दिमागमा एउटा भनेसम्मको आइडिया आयो । ऊ मान्छे नै आइडियाले काम गर्ने स्वभावको थियो र दुईटा बच्चामध्ये सानो बच्चालाई उठाएर आफ्नो ओछ्यानमा सुताइदियो । बच्चाको ठाउँमा आफू सुत्यो ।

मौका छोपाले बच्चाको ओछ्यानमा सुतेर काम खत्तम गर्यो । शरीरलाई राहत भइसकेपछि बच्चालाई उसकै ओछ्यानमा फक्र्यो । उसैका खाटमा सार्नु पर्यो भनेर आफ्नो ओछ्यानबाट बच्चालाई उठायो । सरक्क बच्चालाई उसले बनाएको आहालमा सुतायो । विरालाको चालमा आफू पहिला सुतेको खाटमा आएर सुत्यो । सुतेपछि थाहा पायो, यता बच्चाले पनि काम तमाम गरिसकेको रहेछ । बल्ल पर्यो मौका छोपा अफ्ठारामा । सधैँ मौकाको गति कहाँ एकनास हुन्थ्यो र ?

यस घटनाको बच्चा मौका छोपा होइन । ऊ स्वभावले नै ओछ्यानमा पिसाब खुस्काउने अबोध थियो । अर्र्को बाठो हुन खोज्ने मौका छोपा हो । ऊ मौका छोपेर अर्काको ओछ्यानमा पिसाब गरिदिने बठ्याईँ गर्दै थियो । यी दुई पात्र आज पनि हाम्रा घरमा पाहुना बनेर आउन सक्छन् ।

यस्ता पात्र हाम्रा समाजमा, टोलमा, देशमा, राजनीतिमा, प्रशासनमा, सुरक्षा संयन्त्रमा जहाँसुकै भेटिन्छन् । यसो भन्दाभन्दै तपाईँकै कतिपय आफन्तको कृत्यसँग मेल खाए संयोग मान्नुहोला । आफ्नै कृत्यसँग मिल्न गए संयोग मात्र ठान्नु होला । यसले मेरो कुरा लेखेछ भनेर किताब च्यात्न नलाग्नुहोला ।